लुम्बिनी केबलकारको आम्दानी १२ करोड ३० लाख, सवा २ अर्बमा पाँचतारे होटल निर्माण तयारी

काठमाडौँ । आईएमई समूहद्वारा प्रवर्द्धित लुम्बिनी केबलकार लिमिटेडले व्यावसायिक सञ्चालन सुरु गरेको छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी हासिल गरेको छ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कारोबार १३ करोड ३० लाख रुपैयाँ रहेको थियो। सन् २०२३ मे २९ देखि सञ्चालनमा आएको यो केबलकार बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालनमा रहेको छ, जसले लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

लुम्बिनी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहको लगानीमा सञ्चालनमा आएको परियोजना हो। कम्पनीले अब केबलकारको माथिल्लो स्टेशन रहेको पाल्पाको बसन्तपुर क्षेत्रमा एकीकृत पर्यटन गन्तव्य विकास गर्ने उद्देश्यसहित पाँचतारे होटल निर्माण गर्ने योजना अघि सारेको छ।

उक्त होटल परियोजनाको अनुमानित लागत २ अर्ब २५ करोड ८० लाख रुपैयाँ रहेको छ। हाल होटलको डिजाइन प्रारम्भिक चरणमा रहेको कम्पनीले जनाएको छ। परियोजनाका लागि आवश्यक पुँजी जुटाउन बैंक तथा वित्तीय संस्थासँग ऋण लगानीबारे छलफल भइरहेको छ। साथै, कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी संकलन गर्ने योजना पनि बनाएको छ।

वित्तीय पक्षतर्फ हेर्दा कम्पनीले हालै ५७ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी प्राप्त रकममध्ये २३ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ। यसले कम्पनीको ऋणभार केही हदसम्म घटाएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ५० प्रतिशत रहेको जनाइएको छ, जुन व्यावसायिक रूपमा सकारात्मक संकेत मानिन्छ।

तर, केही चुनौतीहरू पनि देखिएका छन्। इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२५ मा केबलकार प्रयोग गर्ने यात्रुहरूको संख्या २६ प्रतिशतले घटेको छ, जसले आम्दानीमा केही दबाब सिर्जना गरेको छ। साथै, बुटवल–भैरहवा क्षेत्रमा रहेका अन्य होटल तथा पर्यटन सेवासँगको प्रतिस्पर्धा पनि कम्पनीका लागि चुनौतीका रूपमा देखिएको छ।

केबलकारको यात्रा १० मिनेटको रहेको छ र यसको गन्तव्य बसन्तपुर क्षेत्रमा कामाख्यादेवी मन्दिर, शिव वाहन नन्दी र सय वर्ष पुरानो भगवती मन्दिरजस्ता धार्मिक संरचनाहरू रहेका छन्। यी स्थलहरू विशेषगरी आन्तरिक तथा भारतीय पर्यटकका लागि प्रमुख आकर्षण बनेका छन्।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था र प्रवर्द्धकहरूको अनुभवलाई आधार मान्दै यसको रेटिङ ‘बी प्लस’ यथावत् राखेको छ। आईएमई समूहको चन्द्रागिरि र मौलाकाली केबलकार सञ्चालन अनुभवका कारण यो परियोजनाले दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने अपेक्षा गरिएको छ।