गुल्मी । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ ।
तम्घासमा जारी गुल्मी महोत्सव केवल व्यापारिक स्टल र मनोरञ्जनमा सीमित छैन, यहाँ एक युवा आफ्नो कलामार्फत जिल्लाको सौन्दर्य र पहिचान उजागर गरिरहेका छन्।
गुल्मीदरबार गाउँपालिका–चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्ने युवा हुन्। उनले जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको तस्बिर खिच्दै आएका छन्। तीमध्ये चयन गरिएका तस्बिरहरू अहिले महोत्सवमा प्रदर्शनीका रूपमा राखिएका छन्।
महोत्सवको मञ्च अगाडि राखिएका उनका करिब २० वटा तस्बिरहरूले गुल्मीको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। प्रदर्शनीमा गुल्मी चारपाला दरबार, रेसुङ्गा यज्ञशाला, रेसुङ्गा टावर, रेसुङ्गा महापोखरी, भुवाने पार्क, तम्घास बजार तथा विभिन्न स्थानबाट देखिने हिमशृङ्खलाका मनमोहक दृश्य समेटिएका छन्। दिनेशका अनुसार सुरुवाती दिनमा खिचिएका उनका तस्बिरहरू विभिन्न राष्ट्रिय मिडियामा समेत प्रकाशित भएपछि फोटोग्राफीप्रति थप रुचि बढेको थियो। त्यसपछि उनले निरन्तर रूपमा जिल्लाका सौन्दर्यस्थलहरू क्यामेरामा कैद गर्न थाले। उनका साथी बर्दघाटका राज अधिकारीको सुझावमा उनले महोत्सवमा फोटो प्रदर्शनी गर्ने अवसर पाएका हुन्। सोही सल्लाहअनुसार उनले आफ्ना तस्बिरमार्फत गुल्मीको पहिचान देश–विदेशमा चिनाउने प्रयास गरेका छन्।
प्रदर्शनीका लागि करिब ४० हजार रुपैयाँ व्यक्तिगत खर्च भएको बताउँदै दिनेश भन्छन्, “पैसाभन्दा पनि मेरो मुख्य उद्देश्य गुल्मीलाई चिनाउनु हो।” महोत्सवमा व्यापारिक गतिविधिहरू बीच दिनेशको फोटो प्रदर्शनीले दर्शकको ध्यान आकर्षित गरेको छ। उनका तस्बिरहरूले गुल्मीको प्राकृतिक सौन्दर्य मात्र होइन, स्थानीय पहिचान र सम्भावनालाई पनि उजागर गरेको छ।



































