रसुवागढी नाकाबाट कैलाश–मानसरोवर यात्रा पुनः सक्रिय, तीर्थयात्रीको चहलपहल बढ्यो

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रारूपमा सुरु भएको छ ।

यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन् । गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ । यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । चालु आवको नौ महिनामा मात्र रु ३० लाख राजस्व सङ्कलन भइसकेको छ भने गत वर्षको कुल वार्षिक राजस्व रु ११ लाख २८ हजार २५० सङ्कलन भएको जनाइएको छ ।

धार्मिक ग्रन्थमा मानसरोवरको महत्व

हिन्दू, बौद्ध, तथा बोन धर्मावलम्बी विभिन्न धर्मावलम्बीका लागि मानसरोवर पवित्र तीर्थस्थल मानिन्छ । हिन्दू धार्मिक ग्रन्थमा भगवान् शिव र माता पार्वतीको निवास कैलाश पर्वतलाई ब्रह्माण्डको आध्यात्मिक केन्द्रका रूपमा वर्णन गरेको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो । पुराणका अनुसार ब्रह्माले आफ्नो मनबाट सृष्टि गरेको पवित्र सरोवर भएकाले यसको नाम ‘मानसरोवर’ रहन गएको विश्वास छ । यस सरोवरमा स्नान गरे पापनाश हुने र मोक्ष प्राप्ति हुने धार्मिक आस्था रहिआएको छ । बौद्ध धर्ममा यस क्षेत्रलाई ध्यान तथा आध्यात्मिक ऊर्जा प्राप्त गर्ने पवित्र स्थल मानिन्छ भने जैन धर्मावलम्बीले पहिलो तीर्थकर ऋषभदेवले ज्ञान प्राप्त गरेको स्थानका रूपमा रहेको बताइन्छ ।

रसुवागढीबाट यात्रा दूरी र समय

नेपालबाट स्थलमार्ग हुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज मार्ग रसुवागढी–केरुङ मार्ग मानिन्छ काठमाडौँ–रसुवागढी दुरी करिब १३५ किलोमिटर रसुवागढी–केरुङ करिब २५ किलोमिटर केरुङ–सागा–मानसरोवर, करिब ७५० देखि ८०० किलोमिटर छ । सामान्यतया केरुङ प्रवेशपछि उच्च हिमाली भू–भाग पार गर्दै मानसरोवर पुग्न तीनदेखि चार दिन लाग्ने गर्दछ । सम्पूर्ण कैलाश–मानसरोवर परिक्रमासहितको यात्रा भने १० देखि १४ दिनसम्म चल्ने कैलाश पुगी फर्केका यात्रु बताउँछन् ।

सीमा परिचयपत्र वितरण बढ्दो

केरुङ आवतजावतका लागि रसुवावासीले पाउने सीमा परिचयपत्र वितरण पनि बढिरहेको छ । चालु आवको नौ महिनामा ५९६ नयाँ र प्रतिलिपि एवं नवीकरण समग्रमा कुल छ हजार २९५ सीमा परिचयपत्र जारी गरिएको निमित्त प्रमुख शर्माले जानकारी दिए ।

रसुवावासीलाई नागरिकताको आधार तथा अन्य जिल्लाबाट नागरिकलाई बसाइँसराइ गरी आउनेलाई भने जग्गाधनी प्रमाण पुर्जा, बसाइँसराइ प्रमाणपत्र र सम्बन्धित वडाध्यक्षको सिफारिसका आधारमा सिमापास उपलब्ध गराउने व्यवस्था रहेको अध्यागमन कार्यालय रसुवा घट्टेखोलाले जनाएको छ ।

धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान

मानसरोवर यात्रुको आवागमन बढ्दै जाँदा रसुवागढी नाका आसपास होटल, यातायात, पथप्रदर्शक सेवा तथा स्थानीय व्यापार व्यवसाय सक्रिय बन्न थालेका छन् । धार्मिक पर्यटन विस्तारसँगै रसुवाका सीमावर्ती क्षेत्रलगायत आसपासका आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ । हिमालयको काखमा अवस्थित पवित्र तीर्थ मानसरोवर यात्रा पुनःगतिशील बन्दै जाँदा नेपाल–चीन सीमावर्ती क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए ।

मानसरोवर यात्रुको आगमनसँगै रसुवागढी आसपासका होटल, यातायात, गाइड सेवा र साना व्यवसायहरू पुनः सक्रिय बन्न थालेका छन्। धार्मिक पर्यटनको पुनरुत्थानसँगै सीमावर्ती क्षेत्रको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ। स्थानीय जनप्रतिनिधिका अनुसार यसले रसुवालाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।