काठमाडौँ । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ ।
विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरेका छन् । उनिहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिए ।
दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । “यस ऐतिहासिक सम्झौताले दुई नगरबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ”, सम्झौतामा भनिएको छ । ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ । त्यस्तै, विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ । सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । उपस्थित सहभागीहरूले सम्झौतालाई नेपाल र अष्ट्रेलियाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन् । कार्यक्रममा वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक विकास तथा समुदाय विकासका क्षेत्रमा सहकार्यले दुई सहरलाई दीर्घकालीन फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौताले नेपाल र अष्ट्रेलियाबीच विगत ६६ वर्षदेखि कायम रहेको कूटनीतिक सम्बन्ध स्थानीय तहमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।



































