काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
बैंकको सञ्चालक समितिको वैशाख ३० गते बसेको बैठकले ढकाललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकद्वारा जारी विज्ञप्तिअनुसार प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकमसम्बन्धी मुद्दाको अनुसन्धान प्रक्रियामा रहेकाले बैंक सञ्चालनको निरन्तरता सुनिश्चित गर्न ढकाललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
विज्ञप्तिमा पाण्डे अनुपस्थित रहेको अवधिमा बैंक सञ्चालनसम्बन्धी सम्पूर्ण कार्यका लागि ढकाललाई पूर्ण अख्तियारीसहित जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।
हाल वरिष्ठ नायब सीईओका रूपमा कार्यरत ढकालले अब बैंकको दैनिक प्रशासन, नीति कार्यान्वयन तथा समग्र सञ्चालन व्यवस्थापनको नेतृत्व गर्नेछन् ।
यसअघि स्मार्ट टेलिकमसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सीईओ पाण्डे पक्राउ परेपछि बैंकले नेतृत्व व्यवस्थापनलाई निरन्तरता दिन कामु सीईओ नियुक्त गरेको हो ।



































