हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गए राति आएको पहिरोले विद्यालय भवन, गोठ तथा खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ।
असिनापानीसँगै एक्कासी खसेको पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन् भने गाउँमा जनधनको क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको छ।
स्थानीयका अनुसार रातिको समयमा परेको असिनापानीपछि गाउँमाथिबाट ठूलो पहिरो खसेको थियो। पहिरोले चङ्खेली–५ डाँफेमा रहेको आधारभूत विद्यालय भवनमा क्षति पुर्याउनुका साथै आसपासका खेतबारी र गोठ पुरेको हो।
स्थानीयवासी छक्कबहादुर तामाङका अनुसार पहिरो यति अचानक आएको थियो कि स्थानीयले सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउनुपरेको अवस्था सिर्जना भएको थियो। “राति असिनापानी परिरहेको थियो, केहीबेरमै माथिबाट ठूलो आवाज आयो। हेर्दाहेर्दै पहिरो झर्यो,” उनले भने, “विद्यालय भवन, खेतबारी र गोठमा ठूलो क्षति पुगेको छ।”
पहिरोका कारण चङ्खेली गाउँपालिका–५ का वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पनि पुरिएको जनाइएको छ। गोठभित्र रहेका भेँडाबाख्रामा क्षति पुगेको आशंका गरिएको छ। यद्यपि, पशुचौपायाको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार पहिरो प्रभावित क्षेत्रमा प्रहरी टोली पठाइएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण घटनास्थल पुग्न समय लाग्ने भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको उनले बताए।
“विद्यालय भवनमा क्षति पुगेको र केही गोठ पुरिएको प्रारम्भिक जानकारी आएको छ,” प्रहरी नायब उपरीक्षक खड्काले भने, “के कति जनधनको क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ।”
नेप्का गाउँ चङ्खेली गाउँपालिकाको अत्यन्त विकट बस्तीमध्ये एक हो। हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने यो गाउँ गाउँपालिका केन्द्र पिप्लाङबाट करिब पाँच घण्टाको पैदल यात्रापछि मात्रै पुग्न सकिन्छ। यातायात पहुँच कमजोर भएका कारण प्राकृतिक विपत्तिको समयमा उद्धार तथा राहत कार्यमा कठिनाइ हुने गरेको स्थानीय बताउँछन्।
चङ्खेली गाउँपालिकाअन्तर्गत तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। वर्षायाम सुरु भएसँगै यस क्षेत्रमा पहिरो र बाढीको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दा त्रासमा रहने गरेका छन्।
स्थानीयवासीका अनुसार लगातार मौसम परिवर्तन, असिनापानी र वर्षासँगै गाउँका धेरै बस्ती पहिरोको जोखिममा छन्। पहाडी भूभाग कमजोर हुँदै जाँदा खेतीयोग्य जमिनसमेत बग्ने समस्या बढेको उनीहरूको भनाइ छ।
प्राकृतिक विपत्तिका कारण ग्रामीण क्षेत्रमा रहेका विद्यालय, गोठ तथा खेतीयोग्य जमिनमा बारम्बार क्षति पुग्दा स्थानीयको दैनिकी प्रभावित हुँदै गएको छ। गाउँलेहरूले पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत, क्षतिको मूल्याङ्कन तथा दीर्घकालीन जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




































