ह्वाट्सएप बिजनेस एपीआईबारे नेपालमा टेलि डिजिटलको विशेष सम्मेलन

काठमाडौं । नेपालमा डिजिटल व्यापार र व्यवसायिक म्यासेजिङको प्रयोगलाई विस्तार गर्ने उद्देश्यसहित टेलि डिजिटल सर्भिसेस प्रालिले ‘द कनभरफरेन्स’ नामक विशेष उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ। रमेश कर्प अन्तर्गत रहेको कम्पनीले मेटासँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमलाई नेपालको डिजिटल व्यवसाय क्षेत्रमा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापार तथा ह्वाट्सएप बिजनेस एपीआईको प्रयोगमार्फत ग्राहकसँग प्रत्यक्ष, प्रभावकारी र व्यक्तिगत संवाद कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, कर्पोरेट कम्पनी, ब्रान्ड व्यवस्थापक, डिजिटल मार्केटिङ विशेषज्ञ तथा व्यवसायिक निर्णयकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टिओङ मुख्य वक्ताका रूपमा सहभागी भएका थिए। उनले नेपाललाई व्यवसायिक म्यासेजिङ र डिजिटल संवादका लागि सम्भावनायुक्त तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले लिएको प्राथमिकताबारे चर्चा गरे।

उनले अहिले विश्वभर ग्राहक र व्यवसायबीचको सम्बन्ध परम्परागत फोन, एसएमएस र इमेलभन्दा अघि बढेर प्रत्यक्ष डिजिटल संवादतर्फ केन्द्रित भइरहेको बताए। “ग्राहकसँगको संवाद अहिले ह्वाट्सएपमै भइरहेको छ। अब प्रश्न केवल तपाईंको ब्रान्ड त्यसको हिस्सा हो कि होइन भन्ने मात्र हो,” उनले कार्यक्रममा भने।

कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा व्यवस्थापन, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत अनुभूति हुने डिजिटल संवाद कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरिएको थियो।

मेटाले कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर प्रत्येक साता एक अर्बभन्दा बढी मानिस मेटाका म्यासेजिङ प्लेटफर्ममार्फत व्यवसायसँग जोडिने गरेका छन्। नेपालमा पनि ह्वाट्सएपको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै व्यवसायहरूले अब परम्परागत विज्ञापन प्रणालीभन्दा अघि बढेर प्रत्यक्ष संवादमा आधारित व्यापार मोडेल अपनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा सहभागी व्यवसायिक प्रतिनिधिहरूले डिजिटल युगमा ग्राहकसँग तत्काल र विश्वासिलो संवाद व्यवसायको सफलताको मुख्य आधार बन्न थालेको धारणा व्यक्त गरेका थिए। विशेषगरी बैंकिङ, ई–कमर्स, शिक्षा, स्वास्थ्य, ट्राभल तथा रिटेल क्षेत्रका कम्पनीहरूले ह्वाट्सएप बिजनेस प्लेटफर्मबाट उल्लेखनीय लाभ लिन सक्ने विषय कार्यक्रममा उठाइएको थियो।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपाली व्यवसायहरूलाई विश्वस्तरीय डिजिटल प्लेटफर्ममा सहज पहुँच उपलब्ध गराउने लक्ष्यसहित टेलि डिजिटललाई अघि बढाइएको बताए। उनले पाँच दशकभन्दा लामो समयदेखि रमेश कर्प नेपाली व्यवसायहरूको विकास र प्रवर्द्धनमा साझेदार रहँदै आएको उल्लेख गरे। “हामी नेपाली व्यवसायहरूले स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा र प्रत्यक्ष सेवासहित विश्वका शक्तिशाली डिजिटल प्लेटफर्ममा सहज पहुँच पाउन सकून् भन्ने चाहन्छौं,” उनले भने।

त्यस्तै टेलि डिजिटल सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत नवांकुर सुद ले अहिलेको डिजिटल युगमा ग्राहक–केन्द्रित इकोसिस्टम निर्माण सबैभन्दा महत्वपूर्ण विषय बनेको बताए। ग्राहकसँग हुने स्वाभाविक अन्तरक्रियाले दीर्घकालीन सम्बन्ध निर्माण गर्न सहयोग गर्ने उनको भनाइ थियो।

उनले जबरजस्ती बिक्री गराउनेभन्दा ग्राहकलाई संवादमार्फत सेवा र जानकारी उपलब्ध गराउने रणनीति प्रभावकारी बन्न थालेको बताए। “ह्वाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहक जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत अनुभूति हुने संवाद गर्न सक्षम बनाउँछ,” उनले उल्लेख गरे।

कार्यक्रममा डिजिटल मार्केटिङ, ग्राहक डेटा व्यवस्थापन, स्वचालित सन्देश प्रणाली, ग्राहक प्रतिक्रिया विश्लेषण तथा व्यवसायिक म्यासेजिङको भविष्यबारे पनि चर्चा गरिएको थियो। सहभागीहरूले नेपालमा डिजिटल व्यापारको सम्भावना तीव्र रूपमा बढिरहेको भन्दै यस्ता कार्यक्रमले व्यवसायहरूलाई नयाँ प्रविधि बुझ्न र प्रयोग गर्न सहयोग पुग्ने बताएका थिए। टेलि डिजिटल सर्भिसेस रमेश कर्प अन्तर्गतको कम्पनी हो, जसले गुगल, मेटा र ह्वाट्सएपको आधिकारिक साझेदारका रूपमा नेपाली व्यवसायहरूलाई गुगल एड्स, मेटा एड्स, गुगल वर्कस्पेस तथा ह्वाट्सएप बिजनेस एपीआई सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार नेपाली व्यवसायहरूलाई विदेशी भुक्तानी जटिलता, बिचौलिया प्रणाली तथा सञ्चालनसम्बन्धी अवरोधबिना विश्वस्तरीय डिजिटल प्रविधिमा पहुँच दिलाउने उद्देश्यसहित सेवा विस्तार भइरहेको छ। स्थानीय भुक्तानी सुविधा, तत्काल विज्ञापन क्रेडिट तथा नेपालमै उपलब्ध प्राविधिक सहयोगमार्फत व्यवसायहरूलाई सहज डिजिटल समाधान उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ। नेपालमा डिजिटल व्यवसाय र व्यवसायिक म्यासेजिङको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ‘द कनभरफरेन्स’ जस्ता कार्यक्रमले व्यवसायहरूलाई आधुनिक प्रविधि अपनाउन र ग्राहकसँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।