धाराको पानीमा सुख्खा रोटी भिजाएर पेट भरिरहेका एक युवक, भावुक बने हजारौँ मानिस

काठमाडौँ । सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको एउटा भिडियोले हजारौँ मानिसको मन छोएको छ।

परिवारको पेट पाल्न चर्को घाममा गाउँ–गाउँ डुलेर सामान बेचिरहेका एक युवकको संघर्षपूर्ण जीवन र पीडादायी अवस्था देखिएको दृश्यले धेरैलाई भावुक बनाएको हो।

भिडियोमा ती युवक काँधमा महिलाले प्रयोग गर्ने श्रृङ्गारका सामग्री बोकेर गाउँतिर हिँडिरहेका देखिन्छन्। उनी बिहान सबेरै घरबाट निस्किएर साँझसम्म गाउँ–गाउँ पुग्दै सामान बिक्री गर्ने प्रयासमा थिए। घरमा रहेका परिवारलाई दुई छाक खाना जुटाउन सकियोस् भन्ने आशामा उनी टन्टलापुर घाममा पसिना बगाउँदै निरन्तर हिँडिरहेका देखिन्छन्।

दिनभरि हिँड्दा उनी निकै थकित र भोकाएका थिए। लामो समयसम्म केही खान नपाएपछि उनले बाटोछेउको एउटा धारामा विश्राम लिए। त्यसपछि झोलाबाट सुख्खा रोटी निकालेर त्यही धाराको पानीमा भिजाउँदै पेट भर्ने प्रयास गरेको दृश्यमा देखिन्छ। साथमा खाने अन्य कुनै परिकार नभएकाले उनले पानीसँगै रोटी खाएर भोक मेटाउने प्रयास गरेका थिए।

अहिले यही दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। धेरै मानिसहरूले युवकको संघर्ष र बाध्यताले आफूहरू भावुक बनेको प्रतिक्रिया दिएका छन्। “परिवारका लागि मानिसले कति दुःख सहनुपर्छ”, “मेहनत गर्ने मानिसको जीवन किन यति कठिन हुन्छ ?”, “गरिबको आँसु कसैले देख्दैन” जस्ता हजारौँ प्रतिक्रिया सामाजिक सञ्जालमा आएका छन्।

कतिपयले देशको आर्थिक अवस्था, बेरोजगारी र सरकारको कामप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। इमान्दारीपूर्वक मेहनत गरेर परिवार पाल्न खोज्ने मानिसहरूले नै सबैभन्दा बढी संघर्ष गर्नुपरेको भन्दै धेरैले दुःख र आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले युवकको मेहनत र आत्मसम्मानको प्रशंसा पनि गरेका छन्। कठिन परिस्थिति हुँदाहुँदै पनि गलत बाटो नअपनाई दुःख गरेर परिवार पाल्न खोज्नु प्रेरणादायी भएको धेरैको भनाइ छ।

यो दृश्यले फेरि एकपटक समाजमा लुकेका अनेकौँ संघर्ष र पीडालाई बाहिर ल्याइदिएको छ। बाहिरबाट सामान्य र मुस्कुराइरहेका देखिने धेरै मानिसहरू वास्तवमा भित्रभित्रै भोक, गरिबी र जिम्मेवारीको भारी बोकेर बाँचिरहेका हुन्छन् भन्ने यथार्थ यस घटनाले झल्काएको छ।

मानिसको जीवनमा गरिबी र जिम्मेवारीले कस्तो कठिन अवस्था सिर्जना गर्न सक्छ भन्ने कुरा यो दृश्यले स्पष्ट देखाएको भन्दै धेरैले यस्ता मेहनती नागरिकप्रति समाज र राज्य दुवैले संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याएका छन्।