असोजदेखि बुटवल–पाल्पा सुरुङमार्ग सञ्चालन गर्ने तयारी, निर्माण कार्य तीव्र

सिद्धार्थनगर । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन बहुप्रतीक्षित सुरुङमार्ग आगामी असोज महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र पारिएको छ।

वर्षौंदेखि पहिरो, भूक्षय र दुर्घटनाको जोखिम झेल्दै आएका यात्रुका लागि सुरुङमार्ग सुरक्षित तथा सहज विकल्प बन्ने अपेक्षा गरिएको छ । आयोजनाले सुरुङभित्रको संरचना निर्माण, पहुँच सडक, सुरक्षा प्रणाली तथा बाह्य संरक्षणका कामलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ ।

नेपालकै महत्त्वपूर्ण राजमार्गमध्ये एक मानिने सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड विशेषगरी वर्षायाममा अत्यधिक जोखिमपूर्ण मानिन्छ । सडक साँघुरो हुनु, बारम्बार पहिरो खस्नु र चट्टानी भिरका कारण यात्रुहरूले सास्ती भोग्दै आएका छन् । यही समस्याको दीर्घकालीन समाधानका रूपमा सुरुङमार्ग निर्माण थालिएको हो ।

आयोजनाका अनुसार हालसम्म सुरुङमार्ग निर्माणको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस मोडलअन्तर्गत डिजाइनदेखि निर्माण सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ । आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी असोजसम्म सुरुङमार्गबाट सवारी सञ्चालन गर्ने गरी काम भइरहेको छ । “निर्माणका बाँकी कामलाई तीव्र बनाइएको छ । सुरुङभित्रको संरचना, विद्युत् प्रणाली, सुरक्षा उपकरण र पहुँच सडकको काम एकसाथ भइरहेको छ,” उनले भने, “हामी निर्धारित समयभित्रै सञ्चालनमा ल्याउने लक्ष्यमा छौँ ।”

उनका अनुसार सुरुङमार्ग निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ । त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) अन्तर्गत प्राविधिक कमजोरी वा संरचनागत समस्या देखिए कम्पनीले नै सुधार गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजनाको प्रारम्भिक चरणमा भने विभिन्न कानुनी, प्रशासनिक र प्राविधिक समस्याले काम प्रभावित भएको थियो । नेपालमा इपिसी मोडल नयाँ अभ्यास भएकाले आवश्यक प्रक्रिया, डिजाइन स्वीकृति, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा ढिलाइ हुँदा निर्माण गति सुस्त बनेको आयोजनाले जनाएको छ ।

विशेषगरी वन क्षेत्रभित्र पर्ने स्थानमा रुख कटान अनुमति लिन लामो समय लागेको थियो । त्यस्तै, डिजाइन परिमार्जन र प्राविधिक स्वीकृतिका कारण पनि केही समय काम प्रभावित भएको थियो । अहिले ती अधिकांश समस्या समाधान भइसकेकाले निर्माण कार्यले तीव्रता पाएको आयोजनाको दाबी छ ।

सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकलाई पनि आधुनिक र सुरक्षित बनाइँदै छ । पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ अर्थात् कङ्क्रिट ढलान गर्ने स्वीकृति प्राप्त भइसकेको आयोजनाले जनाएको छ । यसले सडकको दीर्घकालीन स्थायित्व बढाउनुका साथै भारी सवारी सञ्चालनलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ निर्माण तथा भिर संरक्षणको काम गरिनेछ । पहिरो र ढुङ्गा खस्ने जोखिम न्यूनीकरण गर्न विशेष संरचना निर्माण गर्ने योजना रहेको छ । पैदलयात्रीका लागि सुरक्षित हिँड्ने बाटो, खानेपानी व्यवस्थापन तथा सडक छेउको सुरक्षा संरचनालाई समेत प्राथमिकता दिइएको आयोजनाले जनाएको छ ।

आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब सात अर्ब रुपैयाँमा निर्माण सम्झौता गरिएको हो । लागत घटाएर आयोजना अघि बढाइए पनि गुणस्तरमा कुनै सम्झौता नगरिने आयोजनाको भनाइ छ ।

सिद्धार्थ राजमार्ग नेपालकै व्यस्त तथा रणनीतिक सडकमार्गमध्ये एक हो । लुम्बिनी प्रदेशलाई पहाडी जिल्लासँग जोड्ने मुख्य मार्गका रूपमा रहेको यो सडक हुँदै दैनिक सयौँ सवारीसाधन सञ्चालन हुने गरेका छन् । तर सडकको जोखिमपूर्ण अवस्थाका कारण वर्षेनी दुर्घटना र अवरोध हुने समस्या दोहोरिँदै आएको छ ।

स्थानीयवासी र यातायात व्यवसायीले सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रा समय छोटिने, दुर्घटना जोखिम घट्ने र यातायात सहज हुने विश्वास व्यक्त गरेका छन् । बुटवल–पाल्पा सडकखण्डमा हुने लामो जाम, पहिरोका कारण सडक अवरुद्ध हुने समस्या तथा वर्षायामको त्रास अन्त्य हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग सञ्चालनसँगै पर्यटन, व्यापार र यातायात क्षेत्रले समेत नयाँ गति लिने विश्वास गरिएको छ । विशेषगरी पाल्पा, गुल्मी, अर्घाखाँची लगायत पहाडी जिल्लाबाट तराई आवतजावत गर्ने यात्रु प्रत्यक्ष लाभान्वित हुनेछन् । सरकारले सुरुङमार्गलाई नेपालको आधुनिक सडक पूर्वाधार विकासको नमुनाका रूपमा समेत हेरिरहेको छ । आयोजना सफल रूपमा सम्पन्न भए भविष्यमा अन्य जोखिमयुक्त राजमार्गमा पनि यस्तै प्रविधिको प्रयोग विस्तार गर्ने योजना रहेको बताइएको छ ।