प्रधानमन्त्री कहिले आउँछन् संसद् ?

काठमाडौँ । प्रतिनिधिसभा बैठक चलाउने सभामुख डीपी अर्याल चेपुवामा देखिन्छन् । एकातिर संसदको नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिक्कै विपक्षीको अवरोध, अर्कोतिर संसदमा आउन नमान्ने प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’ ।

विपक्षीले भन्दै आएका छन्– संविधानअनुसार प्रधानमन्त्री बालेन संसदप्रति उत्तरदायी हुनुपर्छ र जवाफ दिनुपर्छ । यो विषयमा प्रधानमन्त्री बालेनसँग छलफल पनि गर्छन् सभामुख अर्याल । तर, उपयुक्त जवाफ पाउन सक्दैनन् । उनले प्रस्ट जवाफ दिन नसक्दा मंगलबार पहिलो चरणमा प्रतिनिधिसभाको बैठक विपक्षीलाई पेलेरै चलाए पनि स्थगित गर्न बाध्य भएका थिए । जब सभामुख अर्याल नियमित कार्यसूचीमा प्रवेश गरे, तब विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय सुनिश्चित गर्न माग गरे । प्रतिपक्षीहरूले नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने प्रावधानको कार्यान्वयन नभएको भनेर सभामुखको ध्यानाकर्षण गराए ।

प्रतिपक्षीको अवरोधका बीच सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र यसबारे छलफल भइरहेको जानकारी गराउँदै बैठक अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । ‘सत्तापक्षका मुख्य सचेतकज्यूबाट पनि मैले जानकारी पाएको छु, प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नुभएको जिज्ञासा र प्रश्नमा उत्तर दिने तयारी गरिरहनुभएको छ,’ सभामुख अर्यालले भने, ‘प्रधानमन्त्रीज्यूले छिट्टै सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ ।’ विरोध गरिरहेका विपक्षीलाई सभामुखले समय दिए । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारले संसदलाई केवल संख्याको खेलका रूपमा लिएको र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाइन् । ‘संसद विचार विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च थलो हो,’ सांसद थापाले भनिन्, ‘तर, दुर्भाग्यवश सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउनेतर्फ उन्मुख देखिएको छ ।’

उनले विधेयकहरू पारित गर्दा प्रतिपक्षलाई बेवास्ता गरिएको, प्रधानमन्त्री र मन्त्रीहरूकै कारण संसदीय समितिहरू प्रभावकारी हुन नसकेको र जनचासोका मुद्दामा सरकार गम्भीर नभएको आरोप लगाइन् । एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन खोपीको देउवा बन्दै हो भन्ने प्रश्न गरे । ‘सत्तापक्ष र सरकारलाई सोध्न चाहन्छु– खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गर्दै हो ? लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ?,’ उनले भने, ‘संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ?’ महरले संसदप्रति गैरजिम्मेवार बनेको र संसदीय अभ्यासलाई बेवास्ता गरेको आरोप लगाए । प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको भन्दै उनले प्रश्न गरे, ‘संसदलाई छल्ने प्रयास किन भइरहेको छ ?’

विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहन्छन् । ‘मलाई थाहा छ, माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ,’ सभामुख अर्यालले भने । विपक्षी दलहरूको यस्तो इच्छा नेचुरुल प्रक्रिया भएको भन्दै उनले प्रधानमन्त्री उपस्थित हुने विषय पनि नेचुरल नै रहेको बताए । ‘प्रधानमन्त्री आउने मिति तय हुनेबित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु,’ सभामुख अर्यालले भने । त्यसपछि विपक्षीको विरोध कायमै रहे पनि सभामुख अर्यालले पेलेरै बैठक अघि बढाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सो प्रस्तावमाथि छलफलका क्रममा रास्वपाका सांसद जगदीश खरेलले संसदको अवरोधलाई तमासा भनी टिप्पणी गरेपछि प्रतिपक्षी सांसदहरूले आपत्ति जनाउँदै विरोध चर्काए ।

कांग्रेस सांसद नरेन्द्र केरुङ रोस्ट्रम घेर्न जान लागेका थिए । तर, कांग्रेसका प्रमुख सचेतक बासना थापाले रोकिन् । यतिबेलासम्म सांसदमा हो हल्ला बढ्छ । होहल्ला बढेपछि र विपक्षी दलका सांसद आक्रोशित बनेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्छन् । त्यसअघि श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले ’सोई ढोले सोई प्रधानमन्त्री खोइ’ भन्ने नारा लगाएका थिए । दोस्रो चरणको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नछन्, जहाँ रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको उपस्थितिका बारेमा जानकारी दिने सहमति हुन्छ । एक हप्ताभित्र संसदमा उपस्थित हुने जानकारी उनले दिन्छन् । बुर्लाकोटी भन्छन्, ’मैले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर विपक्षी सांसदहरूले उठाएको विषय राखेँ । सम्भवतः उहाँ एक हप्ताभित्र आउने जानकारी गराउन चाहन्छु ।’ तैपनि विपक्षी दलका सांसदहरू कन्भिन्स हुँदैनन् । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले संसद सरकारको भजन र प्रशंसा गर्ने थलो नभएको बताइन् । ‘सरकार जुन इमानदारीका साथ प्रस्तुत हुनुपर्थ्यो, त्यो यहाँ देखिएन । भित्र एउटा सहमति गर्ने तर फेरि ठेलेरै लैजाने खालको परिदृश्य देखियो । संसद सरकारको भजन र प्रशंसा गर्ने थलो होइन । यो त प्रतिपक्षको थलो हो,’ अर्यालले भनिन् ।

श्रम संस्कृति पार्टीका सांसद राईले प्रधानमन्त्री बालेनलाई संसदमा सित्तैँमा नआउने भए पैसा तिरेर भए पनि ल्याउनुपर्ने उनको भनाइ राखे । ‘हामीले हाम्रो प्रधानमन्त्रीको आवाज जनतामा लान पाऊँ । बरु के चीज रहेछ, जति महँगो भए पनि तिरौँ न,’ सांसद राईले कटाक्ष गरे, ‘अब उहाँ त कलाकार मान्छे पनि हो । सायद पैसामा हिजोतिर हिँड्ने बानी भएर हो कि !’ सभामुख अर्यालले प्रधानमन्त्रीले जवाफ दिने काम प्रक्रियामा रहेको जानकारी सदनलाई गराएका थिए । ‘प्रक्रिया पनि लिखित रूपमा आउने हुन्छ । कार्यपालिकाले व्यवस्थापिकालाई सूचना आउने काम हुन्छ । सरकारको तयारी होला । तयारीपछि समय दिनुहुन्छ डेट दिनुहुन्छ । जब मलाई मिति प्राप्त हुन्छ, त्यो दिन म मिति सार्वजनिक गर्छु,’ सभामुख अर्यालले भने । कम्तीमा सधैँ विरोध हुने र पेलेरै अघि बढ्ने सभामुखले पहिलो चरणमा पेलेरै बैठक चलाए पनि दोस्रो चरणको बैठकपछि भने विपक्षी दलका सांसदहरूलाई उधारो आश्वासनमा कन्भिस गराएका छन् । अझै पनि प्रधानमन्त्रीको सचिवालयले यस विषयमा प्रस्ट जवाफ भने दिइसकेको छैन ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।