नयाँदिल्लीले रविलाई दिएको महत्वको कूटनीतिक अर्थ

छिमेकी मुलुक भारतको ५ दिने औपचारिक भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई नयाँदिल्लीमा दिइएको भव्य स्वागत, उच्चस्तरीय राजनीतिक भेटघाट र कूटनीतिक महत्वले दक्षिण एसियाली राजनीतिमा नयाँ कूटनीतिक तरङ्ग पैदा गरिदिएको छ ।

नेपालका परम्परागत र पुराना राजनीतिक दलहरूसँग मात्रै डिल गर्दै आएको भारतीय संस्थापन र सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नेपालको उदाउँदो राजनीतिक शक्ति रास्वपा र त्यसका सभापतिलाई नयाँदिल्लीमा दिएको उच्च महत्व सामान्य भ्रमणका रूपमा मात्र छैन, बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको घरेलु राजनीतिमा आएको पुस्तान्तरण र नयाँ शक्तिको उदयलाई भारतले निकै गम्भीरतापूर्वक नियालिरहेको बलियो कूटनीतिक संकेत हो ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र भारतीय विदेश सचिव विक्रम मिश्रीसँग गरेको उच्चस्तरीय कूटनीतिक भेटवार्ता अर्थपूर्ण छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट अनिश्चित भएपछि केही समयअघि मात्रै नेपाल भ्रमण स्थगित गरेका विदेश सचिव मिश्रीको उपस्थितिमा प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरले रास्वपासँग गरेको संवादले भारत नेपालका नयाँ राजनीतिक खेलाडीहरूसँग सम्बन्ध सुदृढ गर्न हतारिएको प्रस्ट छ ।

प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरले भेटवार्तालाई फलदायी भन्दै २ देशबिचको विकास र जनस्तरको सम्बन्धमा केन्द्रित रहेको बताएका छन् । यसले नयाँदिल्लीले रास्वपालाई नेपालको आगामी राजनीतिक नेतृत्वको बलियो हिस्सेदारका रूपमा स्वीकार गरिसकेको सन्देश दिएको छ ।

कूटनीतिक अर्थका हिसाबले भ्रमणको अर्को महत्वपूर्ण पाटो भनेको भाजपा मुख्यालयमा भएको उच्चस्तरीय राजनीतिक संवाद र आतिथ्यता हो । भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित वरिष्ठ नेताहरू अरुण सिंह, सञ्जाय जयसवाल, बाँसुरी स्वराज र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले रास्वपा टोलीलाई गरेको भव्य स्वागत र भाजपाले आयोजना गरेको दिवाभोजमा दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता लगायतका शीर्ष नेताहरूको उपस्थितिले कूटनीतिको दायरा फराकिलो भएको देखाउँछ । बैठकमा विशेष गरी लोकतन्त्रमा जेनजी अर्थात् युवा पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे गहन छलफल हुनुले दुवै देशका नेतृत्व युवा नेतृत्वको उभारप्रति सचेत रहेको देखाउँछ ।

सभापति रविको भ्रमण रास्वपाले भारतको सत्ताधारी दलको सांगठनिक ढाँचा र सुशासनको मोडललाई बुझ्‌ने एउटा राजनीतिक अवसर पनि बनेको छ । भेटका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र बुथ तहसम्म कार्यकर्तासँग जोडिने संयन्त्रबारे विशेष चासो राखेको छ । रास्वपा टोलीले भाजपाको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेको छ ।
नयाँदिल्लीले रास्वपाका सभापति रवि लामिछाने, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोलीलाई दिएको कूटनीतिक महत्वले नेपालको आन्तरिक राजनीतिमा पनि ठूलो अर्थ राख्छ । राष्ट्रियता र छिमेक सम्बन्धका सवालमा नयाँ शक्तिहरू भारत विरोधी सेन्टिमेन्टमा मात्र चल्छन् भन्ने परम्परागत भाष्यलाई रविको भ्रमणले कूटनीतिक परिपक्वताका साथ चिरेको छ । भारतले पनि नेपालमा पुरानो राजनीतिक सिन्डिकेट भत्किँदै गएको र युवा तथा नयाँ पुस्ताको निर्णायक हस्तक्षेप बढिरहेको यथार्थलाई आत्मसात् गरेको छ ।

नयाँदिल्लीले रविलाई दिएको कूटनीतिक महत्व नेपालको राजनीतिमा स्थापित हुँदै गरेको नयाँ विचार र युवा पुस्ताप्रतिको अन्तर्राष्ट्रिय भरोसा हो । रास्वपाले छिमेकी राष्ट्रसँग सन्तुलित, सुझबुझपूर्ण र जनकेन्द्रित कूटनीतिक संवाद गर्दै आगामी दिनमा राष्ट्रिय हितको जगमा उभिएर थप परिपक्व बनाउनुपर्छ । भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र भविष्यको नेतृत्व निर्माणमा एउटा ऐतिहासिक प्रस्थानविन्दुको रूपमा काम गर्नेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।