मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’ राइडर

काठमाडौं । मेटलाइफ नेपालले गम्भीर रोगका कारण उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ‘क्रिटिकल इलनेस प्लस’ नामक नयाँ राइडर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो राइडरले जीवनका संवेदनशील क्षणहरूमा बीमित व्यक्तिलाई तत्काल आर्थिक राहत प्रदान गर्नेछ ।

नयाँ राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसबाट अस्पताल तथा उपचार खर्चका साथै उपचारपछिको पुनःस्थापना, आम्दानीमा हुन सक्ने कमी तथा दीर्घकालीन हेरचाहसँग सम्बन्धित आर्थिक भार व्यवस्थापन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘क्रिटिकल इलनेस प्लस’ लाई किफायती र सहज बनाउने गरी डिजाइन गरिएको छ। छुट्टै बीमा योजना खरिद गर्नुपर्ने आवश्यकता नपर्ने यस राइडरलाई योग्य व्यक्तिगत जीवन बीमा योजनासँग सहज रूपमा जोड्न सकिन्छ। यसले क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजोसम्बन्धी रोग, मुटुरोग तथा प्रमुख अंग प्रत्यारोपणलगायत ११ वटा प्रमुख गम्भीर रोगमा आर्थिक सुरक्षा प्रदान गर्नेछ ।

बीमा सम्झौताअनुसार तोकिएका गम्भीर रोगको पुष्टि भएपछि लाभ रकम एकमुष्ट रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ। यसबाट बीमित व्यक्तिले आर्थिक चिन्ताभन्दा आफ्नो उपचार र स्वास्थ्य सुधारमा बढी ध्यान केन्द्रित गर्न सक्ने कम्पनीको विश्वास छ ।

मेटलाइफ नेपालले यो राइडरको एकमुष्ट भुक्तानी सुविधाले परम्परागत स्वास्थ्य बीमाभन्दा बढी लचिलोपन प्रदान गर्ने जनाएको छ। ग्राहकहरूले प्राप्त रकम उन्नत चिकित्सा उपचार, विदेशमा उपचार, घरायसी खर्च व्यवस्थापन वा अन्य आर्थिक दायित्व पूरा गर्न प्रयोग गर्न सक्नेछन्। लामो र अनिश्चित उपचार अवधिमा यसले भरपर्दो आर्थिक सुरक्षा कवचको रूपमा काम गर्ने कम्पनीको दाबी छ ।

राइडर सार्वजनिक कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गम्भीर रोगले व्यक्तिको जीवनमा स्वास्थ्य र आर्थिक दुवै दृष्टिकोणबाट गहिरो प्रभाव पार्न सक्ने बताए। उनले ‘क्रिटिकल इलनेस प्लस’ मार्फत अर्थपूर्ण सुरक्षा अझ पहुँचयोग्य, किफायती र सहज बनाइएको उल्लेख गर्दै ग्राहकहरूलाई आर्थिक तनावभन्दा उपचार र स्वास्थ्य लाभमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस व्यक्तिगत राइडरसँगै मेटलाइफ नेपालले आफ्नो सामूहिक गम्भीर रोग राइडरलाई पनि थप सुदृढ बनाएको छ। अब कर्मचारी तथा उनीहरूका परिवारका लागि १४ वा २० वटा गम्भीर रोगसम्मको सुरक्षा विकल्प उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त परिमार्जनले रोजगारदाताका लागि लागत प्रभावकारी रहँदै कर्मचारी सुविधालाई थप मजबुत बनाउनेछ। साथै, उदीयमान स्वास्थ्य जोखिम र ग्राहकका वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने व्यापक सुरक्षा समाधान विकास गर्ने मेटलाइफ नेपालको प्रतिबद्धतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।