नेपाली चिया निर्यातमा दुई महिनादेखि भारतीय अवरोध, सरकारले खोजेन समाधानको उपाए

काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय अवरोधका कारण देशको चिया उद्योग गम्भीर संकटमा परेको छ ।

भारतले करिब दुई महिनाअघि नेपालबाट आयात हुने चियालाई खाद्यवस्तुसरह शतप्रतिशत परीक्षण अनिवार्य गर्ने नयाँ प्रावधान लागू गरेपछि निर्यात प्रक्रिया लगभग ठप्प भएको हो । विशेषगरी अर्थोडक्स चियामा यो नियमले प्रत्यक्ष असर पारेको छ, जसका कारण उद्योगीहरू उत्पादन रोक्ने अवस्थामा पुगेका छन् ।

उद्योगीहरूका अनुसार समस्या समाधानतर्फ सरकारी पहल प्रभावकारी हुन नसक्दा अवस्था झन् जटिल बन्दै गएको छ। पछिल्लो समय धमाधम चिया उद्योगहरू बन्द गर्ने घोषणा हुन थालेका छन् । निर्यात अवरुद्ध हुँदा उत्पादन थन्किँदै गएको र बजार अभावले उद्योग सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ । विगतमा पनि भारतले यस्ता अवरोधहरू सिर्जना गर्ने गरेपनि ती छिट्टै समाधान हुने गरेका थिए । तर यसपटक समस्या लामो समयसम्म समाधान नहुँदा उद्योगीहरू निराश बनेका छन् ।

सरकारले कुटनीतिक पहल भइरहेको दाबी गरे पनि सम्बन्धित निकायबीच ठोस संवादसमेत हुन नसकेको अधिकारीहरू बताउँछन् । कर्मचारी तहमा भएका प्रयासहरू प्रभावहीन बनेका छन् भने भारतीय पक्षले उच्च राजनीतिक तहको पहल खोजिरहेको संकेत देखिएको छ । नेपालतर्फबाट त्यस्तो पहल नहुँदा समस्या जस्ताको त्यस्तै रहिरहेको छ । भारतमा नेपाली राजदूतको अभाव र उच्चस्तरीय संवादको कमीले पनि समस्या समाधानमा बाधा पुगेको देखिन्छ । केही अधिकारीहरूले आफ्ना समकक्षीसँग विषय उठाए पनि त्यसले ठोस परिणाम दिन सकेको छैन ।

वाणिज्य तथा परराष्ट्र दुवै तहमा संवाद प्रभावकारी हुन नसकेको गुनासो छ । पछिल्ला कूटनीतिक घटनाक्रमले पनि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको संकेत मिलेको छ । परराष्ट्रमन्त्रीको भारत भ्रमणपछि पनि उल्लेखनीय प्रगति हुन सकेन । त्यसपछि भएको चीन भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको चर्चा समेत छ । यी घटनाक्रमहरूले द्विपक्षीय सम्बन्धमा असर पार्दै व्यापारिक क्षेत्रमा पनि प्रभाव पारेको विश्लेषण गरिएको छ ।

भारतीय चिया बोर्डले मे १ देखि नेपाली चियालाई ‘रेड जोन’मा राख्दै कडा परीक्षण व्यवस्था लागू गरेपछि निर्यात पूर्णरूपमा रोकिएको हो । करिब ४५ दिनभन्दा बढी समयसम्म समस्या समाधान नहुँदा उद्योगीहरू उत्पादन बन्द गर्न बाध्य हुने अवस्थामा पुगेका छन् । नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँसम्म हुने अनुमान छ । त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ ।

चिया क्षेत्रले करिब ६० हजार श्रमिकलाई रोजगारी दिँदै आएको छ भने राज्यलाई वार्षिक एक अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको छ । हाल निर्यात रोकिँदा सीटीसी चियाको मात्रै करिब पाँच लाख किलोभन्दा बढी उत्पादन उद्योगमै थन्किएको छ । अर्थोडक्स चियाको अवस्था पनि उस्तै छ, ठूलो परिमाणमा उत्पादन गोदाममै थन्किएको छ । दुवै प्रकारका चियाको मुख्य बजार भारत भएकाले वैकल्पिक बजार खोज्न पनि चुनौतीपूर्ण बनेको उद्योगीहरूको भनाइ छ । यस्तो गम्भीर अवस्थामा पनि नेपाल सरकारको सक्रिय कुटनीतिक पहल देखिन नसक्दा चिया क्षेत्र झन् संकटतर्फ धकेलिएको छ । राजनीतिक तहमा उच्चस्तरीय संवाद नभएसम्म समस्या समाधान हुने सम्भावना न्यून रहेको सरोकारवालाहरूको निष्कर्ष छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।