रास्वपाको पहिलो महाधिवेशन : विपक्षीको आशंका, सत्तारुढको आत्मविश्वास

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन भव्य रूपमा सुरु भएको छ ।

भरतपुरमा आयोजित उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको विशेष उपस्थिति रहेको थियो । महाधिवेशनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाको आगामी दिशा, नीति र नेतृत्वलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले विगतका राजनीतिक अनुभवबाट सिक्दै पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले रास्वपा भित्र त्याग र बलिदानको मूल्यांकनमा असमानता देखिन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे । उनका अनुसार अरूले गरेको त्यागलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा कठिनाइ महसुस गर्ने प्रवृत्ति देखिन थालेको छ, जुन सुधार गर्न जरुरी छ । लामिछानेले पार्टीभित्र देखिएको असन्तुष्टि र बाहिर फैलाइएका हल्लाहरूको खण्डन गर्दै रास्वपा एकजुट रहेको दाबी गरे। उनले प्रधानमन्त्री बालेन शाहलाई ‘गोल हान्ने’ जिम्मेवारी दिइएको उल्लेख गर्दै आफूले आवश्यक परे बल पास गर्ने भूमिका निर्वाह गर्ने बताएका थिए। यस अभिव्यक्तिलाई उनले राजनीतिक सहकार्य र जिम्मेवारी बाँडफाँटको प्रतीकका रूपमा प्रस्तुत गरे ।

उनले सरकार जनताको आशा र भरोसामा खरो उत्रने प्रतिबद्धता पनि व्यक्त गरे। “हामीले जनता र इतिहासलाई साक्षी राखेर गरेका प्रतिबद्धता इमान्दारिताका साथ कार्यान्वयन गर्नेछौँ,” उनले भने । साथै, रास्वपालाई कमजोर बनाउने वा ढाल्ने प्रयास हुनसक्ने भन्दै त्यस्ता गतिविधिप्रति सतर्क रहन कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्बोधनमा रास्वपालाई ‘लोकल गाडी’ नभई ‘हाइवेमा गुडिरहेको गाडी’ का रूपमा चित्रण गरे। उनले गन्तव्यमा नपुगेसम्म नरोकिने प्रतिबद्धता जनाउँदै आफ्नो सरकार स्पष्ट उद्देश्य र योजनासहित अघि बढिरहेको बताए । उनले उठ्ने गरेका प्रश्नहरूलाई मौलिक शैलीमा जवाफ दिँदै सरकार कानुनभित्रै बसेर काम गरिरहेको र अनियन्त्रित नभएको स्पष्ट पारे ।

सीमा विवाद लगायतका विषयमा उठेका प्रश्नहरूको जवाफ पनि उनले महाधिवेशनकै मञ्चबाट दिएका थिए । प्रतिपक्ष दलहरूले संसद्मा जवाफ मागे पनि आफूले महाधिवेशनमार्फत धारणा सार्वजनिक गरेको उनले बताएका छन् । महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपा प्रतिस्पर्धी भए पनि शत्रु नभएको स्पष्ट पार्दै स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाको आवश्यकता औंल्याए। उनले विधि र कानुन मिचिने ठाउँमा कांग्रेस सशक्त रूपमा उभिने बताए । थापाले विगत दशकमा ‘हिसाबी राजनीति’ हावी भएको टिप्पणी गर्दै अब जनमुखी र मूल्यमा आधारित राजनीति आवश्यक रहेको बताए ।

रास्वपाको उदयले अन्य दललाई पनि आफ्नो कार्यशैली सुधार्न प्रेरित गरेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको उपलब्धिलाई वैकल्पिक राजनीतिको परिणामका रूपमा व्याख्या गरे । उनले आधुनिक प्रविधिको प्रयोगमार्फत जनताको मन जितेर छोटो समयमै हासिल गरिएको सफलता नेपाली राजनीतिक इतिहासमा नयाँ अध्याय भएको बताए ।

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले रास्वपाको वैचारिक स्थिति स्पष्ट हुनुपर्नेमा जोड दिए। उनले पार्टीले केन्द्र, दायाँ वा बायाँ जहाँ उभिए पनि मुख्य लक्ष्य जनताको हित हुनुपर्ने बताए । जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभई त्यसलाई व्यवस्थित र परिचालन गर्नु ठूलो चुनौती भएको उनको धारणा थियो । त्यस्तै, नेकपाका नेता वर्षमान पुनले रास्वपाले संविधान र विधिसम्मत प्रक्रियालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने सुझाव दिए। उनले नयाँ राजनीतिक शक्तिप्रति जनतामा उच्च अपेक्षा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न जिम्मेवार ढंगले काम गर्न आग्रह गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई जनताले दिएको समर्थनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए । उनले यो अवसर गुमाएमा त्यसको असर समग्र देशले भोग्नुपर्ने चेतावनी दिए ।

उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको उदयलाई ‘राजनीतिक पुनर्जागरण’ को सुरुवातका रूपमा व्याख्या गरे। उनले पार्टी सत्ता परिवर्तनका लागि मात्र नभई राजनीतिक संस्कार परिवर्तनका लागि स्थापना भएको बताए। वाग्लेले मेरिटोक्रेसी, प्रतिस्पर्धा र सुशासनमा आधारित नयाँ प्रणाली निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गरे । उनले युवाहरूलाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिँदै देशभित्रै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लोकतन्त्रको गुणस्तर सुधार गर्नुपर्ने बताए । महाधिवेशन स्थलमा चर्को घाम र बीच–बीचमा परेको वर्षाका बाबजुद पनि सहभागीहरूको उत्साह उल्लेखनीय देखिएको थियो । हलबाहिर समेत भीडभाड बढ्दै गएको, कोही भाषण सुन्दै, कोही लाइनमा बस्दै, त कोही केवल नेताहरूलाई हेर्न आएको दृश्यले कार्यक्रमप्रति जनचासो उच्च रहेको देखाएको छ । अन्तर्राष्ट्रिय स्तरबाट समेत शुभकामना सन्देश प्राप्त भएका छन् ।

भारत, चीन, कोरिया लगायतका विभिन्न देशका राजनीतिक दलहरूले रास्वपाको महाधिवेशन सफलताको कामना गरेका छन्, जसले पार्टीको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुँदै गएको संकेत गर्दछ । समग्रमा, रास्वपाको पहिलो महाधिवेशन केवल संगठनात्मक कार्यक्रम मात्र नभई नयाँ राजनीतिक दिशाको घोषणा गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। छोटो समयमा उल्लेखनीय जनसमर्थन प्राप्त गरेको यस पार्टीले अब आफ्नो विचार, नेतृत्व र कार्यदिशालाई स्पष्ट गर्दै दीर्घकालीन राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने चुनौती सामना गरिरहेको छ । यस महाधिवेशनले पार्टीभित्रको एकता सुदृढ गर्दै बाह्य रूपमा विश्वास कायम गर्न सक्यो भने रास्वपा नेपाली राजनीतिमा स्थायी शक्तिका रूपमा स्थापित हुन सक्ने विश्लेषण गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।