काठमाडौं । अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्ट २० स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सञ्चार सुविधा, शक्तिशाली ब्याट्री, सहज कार्यसम्पादन र टिकाउ डिजाइनलाई प्राथमिकता दिँदै यो स्मार्टफोन बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार स्मार्ट २० विशेषगरी दैनिक प्रयोगलाई लक्षित गर्दै विकास गरिएको हो । किफायती मूल्यमा उपलब्ध यस स्मार्टफोनमा कृत्रिम बुद्धिमत्तामा आधारित आवाज सुधार प्रविधि, १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, शक्तिशाली प्रोसेसर तथा लामो समय टिक्ने ब्याट्री समावेश गरिएको छ।
नेपाली बजारमा ४ जीबी र्याम र ६४ जीबी भण्डारण क्षमता भएको मोडलको मूल्य रु. १९ हजार ९९९ तथा ४ जीबी र्याम र १२८ जीबी भण्डारण क्षमता भएको मोडलको मूल्य रु. २१ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ । फोनमा रहेको शुद्ध आवाज प्रविधि (प्योर भ्वाइस टेक्नोलोजी) ले प्रयोगकर्ताको आवाजलाई पहिचान गरी वरपरको अनावश्यक आवाज कम गर्छ । यसले भीडभाड, कार्यालय वा सार्वजनिक यातायातमा समेत स्पष्ट रूपमा फोन वार्ता गर्न सहज बनाउने कम्पनीको दाबी छ ।
यस स्मार्टफोनमा ६.७८ इन्चको पञ्च–होल डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ। यसले स्क्रोलिङ, खेल खेल्ने तथा भिडियो हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने कम्पनीको भनाइ छ । कार्यसम्पादनका लागि यसमा मिडियाटेक हेलियो जी–८१ अल्टिमेट प्रोसेसर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले दैनिक प्रयोग, एकैपटक धेरै काम गर्ने (मल्टिटास्किङ) तथा मनोरञ्जनका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्छ। साथै, फोनमा ४८ महिनासम्म सहज सञ्चालनको प्रमाणीकरण (फ्लुएन्सी सर्टिफिकेसन) दिइएको छ ।
फोनमा ५२०० एमएएच क्षमताको ब्याट्री तथा ७.७ मिलिमिटर पातलो डिजाइन उपलब्ध छ, जसले दिनभर ब्याट्री टिक्नुका साथै आरामदायी प्रयोगको अनुभव दिने कम्पनीले जनाएको छ । यसमा रहेको अल्ट्रालिङ्क निःशुल्क कल सुविधा मार्फत मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा पनि करिब एक किलोमिटरसम्म कल तथा सन्देश आदान–प्रदान गर्न सकिने कम्पनीको दाबी छ ।
स्मार्ट २० मा कृत्रिम बुद्धिमत्तामार्फत लेखन सहयोग, गीत पहिचान, कागजात स्क्यान गर्ने सुविधा, स्पिकर सफा गर्ने सुविधा, एक स्पर्शमै जानकारी खोज्ने सुविधा तथा फोलाक्स ५.० कृत्रिम बुद्धिमत्ता सहायक जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। यी सुविधाले दैनिक कामलाई अझ छिटो, सहज र स्मार्ट बनाउने कम्पनीको भनाइ छ । टिकाउपनलाई ध्यानमा राख्दै फोनमा पानी र धुलोबाट सुरक्षा (आईपी–६४ मापदण्ड), भिजेको वा चिल्लो हातले पनि सहज सञ्चालन हुने सुविधा तथा १.५ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने क्षमता समावेश गरिएको छ । कम्पनीका अनुसार इन्फिनिक्स स्मार्ट २० नेपालभरका आधिकारिक बिक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेको छ ।


































