रसुवागढी नाकामा दुई दिन मालवाहक सवारी आवतजावत ठप्प, बेलीब्रिजको सुरक्षा परीक्षण हुँदै

रसुवा । नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढीस्थित मितेरी पुलबाट सञ्चालन हुने मालवाहक सवारीसाधनको आवतजावत दुई दिनका लागि रोकिएको छ ।

वर्षायामको समयमा पुलको सुरक्षा र सञ्चालन क्षमताको प्राविधिक परीक्षण गर्न सोमबारदेखि मालवाहक सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरिएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत वर्ष असार २४ गते आएको ल्हेन्देखोला बाढीले रसुवागढीस्थित पक्की मितेरी पुल बगाएको थियो । त्यसपछि नेपाल र चीनबीचको आवागमन तथा व्यापारलाई निरन्तरता दिन अस्थायी रूपमा बेलीब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको थियो । आगामी मनसुनमा पनि यही बेलीब्रिज सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने प्राविधिक मूल्याङ्कनका लागि दुई दिन सवारी सञ्चालन रोकिएको उनले बताए । “बेलीब्रिजको भारवहन क्षमता, संरचनागत अवस्था र वर्षायाममा सम्भावित जोखिमको अध्ययन गर्न प्राविधिक टोलीले परीक्षण गरिरहेको छ,” प्रमुख जिल्ला अधिकारी पन्थीले भने, “परीक्षण सकिएपछि प्राप्त प्रतिवेदनका आधारमा पुललाई पूर्ववत् सञ्चालनमा ल्याइनेछ ।”

उनका अनुसार मालवाहक सवारीको आवागमन रोकिए पनि स्थानीय बासिन्दा, कर्मचारी तथा कैलाश–मानसरोवर यात्रा गर्ने तीर्थयात्रीको आवतजावतमा कुनै अवरोध गरिएको छैन । यात्रुहरू पैदल रूपमा सहजै आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको छ । इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले नेपालबाट चीनको केरुङतर्फ जाने तथा केरुङबाट नेपाल आउने मालवाहक ट्रकलाई मात्र अस्थायी रूपमा रोकिएको जानकारी दिए । पुलको प्राविधिक परीक्षण सम्पन्न भई संरचना सुरक्षित रहेको निष्कर्ष आएपछि मालवाहक सवारी पूर्ववत् सञ्चालन गरिने उनले बताए।

रसुवागढी नाका नेपाल–चीनबीच हुने आयात–निर्यात व्यापारको प्रमुख प्रवेशद्वार हो । विशेषगरी निर्माण सामग्री, विद्युतीय उपकरण, लत्ताकपडा, मेसिनरी, दैनिक उपभोग्य वस्तु तथा अन्य व्यापारिक सामान यही नाकाबाट नेपाल भित्रिने गर्छन्। त्यसैगरी नेपालबाट विभिन्न वस्तु चीनतर्फ निर्यात हुने भएकाले यो नाका दुवै देशबीचको व्यापारका लागि महत्वपूर्ण मानिन्छ । गत वर्ष आएको भीषण बाढीले मितेरी पुल बगाएपछि केही समय नेपाल–चीन व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो । त्यसपछि दुवै देशको समन्वयमा अस्थायी बेलीब्रिज निर्माण गरी मालवाहक सवारी तथा यात्रु आवागमन पुनः सञ्चालनमा ल्याइएको थियो । यद्यपि अस्थायी संरचना भएकाले प्रत्येक वर्ष मनसुनअघि यसको प्राविधिक अवस्था परीक्षण गर्नुपर्ने आवश्यकता रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

मनसुनका बेला हिमाली क्षेत्रमा बाढी, पहिरो र नदीको बहाव बढ्ने जोखिम उच्च रहने भएकाले पुलको सुरक्षामा विशेष सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । पुलमा कुनै कमजोरी रहे–नरहेको परीक्षण गरेर मात्र सवारी सञ्चालनलाई निरन्तरता दिइने भएकाले अहिलेको निर्णय दीर्घकालीन सुरक्षाका लागि आवश्यक भएको प्रशासनको भनाइ छ । रसुवागढी नाका केही दिन प्रभावित हुँदा व्यापारिक गतिविधिमा सामान्य असर पर्ने भए पनि पुलको संरचनात्मक सुरक्षा सुनिश्चित गर्नु प्राथमिकता भएको सरोकारवाला निकायले बताएका छन् । प्राविधिक परीक्षणको प्रतिवेदन सकारात्मक आएपछि मालवाहक सवारी सञ्चालन तत्काल पूर्ववत् गरिने र व्यापारिक गतिविधि सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।