काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीभित्रको आन्तरिक समन्वय, छलफल र संगठन सुदृढीकरणलाई लक्षित गर्दै काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार काठमाडौंको चुनदेवीमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटनसँगै संस्थापन इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक पनि सोही कार्यालयमा आयोजना गरेको थियो। बैठकमा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, आगामी रणनीति तथा कांग्रेसलाई पुनः मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले सम्पर्क कार्यालय स्थापना कुनै गुटगत गतिविधिका लागि नभई पार्टीलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन गरिएको प्रयास भएको बताए । उनले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गर्दै पार्टी विगतमा देशको पहिलो राजनीतिक शक्ति रहेको उल्लेख गरे ।
विश्वकर्माले पछिल्लो समय कांग्रेसको जनाधार केही कमजोर बनेको स्वीकार गर्दै आगामी दिनमा संगठनलाई पुनः बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार बैठकमा सहभागी नेताहरूले पार्टीलाई अझ एकताबद्ध बनाउँदै जनविश्वास पुनः स्थापित गर्न साझा रूपमा अघि बढ्ने अठोट व्यक्त गरेका छन् । उनले भने, “नेपाली कांग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजान, अझ एकताबद्ध बनाउँदै लैजान र यो मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्न हामी सबै प्रतिबद्ध छौँ । हिजो कांग्रेस पहिलो पार्टी थियो, अहिले केही खस्किएको अवस्था देखिएको छ। त्यसलाई सुधार्दै भोलिका दिनमा अझ ठूलो र बलियो पार्टी बनाउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ ।”
विश्वकर्माले कांग्रेसभित्र रहेका सबै नेता तथा कार्यकर्ताबीच आपसी विश्वास, सहकार्य र एकताको आवश्यकता औँल्याए। पार्टीलाई बलियो बनाउन कुनै एक पक्ष वा समूहको मात्र प्रयास पर्याप्त नहुने भन्दै सबैलाई साझा उद्देश्यका साथ अघि बढ्न उनले आग्रह गरे । संस्थापन इतर पक्षले स्थापना गरेको सम्पर्क कार्यालय आगामी दिनमा नियमित छलफल, संगठनात्मक गतिविधि र राजनीतिक परामर्शका लागि प्रयोग गरिने बताइएको छ । यस कार्यालयमार्फत पार्टीभित्र विचार आदान–प्रदानलाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्य रहेको नेताहरूले बताएका छन् ।
पार्टीको १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार तथा बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका प्रभावकारी बनाउने विषयमा पनि बैठकमा प्रारम्भिक छलफल भएको स्रोतले जनाएको छ । यद्यपि बैठकले कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन । संस्थापन इतर पक्षले सम्पर्क कार्यालय स्थापना गरेसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ। नेताहरूले भने यसलाई पार्टीभित्र विभाजनको संकेतका रूपमा नभई संगठनलाई सशक्त बनाउने साझा अभियानका रूपमा बुझ्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा कांग्रेसलाई पुनः जनताको पहिलो रोजाइको पार्टी बनाउने लक्ष्य नै सम्पूर्ण गतिविधिको मुख्य उद्देश्य हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































