काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्ष बाहिर एक युवकको उपचारका लागि चिकित्सकहरू संघर्ष गरिरहेका छन् भने बाहिर उनका परिवारजन आशा र निराशाबीचको कठिन प्रतीक्षामा छन् ।
केही घण्टाअघि त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका २६ वर्षीय गणेश नेपाली अहिले जीवन र मृत्युबीचको संघर्षमा छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अन्योल र आर्थिक चिन्ताले एकसाथ डेरा जमाएको छ ।
अस्पताल परिसरमा भेटिएका गणेशका दाजु मदन नेपालीका आँखा रसाइरहेका थिए । भाइको अवस्था सम्झँदै उनी पटक–पटक भावुक बन्दै थिए। उनका अनुसार दिउँसो करिब साढे २ बजेतिर प्रहरीले फोन गरेर घटनाबारे जानकारी दिएको थियो । त्यसपछि हतारहतार वीर अस्पताल पुगेका उनीहरूले देखेको दृश्य सहनै नसक्ने खालको थियो ।
‘अस्पताल पुग्दा भाइको शरीरको धेरै भाग जलेको थियो । ऊ निकै पीडामा थियो । बोल्न पनि निकै गाह्रो भइरहेको थियो,’ मदनले भने । मदनका अनुसार अस्पताल ल्याइएपछि गणेशले निकै कठिनसँग केही शब्द मात्रै उच्चारण गरेका थिए । ती शब्द अहिले पनि उनका कानमा गुञ्जिरहेका छन् । ‘उसले मलाई यति मात्रै भन्यो– यो सबै महानगर प्रहरीले गर्दा भएको हो । आमा–बुवालाई राम्रोसँग हेर्नू । त्यसपछि फेरि बोल्न सकेन,’ उनले भावुक हुँदै सुनाए । परिवारका अनुसार त्यसयता गणेशले कुनै कुरा गर्न सकेका छैनन् । चिकित्सकले उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिरहेका छन् ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश करिब सात वर्षअघि राम्रो रोजगारीको खोजीमा काठमाडौं आएका थिए । कृषि विषयमा जुनियर टेक्निसियन (जेटी) अध्ययन गरेका उनले आफ्नो अध्ययनअनुसारको रोजगारी नपाएपछि विभिन्न काम गरे । पछिल्लो करिब साढे दुई वर्षदेखि उनी राइड–सेयरिङ सेवा ‘पठाओ’ चलाएर परिवारको जीविका चलाइरहेका थिए । भक्तपुरको कमलविनायकमा डेरा गरी बस्दै आएका गणेशको कमाइ नै गाउँमा रहेका वृद्ध आमा–बुबा, श्रीमती र दुई वर्षीया छोरीको मुख्य आयस्रोत थियो । परिवारका सदस्यहरूका अनुसार उनी जिम्मेवार, मेहनती र भविष्यप्रति आशावादी व्यक्ति थिए ।
छ वर्षअघि विवाह गरेका गणेशले छोरीको राम्रो शिक्षा र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेका थिए । विदेश गएर केही वर्ष काम गर्ने योजना पनि बनाइरहेका थिए । त्यसकै तयारीस्वरूप राहदानी बनाउन लागिपरेको हुनसक्ने अनुमान परिवारको छ । मदनका अनुसार बिहीबार बिहानसम्म गणेशको व्यवहार पूर्ण रूपमा सामान्य थियो । उनी बिहान दाजुको कोठामा पुगेका थिए । त्यहाँ कोठा सार्ने विषयमा सामान्य कुराकानी भएको थियो । त्यतिबेला उनले कुनै तनाव वा असामान्य व्यवहार देखाएका थिएनन् ।
‘ऊ बिहान मेरै कोठामा आएको थियो। बुहारी पनि सँगै थिइन्। कोठा सार्ने विषयमा कुरा भएको थियो । त्यो बेला उसको अनुहारमा कुनै चिन्ता देखिएको थिएन,’ मदनले भने । केही दिनअघि मात्रै गणेशले आफू चाँडै विदेश जाने तयारीमा रहेको भन्दै दाजुसँग भविष्यका योजना पनि सुनाएका थिए । ‘उसले मलाई भनेको थियो– दाइ, म तपाईंभन्दा पहिले विदेश जान्छु । तपाईंले घर सम्हाल्नू,’ मदन सम्झिन्छन् ।
यिनै कुराहरू सम्झँदा अहिले परिवारलाई अझै विश्वास गर्न गाह्रो भइरहेको छ कि केही घण्टामै यति ठूलो घटना घट्न पुग्यो । परिवारका सदस्यहरू गणेशको स्वभावबारे एउटै कुरा दोहोर्याउँछन्— उनी अत्यन्त शान्त, सहनशील र कम बोल्ने व्यक्ति थिए । मदनका अनुसार गणेशले कहिल्यै अनावश्यक विवाद खोजेनन् । उनी आफ्नो काममै केन्द्रित रहने र अरूसँग सहज व्यवहार गर्ने स्वभावका थिए ।
‘म चाँडै रिसाउने मान्छे हुँ । तर ऊ कहिल्यै रिसाउँदैनथ्यो । कसैसँग झगडा गर्ने, जिद्दी गर्ने वा विवादमा पर्ने उसको बानी थिएन,’ उनले भने । परिवारले आर्थिक अभाव भए पनि ठूलो ऋण वा कुनै गम्भीर पारिवारिक तनाव नभएको दाबी गरेको छ । सामान्य नेपाली परिवारजस्तै दैनिक संघर्ष थियो, तर त्यसकै कारण उनले यस्तो कदम चाल्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । ‘हामी धनी होइनौं, तर यस्तो निर्णय लिनुपर्ने अवस्था पनि थिएन । ऊ निकै सहने मान्छे थियो,’ मदनले भने ।
घटनापछि परिवार अर्को ठूलो समस्यासँग जुधिरहेको छ— उपचार खर्च । वीर अस्पतालमा उपचार भइरहे पनि औषधि र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न परिवारलाई निकै कठिन भइरहेको छ । मदनका अनुसार अस्पतालका एक चिकित्सकले औषधि उधारो मिलाइदिएका छन् । ‘हामी आर्थिक रूपमा निकै कमजोर परिवार हौं । अहिले सबैभन्दा ठूलो चिन्ता भाइको उपचार कसरी गर्ने भन्ने छ,’ उनले भने । परिवारका अनुसार गणेशको कमाइ बन्द भएसँगै गाउँमा रहेका श्रीमती, छोरी र वृद्ध बाबुआमाको भविष्य पनि अनिश्चित बनेको छ ।
परिवार आफैं घटनाको वास्तविक कारणबारे अन्योलमा छ । गणेश राहदानी विभाग किन पुगेका थिए भन्ने विषयमा पनि अझै स्पष्ट जानकारी छैन। उनी आफ्नै राहदानीको कामका लागि गएका थिए वा अरू कसैलाई सहयोग गर्न पुगेका थिए भन्ने पुष्टि हुन सकेको छैन । मदनका अनुसार भाइले महानगर प्रहरीसँग विवाद भएको संकेत मात्रै गरेका थिए । ‘उसले बिना कारण लफडा भयो भन्ने जस्तो कुरा गरेको थियो। तर त्यसपछि के भयो, किन यस्तो अवस्था आयो भन्ने विस्तारमा भन्न पाएन,’ उनले बताए ।
घटनाबारे महानगर प्रहरी र अन्य सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् । घटनाको वास्तविक कारण आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन । गणेशका जेठान विकास नेपालीले आफू ड्युटीमै रहेका बेला सञ्चारमाध्यममार्फत घटनाबारे थाहा पाएको बताए । स्वास्थ्यकर्मीका रूपमा कार्यरत विकास त्यसबेला अस्पतालमा बिरामीको उपचारमा व्यस्त थिए । तर आफ्नै परिवारका सदस्यले आत्मदाह प्रयास गरेको खबर सुनेपछि उनी स्तब्ध बने । ‘न्युज हेरेर मात्रै थाहा पाएँ । त्यसपछि तुरुन्त अस्पताल आएँ,’ उनले भने ।
उनका अनुसार परिवारलाई पनि घटनाको वास्तविक कारणबारे स्पष्ट जानकारी छैन । ‘प्रहरीले बाइक लक गरेको विषयमा कुरा सुनेका छौं। तर वास्तवमा के भयो भन्ने हामीलाई पनि थाहा छैन,’ उनले भने । विकासले पनि गणेशको स्वभाव निकै सरल रहेको बताए । ‘ऊ काम गरेर खाने मान्छे थियो । झगडा गर्ने वा धेरै विवाद गर्ने स्वभाव उसको थिएन,’ उनले भने ।
उनका अनुसार आर्थिक अभाव अधिकांश नेपाली परिवारमा जस्तै उनीहरूको घरमा पनि थियो । ‘अहिले ऋण नभएको घर कहाँ छ र? सबैले कुनै न कुनै जिम्मेवारी बोकेरै जीवन चलाइरहेका छन् । त्यसैले आर्थिक कारण मात्रै यस्तो घटनाको मुख्य कारण होला भन्ने हामीलाई लाग्दैन,’ उनले भने । परिवारका अनुसार गणेश पछिल्लो समय वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका थिए। राम्रो आम्दानी गरेर परिवारको आर्थिक अवस्था सुधार्ने लक्ष्य उनले बनाएका थिए ।
राहदानी बनाउन लागिपरेको पनि त्यही योजनाको एक हिस्सा हुनसक्ने परिवारको अनुमान छ । तर विदेश जाने सपना बोकेका उनी अहिले अस्पतालको आईसीयूमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । वीर अस्पतालमा उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पियुष दाहालका अनुसार गणेशको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ ।
उनका अनुसार अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन पुगेको छ । प्रारम्भिक आकस्मिक उपचारपछि उनलाई सघन उपचार कक्षमा सारिएको छ । ‘उहाँको अवस्था निकै गम्भीर छ। शरीरको ठूलो भाग जलेको छ । आवश्यक सबै आकस्मिक उपचार गरेर आईसीयूमा राखिएको छ,’ डा. दाहालले बताए । चिकित्सकका अनुसार शरीरको धेरै भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम अत्यधिक हुन्छ । त्यसैले प्रारम्भिक २४ देखि ७२ घण्टा उपचारको दृष्टिले सबैभन्दा संवेदनशील समय मानिन्छ । हाल विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर निगरानीमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
उता अस्पताल बाहिर भने परिवारका सदस्यहरूको एउटै कामना छ— गणेश कुनै पनि हालतमा बाँचून्। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहे पनि अहिले उनीहरूका लागि सबैभन्दा ठूलो प्रश्न एउटै छ— जीवनका लागि संघर्ष गरिरहेका गणेशलाई कसरी बचाउने र उपचार खर्च कसरी जुटाउने ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































