सिनामंगल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६८७औँ हप्तामा प्रवेश गरेको छ ।
काठमाडौं महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामंगलबाट बानेश्वर क्याम्पसअघिको बागमती नदी किनारमा ६८७औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फाेहाेर व्यवस्थापन गरिएको छ । सफाइबाट जम्मा भएको नकुहिने दुई मेट्रिक टन फाेहाेर महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिइन् ।

कुहिने फाेहाेर भने नदी किनारमा रोपिएका बिरुवालाई मल हुने गरी गाड्ने व्यवस्था मिलाइएको छ । सफाइमा स्थानीय सरकारका जनप्रतिनिधि, बागमती सफाइ अभियानकर्मी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीसहित गैरीगाउँ बानेश्वर क्याम्पस सानो फलामे पुल क्षेत्रका स्थानीयवासीको पनि सक्रिय सहभागिता थियो ।

सफाइका क्रममा महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले ल्याएको लप्सी र एभोकाडोको बिरुवा बागमती किनारमा रोपिएको छ । बागमती सफाइ अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको उपलक्ष्यमा बागमती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

५ जेठ २०७० देखि बागमती सफाइ महाअभियान सुरु भएको हो । प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा नदी किनारमा अभियानकर्मीले सफाइ गर्दै आएका छन् । यो सफाइ अभियान जाडो, गर्मी, झरी, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि रोकिएको छैन । शनिबार जुनसुकै चाडपर्व परे पनि अभियानकर्मीले बागमती सफाइ भन रोक्दैनन् ।