फिफा विश्वकप २०२६ : मेरिनोको निर्णायक गोलमा बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । मिकेल मेरिनोले लगातार दोस्रो खेलमा ‘सुपर सब’को भूमिका निभाउँदै निर्णायक गोल गरेपछि स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकाको लस एन्जलसमा भएको क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको ३०औँ मिनेटमा फाबियान रुइजले स्पेनलाई अग्रता दिलाएका थिए । पेड्रो पोरो र लामिन यामालको उत्कृष्ट संयोजनपछि डानी ओल्मोले गरेको पहिलो प्रहार बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले बचाए पनि फर्किएको बललाई रुइजले सहजै गोलमा परिणत गरेका थिए ।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा बेल्जियम खेलमा फर्कियो। टिमोथी कास्टान्येको उत्कृष्ट क्रसमा चार्ल्स डे केटेलेरेले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यो गोलसँगै स्पेनले विश्वकप २०२६ मा पहिलोपटक गोल व्यहोरेको हो । विश्वकपमा स्पेनका गोलरक्षकले करिब ६५० मिनेटपछि पहिलो पटक गोल खाएका हुन् ।

दोस्रो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । बेल्जियमले पेनाल्टीको माग गरे पनि रेफ्रीले खेल जारी राखेका थिए । यता स्पेनका मिकेल ओयारजाबालको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ७१औँ मिनेटमा बेल्जियमका पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवा मांसपेशीमा चोट लागेपछि मैदान छाड्न बाध्य भए । उनको स्थानमा आएका वैकल्पिक गोलरक्षक सेन्ने लामेन्सले विश्वकप डेब्यु गरेका थिए । तर निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा उनी निर्णायक गल्ती गर्न पुगे ।

८६औँ मिनेटमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले मैदान छिरेको करिब दुई मिनेटमै खेलको नतिजा बदलिदिए । पाउ कुबार्सीले करिब २५ गज टाढाबाट गरेको शक्तिशाली प्रहारलाई लामेन्सले नियन्त्रणमा लिन नसक्दा फर्किएको बल मेरिनोले नजिकैबाट जाली चुमाए । उनको यो गोल खेलको ८८औँ मिनेटमा आएको थियो, जसले स्पेनलाई २–१ को महत्वपूर्ण जित दिलायो ।

मेरिनो यसअघिको अन्तिम १६ को खेलमा पनि पोर्चुगलविरुद्ध इन्जुरी समयमा विजयी गोल गर्दै स्पेनलाई क्वार्टरफाइनल पुर्‍याउने नायक बनेका थिए । लगातार दोस्रो नकआउट खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर निर्णायक गोल गरेपछि उनी स्पेनका लागि ‘सुपर सब’का रूपमा स्थापित भएका छन् ।

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले यस खेलमा नियमित मिडफिल्डर पेड्रीलाई सुरुआती टोलीमा नराख्ने निर्णय गरेका थिए । उनको स्थानमा खेलाएका फाबियान रुइजले नै पहिलो गोल गर्दै प्रशिक्षकको निर्णय सही सावित गरेका थिए ।

यो जितसँगै सन् २०१० को विश्व विजेता स्पेन विश्वकप इतिहासमा दोस्रो पटक सेमिफाइनलमा पुगेको छ । यसअघि स्पेनले दक्षिण अफ्रिका २०१० मा पहिलो पटक अन्तिम चारमा स्थान बनाउँदै अन्ततः विश्वकपको उपाधि जितेको थियो ।

अब स्पेनले सेमिफाइनलमा युरोपेली च्याम्पियन फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार बिहान भएको क्वार्टरफाइनल खेलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गरेर फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ६०औँ मिनेटमा फ्रान्सले पहिलो गोल गर्‍यो । उक्त समयमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गोल गरेर फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए । भने, त्यसको ६ मिनेटमा फ्रान्सकै उस्मान डेम्बेलेले थप एक गोल गरेर अग्रतालाई दोब्बोर बनाएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

योसँगै मोरोक्कोका लागि फ्रान्स फेरि बाधक बनेको छ । २०२२ को विश्वकपमा पनि फ्रान्स नै मोरोक्को बाधक बनेको थियो । त्यतिबेला फ्रान्ससँग सेमिफाइनलमा २–० गोल अन्तरले पराजित भएर मोरोक्को विश्वकपबाट बाहिरिएको थियो । र, त्यही इतिहास फेरि दोहोरिएको छ ।

दुवै टोलीबीचको बहुप्रतीक्षित सेमिफाइनल खेल जुलाई १४ मा अमेरिकाको डलासमा हुनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।