काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन महिनाभित्रै स्वदेश फर्कने भएका छन् ।
उपचारका लागि हङकङमा रहेका देउवा स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि नेपाल फर्किने तयारीमा रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । भानु देउवाका अनुसार देउवा यही महिनाभित्र नेपाल आउने तयारीमा रहे पनि स्वदेश फर्कने निश्चित मिति भने अझै तय भइसकेको छैन। उनले देउवाको स्वास्थ्य अवस्थाबारे नियमित चिकित्सकीय निगरानी भइरहेको र चिकित्सकको सल्लाहअनुसार फर्कने समय निर्धारण गरिने बताए ।
उपचारका क्रममा विदेशमा रहेका देउवाले मंगलबार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका छन् । उक्त विज्ञप्ति देउवाका स्वकीय सचिव भानु देउवामार्फत सार्वजनिक गरिएको हो। देउवाले सोही विज्ञप्ति आफ्नो आधिकारिक फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन् । विज्ञप्तिमा देउवाले विगत केही महिनादेखि स्वास्थ्य उपचारका कारण विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गरेका छन् । उनले नेपालमा पछिल्ला समय विकसित राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको बताएका छन् ।
देउवाले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उनले भौतिक तथा मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाको मर्मविपरीत हुने उल्लेख गर्दै यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन् । लोकतान्त्रिक समाजमा असहमति, आलोचना र राजनीतिक प्रतिस्पर्धालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । विज्ञप्तिमार्फत देउवाले आफू नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र नागरिक अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । उनले सरकार प्रतिशोधात्मक वा अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरे पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन् । लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनका लागि नेपाली जनता सदैव सचेत रहने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
देउवामाथि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निजी निवासमै पुगेर आक्रमण भएको थियो । उक्त घटनापछि उनको स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि पटक–पटक विदेश गएका छन् । पछिल्लो समय हङकङमा उपचार गराइरहेका देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमै उपचार जारी रहेको बताइएको छ । देउवाको स्वदेश फिर्तीलाई नेपाली कांग्रेसभित्र तथा राष्ट्रिय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पछिल्ला राजनीतिक घटनाक्रम, सत्ता–प्रतिपक्षबीच बढ्दो तनाव तथा समसामयिक विषयमा उनको धारणा सार्वजनिक भएपछि उनको स्वदेश आगमनलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसका नेताहरूले देउवाको स्वास्थ्यमा सुधार आएको भन्दै उनी छिट्टै नेपाल फर्केर राजनीतिक गतिविधिमा सक्रिय हुने विश्वास व्यक्त गरेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































