काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनीहरूको सङ्घ (नास–आईटी) ले नास–आईटी प्रदर्शनी २०२६ आयोजना गर्ने घोषणा गरेको छ ।
आगामी नोभेम्बर २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन मा आयोजना हुने दुई दिने प्रदर्शनीले प्रविधि कम्पनी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता, नवउद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ । आयोजकका अनुसार प्रदर्शनीले नेपालको डिजिटल रूपान्तरण लाई गति दिनुका साथै स्वदेशी सूचना प्रविधि उद्योगको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । प्रविधिमा आधारित नयाँ सोच, उत्पादन र समाधानलाई बजारसँग जोड्ने तथा निजी क्षेत्र, सरकार र लगानीकर्ताबीच सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
गत वर्ष सम्पन्न नास–आईटी प्रदर्शनी २०२५ ले प्राप्त गरेको उत्साहजनक सहभागिता र सफलतालाई आधार बनाउँदै यस वर्षको प्रदर्शनीलाई अझ व्यापक र प्रभावकारी बनाइने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा दुई हजार पाँच सयभन्दा बढी आगन्तुक तथा ३० भन्दा बढी सूचना प्रविधि कम्पनीको सहभागिता रहेको थियो। उद्योगका अग्रणी व्यक्तित्व, सरकारी प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधि, लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, नवउद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिताले यस कार्यक्रमलाई नेपालको व्यवसाय–केन्द्रित प्रमुख सूचना प्रविधि प्रदर्शनीका रूपमा स्थापित गरेको थियो ।
यस वर्षको प्रदर्शनीमा स्वदेशी तथा अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन, सेवा र प्रविधि समाधान प्रदर्शन गर्नेछन् । व्यवसायिक संस्थाले आफ्ना आवश्यकताअनुसार डिजिटल समाधान खोज्ने अवसर पाउनेछन् भने सूचना प्रविधि कम्पनीहरूले सम्भावित ग्राहक, साझेदार र लगानीकर्तासँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण तयार गरिनेछ ।
प्रदर्शनीका क्रममा कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ (दूरस्थ सङ्गणना प्रणाली), डिजिटल रूपान्तरण, स्वचालित प्रविधि तथा अन्य उदीयमान प्रविधि सम्बन्धी विशेषज्ञहरूको सहभागितामा ज्ञानमूलक छलफल, अन्तरक्रिया र प्रस्तुति पनि आयोजना गरिनेछ । ती कार्यक्रममार्फत सूचना प्रविधिको वर्तमान अवस्था, भविष्यका सम्भावना तथा डिजिटल अर्थतन्त्रका नयाँ आयामबारे विस्तृत बहस हुने अपेक्षा गरिएको छ । यस वर्षको प्रदर्शनीका मुख्य आकर्षणमा अग्रणी सूचना प्रविधि कम्पनी तथा नवउद्यमीहरूको प्रविधि प्रदर्शनी, व्यवसायका चुनौती समाधान गर्ने नवीन प्रविधिको प्रदर्शन, सूचना प्रविधि कम्पनी, व्यवसायी, लगानीकर्ता तथा सरोकारवालाबीच सहकार्य र सञ्जाल विस्तारका अवसर तथा नयाँ व्यापारिक सम्भावनाबारे जानकारी आदानप्रदान समावेश छन् ।
आयोजकका अनुसार प्रदर्शनीले नयाँ व्यापारिक साझेदारी विस्तार, लगानी आकर्षण, नवप्रवर्तनको प्रवर्द्धन तथा नेपाली सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ। यसले स्वदेशी प्रविधि समाधानको प्रयोग बढाउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीमा सहभागिता, आगन्तुक दर्ता, विस्तृत कार्यक्रम तालिका, वक्ताको सूची तथा साझेदारीसम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनीहरूको सङ्घ (नास–आईटी) नेपालको सफ्टवेयर तथा सूचना प्रविधि उद्योगको प्रतिनिधित्व गर्ने गैरनाफामूलक संस्था हो । संस्थाले नवप्रवर्तन, उद्यमशीलता, नीतिगत पैरवी, क्षमता अभिवृद्धि तथा सहकार्यका कार्यक्रममार्फत नेपालको सूचना प्रविधि उद्योगलाई दिगो, प्रतिस्पर्धी र विश्व बजारसँग जोड्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।



































