महिलालाई राइड–सेवामा जोड्दै इनड्राइभको पहल, १० प्रशिक्षार्थीलाई प्रमाणपत्र र सम्मान

काठमाडौं । महिलालाई व्यावसायिक राइड–सेवा क्षेत्रमा सहभागी गराई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित इनड्राइभ नेपालले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ ।

तीन महिनासम्म सञ्चालन गरिएको तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा आयोजित विशेष समारोहबीच प्रमाणपत्र, सुरक्षा सामग्री तथा विभिन्न प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । अप्रिल २०२६ देखि सुरु भएको यस कार्यक्रमले विशेषगरी अवसरबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर समुदायका महिलालाई लक्षित गरेको थियो। कार्यक्रममार्फत उनीहरूलाई सुरक्षित रूपमा दुईपाङ्ग्रे सवारी चलाउने सीप, सडक सुरक्षासम्बन्धी ज्ञान, आत्मविश्वास विकास तथा व्यावसायिक चालकका रूपमा काम गर्न आवश्यक आधारभूत तयारी गराइएको इनड्राइभले जनाएको छ ।

तालिम अवधिभर सहभागीहरूले व्यावहारिक ड्राइभिङ अभ्याससँगै ट्राफिक नियम, सडक सुरक्षा, यात्रु सेवाको जिम्मेवारी तथा सुरक्षित सवारी सञ्चालनका विभिन्न पक्षबारे प्रशिक्षण प्राप्त गरेका थिए । साथै, औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने सम्पूर्ण प्रक्रियामा पनि इनड्राइभले आवश्यक सहजीकरण गरेको थियो । महिलाको व्यक्तिगत सुरक्षालाई पनि कार्यक्रमको महत्वपूर्ण अंश बनाइएको थियो। फाइटब्याक नेपालसँगको सहकार्यमा आत्मरक्षा तालिम सञ्चालन गरी सहभागीहरूलाई सम्भावित जोखिमको सामना गर्ने व्यावहारिक सीप प्रदान गरिएको थियो । प्रत्येक सहभागीलाई हेल्मेट, प्राथमिक उपचार सामग्री तथा स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री समावेश गरिएको सुरक्षा किट पनि उपलब्ध गराइएको थियो ।

प्रमाणपत्र वितरण समारोहमा सरकारी निकाय, साझेदार संस्था, सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले तालिम सफलतापूर्वक पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र तथा मायाको चिनो हस्तान्तरण गरिन् ।

कार्यक्रममा सहभागी महिलाहरूको प्रेरणादायी यात्रालाई समेटिएको विशेष भिडियोसमेत प्रदर्शन गरिएको थियो । साथै, सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन तथा अन्य छ जनालाई स्मार्टवाच प्रदान गरिएको आयोजकले जनाएको छ। यी पुरस्कारले उनीहरूको व्यावसायिक यात्राको सुरुआतलाई थप सहज बनाउने विश्वास गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले सडक सुरक्षा सबै चालकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे। उनले सहभागी महिलाहरूलाई सुरक्षित, जिम्मेवार र व्यावसायिक चालकका रूपमा सफल भविष्यको शुभकामना पनि व्यक्त गरे ।

इनड्राइभ साउथ एसियाकी कम्युनिकेसन म्यानेजर शेरिन एर्विना कौरले राइड सेवा प्रयोग गर्ने महिलाको संख्या उल्लेखनीय भए पनि महिला चालकको संख्या अत्यन्त न्यून रहेको बताइन् । उनले प्रशिक्षण, लाइसेन्स र रोजगारीको अवसरलाई एउटै कार्यक्रममार्फत जोड्दा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढाउन सकिने अनुभव नेपालबाट प्राप्त भएको बताइन् । इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुबले सीप विकास मात्र नभई सामाजिक सोच परिवर्तन गर्नु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। महिलालाई आत्मविश्वासी बनाउने, परिवार र समाजमा सकारात्मक सन्देश फैलाउने तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

त्यसैगरी, इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले महिलाको बढ्दो सहभागिताले नेपालको राइड–हेलिङ सेवा अझ समावेशी र सुरक्षित बन्ने विश्वास व्यक्त गरिन् । ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले पनि महिलालाई समान अवसर प्रदान गर्ने यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै यस अभियानसँग जोडिन पाउँदा आफू गौरवान्वित भएको प्रतिक्रिया दिइन् ।

इनड्राइभका अनुसार ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमले महिलालाई नयाँ रोजगारीको अवसर सिर्जना गर्नुका साथै उनीहरूको आत्मनिर्भरता, सुरक्षित आवागमन र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपालमा महिला चालकको सहभागिता बढाउने योजना बनाएको जनाएको छ ।