हिमालमै अस्ताए विश्व कीर्तिमानी निम्स दाइ

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो ।

बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो ।

उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए ।पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।

म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स दाइ) बेलायती सेनामा काम गर्थे । जबसम्म उनी गोरखा सैनिकमा सक्रिय थिए, तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित बनिसकेको थिएन ।
यद्यपि, उनी गोरखा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए । उनको आधिकारिक वेवसाइट निम्सदाइ डटकमका अनुसार उनले कुल १६ वर्ष सेनामा बिताए । त्यसमध्ये उनले ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताए ।

म्याग्दीमा जन्मिएका उनी १८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएका थिए । म्याग्दीमा जन्मिए पनि उनी चितवनमा हुर्किएका थिए । सोहीकारण उनको प्रारम्भिक जीवनमा भने हिमाल जोडिएको थिएन ।

पढाइमा तिक्ष्ण निम्स दाइको बाल्यकालको शोख हिमाल चढ्ने पनि थिएन । उनको अर्कै लक्ष्य थियो, आफ्ना बुबा र दाजुहरू झैं बेलायती सेनामा गोरखा भर्ती हुनु । सोही क्रममा उनले २००३ मा आफ्नो पहिलो सपना पूरा गरेका थिए ।

आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्स दाइ २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बने । यस यूनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन् । यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।

उनले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका हुन् । स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे । यो यात्राले उनलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा ह्वात्तै बढायो ।

सोही यात्राबाट काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे । सोही क्रममा उनी गाइडसँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए र सफल भए ।
त्यो उनको हिम चुचुरातर्फको पहिलो पाइला थियो । सोही आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए । एसबीएसमा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञको भूमिकामा पुगे ।

सन् २०१९ मा ६ महिनाभित्र ८ हजार मिटर अग्ला १४ हिमालचुली चुमेर कीर्तिमान बनाउन नेपाल फर्किएका निम्स दाइ बेलायती सेनाको आकर्षक जागिर छाडेर आएका थिए । निम्स दाइसँग जोडिएका डेभिडले सोही अभियानमा १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल भए । २०२१ मा माउन्ट केटु निम्स दाइ र डेभिड सहित १० नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।

पुर्जाको निधनले नेपालले ठूलो क्षति बेहोरेको छ । उनले नेपाललाई चिनाएका थिए । विश्व रेकर्ड राखेका थिए । उनको निधनमा नेपालका प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरु र आम जनसाधारणले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार फेसबुकमार्फत पुर्जाको निधनले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन् ।

‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,’ प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।’ तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनले बताएका छन् ।

‘विश्वको १२ औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ,’ उनले लेखेका छन् ।

‘निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।

यस्तै, सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।