काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिम्मा कोइराला परिवारलाई दिइएको छ । शनिबार घोषणा भएको राष्ट्रिय भेला आयोजक समितिको जिम्मा डा. शशांक कोइरालाले पाएका हुन् ।
इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । त्यसको तयारीका लागि नेता कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको हो । शनिबार पत्रकार सम्मेलन आयोजना उक्त समूहले औपचारिक रुपमा आयोजक समिति घोषणा गरेको हो ।
मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो । सोही अनुरुप शनिबार आयोजक समिति घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा संयोजकको जिम्मेवारी पाएका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको जिकिर गरे । नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भूमरीमा रुमल्लिएको उल्लेख गर्दै डा. कोइरालाले यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको उनको भनाइ थियो ।
२०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको उनले बताए ।
‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ उनले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’
पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको यस राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ ।
पार्टीका अर्का नेता डा. शेखर कोइरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले डा. शेखरको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यवद्धता जनाएको जानकारी दिए ।
इतर समूहले भेलाको तयारी गरिरहेका बेला संस्थापन पक्षले भने प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण सुरू गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सानेपामा शनिबारदेखि तीन दिने प्रशिक्षण सुरू भएको हो ।
प्रतिष्ठानको १०–११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो । ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने यसअघि नै कांग्रेसले बताएको थियो ।
प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्याससमेत गराइने छ । प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गरिने बताइएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































