काठमाडौँ । बागमती प्रदेश सरकारको नेतृत्व लिएको नेकपा एमालेले अरु दुई जना मन्त्री नियुक्त गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा एमालेका किरण थापा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बनेका छन् । लगत्तै थापाले एमालेका तर्फबाट भरत केसीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेकोमा एमालेकै तर्फबाट ज्ञानबहादुर तामाङलाई बिनाविभागियमन्त्री नियुक्त गरेका छन् ।
नेकपाका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएकोमा अर्को एक जना नेकपाबाटै मन्त्री नियुक्त गरिँदैछ । भागवण्डाका कारण तामाङलाई अहिले कुनै पनि मन्त्रालयको जिम्मेवारी नदिएको हो । तर, नेकपा एमालेबाट मन्त्री बनेका तामाङ सहकारीबाट ऋण लिएर नतिर्ने सञ्चालकमा सूचिकृत छन् । बिनाविभागीय मन्त्री नियुक्त भएका तामाङ समस्याग्रस्त घेदुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडका पूर्वसञ्चालक हुन् । उक्त सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूको सूचीमा तामाङको नाम पहिलो नम्बरमा छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ११ जेठ २०८३ मा सार्वजनिक गरेको ठूला ऋणीहरूको नामावलीको सूचनामा तामाङको नाम उल्लेख छ । यसैगरी, सोही सूचनामा अर्को समस्याग्रस्त सहकारी आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट समेत ऋण लिएर नतिरेको नामावलीमा उनै तामाङको नाम रहेको छ । ऋणी नम्बर ००६०८८१३० नम्बरमा तामाङको नाम उल्लेख छ ।
सहकारीमा बिग मर्जरको नाममा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी गरी पाँचवटा संस्थाबीच एकीकरण भएको थियो । मर्जरपछि बनेको सहकारी संस्थाको नाम ‘नेसनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था’ राखिएको थियो । उक्त संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ आफैँ बनेका थिए । उनै तामाङलाई नेकपा एमालेले बागमती प्रदेश सरकारको मन्त्री बनाएको छ । प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































