काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । लामिछानेको प्रस्तावित चीन भ्रमण यसअघि दुईपटक मिति सारिएपछि अन्ततः हाललाई स्थगित भएको हो ।
उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण तत्कालका लागि नहुने भएको हो । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारी गरिएको थियो । आन्तरिक तयारीलगायतका कारण देखाउँदै उक्त भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको थियो । तर सेप्टेम्बर दोस्रो सातामा पनि लामिछाने चीन नजाने भएका छन् ।
अब चीन जाने कार्यक्रममा लामिछानेको नेतृत्वमा रहेको राजनीतिक टोलीको सट्टा सांसदहरूको टोली मात्रै सहभागी हुने स्रोतले जनाएको छ । लामिछानेको चीन भ्रमणलाई यसअघि रास्वपाले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तार तथा पार्टी–पार्टी सम्बन्ध सुदृढ गर्ने उद्देश्यका रूपमा अघि बढाएको थियो । चीनको निमन्त्रणामा हुन लागेको भनिएको भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी थियो ।
यसअघि सार्वजनिक भएका विवरणअनुसार लामिछानेको चीन भ्रमण पाँचदिने हुने र बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने तयारी थियो । चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता हुने बताइएको थियो । भ्रमणका क्रममा तिब्बतस्थित मानसरोवर जाने कार्यक्रमसमेत तय गरिएको स्रोतले जनाएको थियो । यसअघि मानसरोवर जाने वा नजाने निश्चित नभए पनि सेप्टेम्बरका लागि सारिएको भ्रमणमा मानसरोवरलाई समेत समेट्ने तयारी भएको बताइएको थियो ।
सीसँग भेटको प्रयास
लामिछानेको चीन भ्रमणलाई लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने–नहुने विषय पनि चर्चामा थियो । रास्वपाले चिनियाँ पक्षसँग लामिछाने र राष्ट्रपति सीबीच भेट गराउने प्रयास गरेको थियो । यसअघि चीन भ्रमणको तयारीबारे सार्वजनिक भएका विवरणमा लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च तहका नेतासँग भेट गरेपछि चीनमा पनि त्यस्तै स्तरको राजनीतिक भेटवार्ता गर्न चाहेको उल्लेख थियो ।
तर चीन भ्रमणको पछिल्लो तयारीमा राष्ट्रपति सीसँग भेट हुने सम्भावना नरहेको स्रोतले बताएको थियो । बरु चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको थियो । यसअघि जुलाईको अन्त्यतिर लामिछानेको चीन भ्रमण अगस्टको अन्तिम साता गर्ने तयारीसमेत भएको थियो । चिनियाँ पक्षसँग भ्रमणको समन्वय भइरहेको र उच्चस्तरीय भेटघाटका लागि पहल भइरहेको समाचारहरू सार्वजनिक भएका थिए ।
भारत भ्रमणपछि चीन जाने तयारी
रास्वपा सभापति लामिछानेले यसअघि भारत भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । भाजपाको निमन्त्रणामा भएको उक्त भ्रमणमा रास्वपा र भारतीय जनता पार्टीबीच दलगत सम्बन्ध विस्तार तथा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो ।
भारत भ्रमणपछि चीन भ्रमण गर्ने तयारीलाई रास्वपा नेतृत्वले दुवै छिमेकीसँग समानान्तर रूपमा राजनीतिक तथा कूटनीतिक सम्बन्ध अघि बढाउने प्रयासका रूपमा समेत प्रस्तुत गर्दै आएको थियो । लामिछानेको भारत भ्रमणपछि चीन भ्रमणको तयारी सुरु भएको र चीन भ्रमणमा पनि उच्चस्तरीय राजनीतिक भेटघाट गराउने प्रयास भएको थियो । तर भ्रमणको मिति पटक–पटक सर्दै अहिलेका लागि स्थगित भएको हो ।
अब सांसदहरूको टोली मात्रै जाने
लामिछानेको भ्रमण स्थगित भए पनि चीनसँगको संसदीय तथा राजनीतिक सम्पर्क भने नरोक्ने तयारी रहेको स्रोतको भनाइ छ । त्यसैअनुसार अब रास्वपाका सांसदहरूको टोली चीन जाने भएको हो । सांसदहरूको टोलीको भ्रमणको मिति, नेतृत्व र विस्तृत कार्यक्रम भने सार्वजनिक भइसकेको छैन । लामिछानेको चीन भ्रमण भने अर्को उपयुक्त समयमा गर्ने तयारी रहेको सरकारी स्रोतले जनाएको छ । तर नयाँ मिति भने अहिलेसम्म तय भएको छैन ।
स्वर्णिम वाग्ले भारत जाने तयारीमा
यसैबीच रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन् । वाग्लेको भारत भ्रमणका क्रममा भारतीय उच्च राजनीतिक तथा सरकारी तहमा भेटवार्ता हुने बताइएको छ । यसअघि पनि भारतले अर्थमन्त्री वाग्लेलाई दिल्लीमा स्वागत गर्न चासो देखाएको विवरण सार्वजनिक भएको थियो ।
यसरी रास्वपा नेतृत्वको विदेश भ्रमणको पछिल्लो तालिकामा परिवर्तन देखिएको छ । सभापति लामिछानेको चीन भ्रमण तत्कालका लागि रोकिए पनि सांसदहरूको टोलीको चीन भ्रमण र अर्थमन्त्री वाग्लेको भारत भ्रमण भने अघि बढ्ने भएको छ । लामिछानेले अर्को उपयुक्त समयमा चीन भ्रमण गर्ने सरकारी स्रोतको भनाइ छ । यद्यपि त्यसका लागि नयाँ मिति तय भएपछि मात्रै भ्रमणको विस्तृत कार्यक्रम स्पष्ट हुने बताइएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































