टर्की । नेपालका विभिन्न क्षेत्रमा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले आकस्मिक राहत सहयोग अभियान सञ्चालन गरेको छ ।
नेपालमा प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएपछि विदेशमा रहेका नेपालीलाई राहत अभियानमा जोड्ने उद्देश्यले संघले आर्थिक सहयोग संकलन सुरु गरेको जनाएको हो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडित परिवारका लागि तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत संकलनमा सक्रिय हुन आह्वान गरेको थियो ।
सोही आह्वानअनुसार एनआरएनए टर्कीले विपत्तिमा परेका नेपाली नागरिकको सहयोगका लागि आर्थिक संकलन अभियान अघि बढाएको हो । संघले टर्कीमा रहेका नेपाली समुदाय, सामाजिक संघ–संस्था, व्यवसायी, पेशाकर्मी तथा शुभेच्छुकलाई अभियानमा सहभागी भई सक्दो सहयोग गर्न आग्रह गरेको छ ।
संघद्वारा जारी अपिलमा विपद्को समयमा गरिएको सानो सहयोगले पनि प्रभावित परिवारलाई राहत र आशा प्रदान गर्न सक्ने उल्लेख गर्दै सबै नेपालीलाई मानवीय भावनाका साथ एकजुट हुन आग्रह गरिएको छ ।
राहत रकम संकलनका लागि एनआरएनए टर्कीले आफ्नो आधिकारिक बैंक खाताको विवरणसमेत सार्वजनिक गरेको छ । संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका कार्यमा पारदर्शी रूपमा प्रयोग गरिने संघले जनाएको छ ।
एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले प्राकृतिक विपत्तिको कठिन अवस्थामा विदेशमा रहेका नेपाली समुदायले मातृभूमिका पीडित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउनुपर्ने बताए ।
उनले बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई तत्काल राहत आवश्यक रहेकाले टर्कीमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे ।
नेपालमा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा र पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन एनआरएनए विश्वव्यापी रूपमा परिचालन भइरहेको संघले जनाएको छ । एनआरएनए टर्कीले पनि आफ्नो अभियानमार्फत प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रयासमा सहयोग पुर्याउने जनाएको छ ।


































