काठमाडौँ । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्री ए जलविद्युत् आयोजना क्षेत्रमा रहेको टावर पुनः सञ्चालनमा ल्याएको छ ।
टावर सञ्चालनमा आएपछि आयोजनाको सुरुङमार्गमा जारी उद्धार कार्यमा संलग्न टोलीका लागि सञ्चार सम्पर्क थप सहज भएको छ ।
बाढी तथा विपद्का कारण प्रभावित बनेको उक्त टावर सञ्चालनका लागि नेपाल टेलिकमले आवश्यक जेनेरेटर र इन्धन साइटसम्म पुर्याएको थियो । सडक तथा यातायातको सहज पहुँच नभएको अवस्थामा कम्पनीकै सवारीसाधन प्रयोग गर्नुका साथै करिब एक घण्टाको दूरीसम्म आवश्यक सामग्री मानव ढुवानीमार्फत टावरसम्म पुर्याइएको नेपाल टेलिकमले जनाएको छ ।
सामग्री साइटमा पुर्याएपछि कम्पनीका प्राविधिक टोलीले आवश्यक प्राविधिक परीक्षण तथा मर्मतसम्भार गरी टावरलाई पुनः सञ्चालनमा ल्याएका हुन् । टावरबाट सेवा सुचारु भएपछि जलविद्युत् आयोजना क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्न तथा उद्धार कार्यमा खटिएका टोलीबीच समन्वय गर्न सहज भएको छ ।
यसैगरी, रसुवा जिल्लाकै तुप्चे बीटीएस समेत पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । उक्त साइट सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धनसहित प्राविधिक टोली हेलिकप्टरमार्फत त्रिशूलीबाट तुप्चे पुगेको थियो ।
प्राविधिक टोलीले साइटमा पुगेर आवश्यक व्यवस्थापन तथा परीक्षण गरेपछि तुप्चे बीटीएस सञ्चालनमा ल्याएको हो । उक्त साइट सञ्चालनमा आएपछि त्रिशूली थ्रीबी जलविद्युत् आयोजना क्षेत्र आसपास, बेत्रावती तथा कालिका स्थानका केही क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सेवा पुनः सुचारु भएको छ ।
बाढी तथा पहिरोजस्ता विपद्का कारण सञ्चार पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको अवस्थामा नेपाल टेलिकमले वैकल्पिक उपाय अपनाउँदै सेवा पुनःस्थापनालाई प्राथमिकता दिएको जनाएको छ । विशेषगरी उद्धार, राहत तथा प्रभावित नागरिकसँग सम्पर्क कायम गर्न सञ्चार सेवा महत्वपूर्ण हुने भएकाले प्रभावित क्षेत्रका साइटहरूलाई क्रमशः सञ्चालनमा ल्याउने काम भइरहेको कम्पनीले जनाएको छ ।


































