काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूलीमाथिका विभिन्न पुलमा क्षति पुगेको थियो । पुलसँगै सडक पनि अवरुद्ध हुन पुगेको थियो ।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न चारवटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पृथ्वी राजमार्गबाट धादिङबेसी जोड्ने १५ किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । मास्टारबाट त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसी पुग्ने यो मार्गले धादिङको गल्छी र सिद्धलेक क्षेत्रलाई सेवा दिनेछ ।
त्यस्तै, त्रिशूली नदीपारिको भूभागलाई यातायात सञ्जालसँग जोड्न ४० किलोमिटरको वैकल्पिक मार्ग सञ्चालन गरिएको छ । त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोसीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र जोडिएका छन् । नुवाकोटको देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा ३५ किलोमिटरको वैकल्पिक सडक समेत सञ्चालनमा ल्याइएको छ । पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपांग्रे सवारी सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । यसले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोड्नेछ ।
यसैगरी, त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा आवतजावतका लागि १२ किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनयोग्य बनाइएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेबाट फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे हुँदै बोगटीटारसम्म नुवाकोट खण्डको सडक सञ्चालनयोग्य बनाइएको हो । रसुवा खण्डमा भने मर्मत कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने कामलाई निरन्तरता दिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































