च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर १ सातादेखि बन्द

हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर १ सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।

टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए । उनका अनुसार टावर एक सातादेखि बिग्रिएरको छ, जसबाट बिरामी तथा आपतकालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न समस्या भइरहेको छ । स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सेवा सुचारु गर्न माग गरिरहेका छन् । त्यस टावरले जिल्लाको अदानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा सञ्चार सम्पर्क गराउन योगदान दिँदै आएको छ ।

नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो । उनले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलारमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताए । सूचना अधिकारी बोहोराका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउने छ । जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा आवश्यक पावर नहुँदा दैनिक छदेखि आठ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको बताए ।