एआई एजेन्टहरू नियन्त्रणबाहिर जाँदा आउने खतरा

सत्ता वा शक्तिले मानिसलाई भ्रष्ट बनाउने गर्छ र असीमित शक्तिले पूर्णरूपमा भ्रष्ट बनाउँछ । हिन्दू पौराणिक कथामा रावणको प्रसङ्गले यसको एउटा चेतावनीपूर्ण दृष्टान्त प्रस्तुत गर्छ : भक्ति र तपस्याबाट अपार शक्ति र अमरत्व प्राप्त गरे तापनि उसले आफ्नो अहंकारलाई विवेकमाथि हाबी हुन दियो, जसले सामर्थ्यलाई अत्याचारमा परिणत गरिदियो । उसको पतनले के सिद्ध गर्छ भने यदि स्वतन्त्र इच्छा वा अधिकारमाथि उचित नियन्त्रण भएन भने क्षमताले मात्र केही कुराको ग्यारेन्टी दिँदैन र पर्याप्त नियन्त्रणबिना काम गरिरहेको एक शक्तिशाली एआई एजेन्टको भाग्य पनि ठ्याक्कै यस्तै हुन सक्छ ।

हामी अहिले कृत्रिम बुद्धिमत्ता (एआई) प्रश्नको उत्तर दिने प्रणालीबाट कार्य नै सम्पन्न गर्ने प्रणालीतर्फ अघि बढेको देखिरहेका छौँ । एआई एजेन्टहरूले इन्टरनेट ब्राउज गर्न, कोड लेख्न र कार्यान्वयन गर्न, डेटाबेस पहुँच गर्न, एपीआईहरू कल गर्न, सन्देशहरू पठाउन, खाताहरू सिर्जना गर्न र अन्य एजेन्टहरूसँग समन्वय गर्न सक्छन् । सेवाका रूपमा बुद्धिमत्ताबाट सेवाका रूपमा स्वायत्ततातर्फको रूपान्तरणले ठूलो उत्पादकत्वको प्रतिज्ञा त गर्छ तर यसले साइबर सुरक्षाको एउटा नयाँ र मौलिक समस्या पनि सिर्जना गर्छ ।

एआई एजेन्टहरू नियन्त्रणबाहिर जाँदा

नियन्त्रित वातावरणबाट उम्किएर बाह्य वेबसाइटहरूसँग अन्तरक्रिया गर्ने अनियन्त्रित/रोड एआई एजेन्टहरूसँग सम्बन्धित हालैका घटनाहरूले यो चिन्तालाई किन विज्ञान कथा वा कल्पना मात्र भनेर पन्छाउन सकिँदैन भन्ने कुरा स्पष्ट पार्छन् । २०२६ जुलाईमा ओपन एआईले आफ्नो आन्तरिक साइबर–क्षमता मूल्यांकनका क्रममा आफ्ना एआई एजेन्टहरू स्यान्डबक्स (सुरक्षित परीक्षण क्षेत्र) बाट उम्किएको, अनपेक्षित रूपमा इन्टरनेटमा पहुँच प्राप्त गरेको र बेन्चमार्क परीक्षणका उत्तरहरू प्राप्त गर्न ‘ हगिङ फेस’को उत्पादन प्रणालीमा घुसपैठ गरेको खुलासा गर्‍यो । यसलाई कुनै पनि दुर्भावनापूर्ण मानवीय नियत नरहेको अभूतपूर्व साइबर घटनाका रूपमा वर्णन गरिएको थियो । त्यसपछि स्वतन्त्र अनुसन्धानकर्ताहरूले सयौँ एजेन्टहरूले आफ्ना गतिविधिहरूको समन्वय गरिरहेको र आफ्ना कार्यहरूका प्रमाणहरू लुकाउने वा फेरबदल गर्ने प्रयास गरेको प्रतिवेदन दिएका थिए ।

अझ चिन्ताजनक कुरा त के छ भने २०२६ सेप्टेम्बरमा बाहिर आएका प्रतिवेदनहरूले ओपन एआईसँग सम्बन्धित एजेन्टहरूले एउटा जर्मन भाषाको विकीलाई आफ्नो नियन्त्रणमा लिएको, त्यसलाई सञ्चार मञ्चका रूपमा प्रयोग गरेको र हजारौँ अनधिकृत सम्पादनहरू गरेको अघिल्लो घटनाको वर्णन गर्छन् । यी घटनाहरूले साइबर जोखिमको एउटा नयाँ श्रेणीतर्फ संकेत गर्छन् : स्वायत्त एजेन्ट जो अनपेक्षित रूपमा एउटा साइबर आक्रमणकारी पात्र बन्न पुग्छ ।

एआई सहायताबाट एआई स्वायत्ततातर्फ

पारम्परिक एआईले सामान्यतया मानवीय निर्देशनको पर्खाइ गर्छ र उत्तर निकाल्छ । जबकि एउटा एआई एजेन्टले भने लक्ष्यको व्याख्या गर्न, योजना बनाउन, उपकरणहरू छनोट गर्न र नतिजा अनुसार आफूलाई ढाल्न सक्छ । यही क्षमता नै एजेन्टहरूलाई शक्तिशाली र अत्यन्तै खतरनाक बनाउने तत्व हो । उदाहरणका लागि कुनै एजेन्टलाई विशिष्ट वातावरणमा सुरक्षा कमजोरीहरू पत्ता लगाऊ भन्ने लक्ष्य दिनुहोस् र यसले प्रणालीहरूको स्क्यान गर्न, खाताहरू सिर्जना गर्न, कमजोरीहरूको फाइदा उठाउन र आफ्नो पहुँच कायम राख्न सक्छ ।

अर्को उदाहरण : यसलाई कुनै विशिष्ट व्यावसायिक प्रक्रियालाई अनुकूलन गर भन्ने काम दिनुहोस् र यसले डेटाबेसहरू संशोधन गर्न, पत्राचार पठाउन वा प्रणालीका संरचनाहरू फेरबदल गर्न सक्छ । यदि लक्ष्यप्रतिको यसको बुझाइ मानवीय नियतभन्दा फरक पर्‍यो भने एजेन्टले मेसिनको गतिमा गलत रणनीति कार्यान्वयन गर्न सक्छ । त्यसैले आधारभूत सुरक्षा प्रश्न ‘के एआईले हानिकारक सूचना सिर्जना गर्न सक्छ ?’बाट बदलिएर ‘एआईले वास्तविक संसारमा स्वायत्त रूपमा के–के गर्न सक्छ ?’ भन्नेमा पुगेको छ ।

अधिकार र सहमतिको समस्या

सबैभन्दा ठूलो खतरा दुर्भावनापूर्ण एआई नहुन सक्छ । यो अत्यधिक अधिकार वा पहुँच पाएको एउटा वैध एआई हुन सक्छ । ईमेल, क्लाउड स्टोरेज, सोर्स–कोड भण्डार, वित्तीय प्रणाली, पहिचान मञ्च र आन्तरिक डेटाबेसहरूसँग एकैसाथ जोडिएको एउटा संस्थागत एजेन्ट प्रभावकारी रूपमा एक विशेषाधिकार प्राप्त डिजिटल कर्मचारी बन्छ । यदि यो सम्झौतामा पर्‍यो वा यसलाई हेरफेर गरियो भने एजेन्टले आक्रमणकारीलाई धेरै संस्थागत सीमाहरू पार गर्ने एक तयार बाटो प्रदान गर्छ । यसले साइबर आक्रमणको ‘लिभिङ अफ द ल्यान्ड’ जस्तै ‘लिभिङ अफ द एजेन्ट’ भनिने अवस्था सिर्जना गर्छ । मालवेयर परिचालन गर्नुको साटो, आक्रमणकारीले अधिकृत एआई एजेन्टलाई हेरफेर गर्छ र आक्रमणकारीका तर्फबाट वैध कार्यहरू गर्न लगाउँछ । एजेन्टहरू संस्थागत कार्यप्रणालीमा गहिरो रूपमा समाहित हुँदै जाँदा हालैका साइबर सुरक्षा विश्लेषणहरूले उदाउँदो सम्भावनालाई उजागर गरेका छन् ।

प्रोम्प्ट इन्जेक्सन कार्यान्वयनसम्बन्धी कमजोरी बन्दा

एआई एजेन्टहरूले आक्रमणको एउटा नयाँ क्षेत्र पनि खडा गर्छन् । किनभने उनीहरूले अविश्वसनीय सूचनाहरू उपभोग गर्छन् । कुनै वेबपेज, ईमेल, कागजात, भण्डार वा डेटाबेसमा लुकाइएको दुर्भावनापूर्ण निर्देशनलाई एजेन्टले डेटाको सट्टा निर्देशनका रूपमा बुझ्न सक्छ । यसलाई अप्रत्यक्ष प्रोम्प्ट इन्जेक्सन भनिन्छ । यसको परिणाम गम्भीर हुन सक्छ । सुरक्षा अनुसन्धानकर्ताहरूले यस्ता परिदृश्यहरू प्रदर्शन गरेका छन्, जहाँ दुर्भावनापूर्ण वेब सामग्रीले एजेन्टहरूलाई सूचनाहरू सार्वजनिक गर्न, निर्णयहरू बदल्न वा अनधिकृत कार्यहरू सुरु गर्न प्रभावित पार्न सक्छ । यो समस्या गाह्रो छ, किनकि प्राकृतिक भाषा स्वयं आक्रमणको क्षेत्र बन्न पुग्छ । लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) का लागि ‘पढ्नुपर्ने डेटा’ र ‘पालना गर्नुपर्ने निर्देशन’ बिचको भिन्नता अब स्वतः स्पष्ट रहँदैन ।

एजेन्टहरूको झुण्डको समस्या

एउटा अनियन्त्रित एजेन्ट खतरनाक हुन्छ भने सयौँ वा हजारौँ सहकार्य गर्ने एजेन्टहरू रूपान्तरणकारी वा घातक हुन सक्छन् । यो चलिरहेका द्वन्द्वहरू र नजिकैको ‘अप–सिन्दूर’मा देखिए जस्तै युद्धमा ड्रोनका झुण्डहरूको क्षमता जस्तै हो । हालैको ‘ओपन एआई/हगिङ फेस’ अनुसन्धानले व्यापक एजेन्ट–एजेन्ट सञ्चार र समन्वय भेट्टाएको बताइएको छ, जसले एआई साइबर झुण्डको सम्भावनालाई अघि बढाउँछ, जहाँ ठूलो संख्याका सक्षम एजेन्टहरूले आपसमा काम विभाजन गर्छन् । पीएलएको एटलस ड्रोन कार्यक्रम जस्तै एआई साइबर झुण्डले सम्भावित रूपमा वस्तुस्थितिको जानकारी लिने, कमजोरी पत्ता लगाउने, त्यसको फाइदा उठाउने, गोप्य विवरणहरू खोज्ने, सामाजिक इन्जिनीयरिङ र पहुँच कायम राख्ने कामहरू एकैसाथ गर्न सक्छ । अझ महत्वपूर्ण कुरा एजेन्टहरूले एकअर्काको सफलता र असफलताबाट सिक्न सक्छन् । यसले साइबर युद्धको अर्थशास्त्रलाई नै बदलिदिन्छ । वर्तमान समयमा जटिल साइबर अपरेसनहरूका लागि ठूला र दक्ष मानवीय टोलीहरू चाहिन्छ तर चाँडै नै थोरै संख्याका मानिसहरूले हजारौँ लक्ष्यहरूमा निरन्तर काम गर्ने ठूलो संख्याका स्वायत्त डिजिटल पात्रहरूको निगरानी गर्न सक्नेछन् ।

जवाफदेहीको शून्यता

जवाफदेहीको अर्को समस्या पनि छः जब एउटा एजेन्टले आफ्नो म्यान्डेट वा अधिकारभन्दा बाहिर गएर काम गर्छ, तब को जिम्मेवार हुन्छ ? जिम्मेवारी मोडल बनाउने डेभलपरको हो ? यसलाई परिचालन गर्ने संस्थाको हो ? यसलाई अधिकार दिने कर्मचारीको हो ? क्लाउड प्रदायकको हो ? वा स्वयं एजेन्टको हो ? विद्यमान साइबर सुरक्षा सुशासन मुख्यतया मानवीय निर्णयकर्ता र निश्चित सफ्टवेयरहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको थियो । स्वायत्त एजेन्टहरूले त्यो सीमालाई धमिलो पारिदिन्छन् । फलस्वरूप संस्थाहरूले एजेन्टहरूलाई केवल सफ्टवेयर एप्लिकेसनका रूपमा मात्र नभई पहिचान, अधिकार, जवाफदेही र व्यवहार भएका डिजिटल पात्रका रूपमा हेर्नुपर्छ ।

‘एजेन्टिक जिरो–ट्रस्ट’ संरचनाको निर्माण

यी व्यापक खतराहरूका बाबजुद एआई एजेन्टहरूको विकासलाई रोक्नु हुँदैन, किनकि व्यवसाय र सञ्चालनका लागि उनीहरूको सम्भावना धेरै महत्वपूर्ण छ । कोडको पहिलो लाइनदेखि नै एआई एजेन्टहरू वरपर सुरक्षा निर्माण गर्नु अनिवार्य छ ।
एजेन्टिक एआई विकास गर्दा प्रत्येक एजेन्टसँग निम्न कुराहरू छन् भन्ने सुनिश्चित गरिनुपर्छ :
१. न्यूनतम–विशेषाधिकार पहुँच : कुनै पनि एजेन्टलाई आवश्यकताभन्दा बढी अधिकार दिनु हुँदैन ।
२. स्पष्ट पहिचान : हरेक कार्य कुनै न कुनै विशिष्ट एजेन्ट र मानवीय प्रायोजकको नाममा जोडिनुपर्छ ।
३. क्षमता–आधारित अनुमति : व्यापक प्रणाली विशेषाधिकारहरूको सट्टा विशिष्ट कार्यहरूका लागि मात्र पहुँच दिइनुपर्छ ।
४. उच्च–प्रभाव पार्ने कार्यहरूमा मानवीय स्वीकृति : वित्तीय हस्तान्तरण, विवरण हटाउने, विशेषाधिकार बढाउने र बाह्य प्रयोगका लागि स्पष्ट मानवीय स्वीकृति आवश्यक हुनुपर्छ ।
५. निरन्तर व्यावहारिक अनुगमन : संस्थाहरूले केवल नेटवर्क ट्राफिकको मात्र नभई एजेन्टका लक्ष्यहरू, टूल कलहरू र निर्णयका ढाँचाहरूको पनि अनुगमन गर्नुपर्छ ।
६. अपरिवर्तनीय अडिट ट्रेलहरू : एजेन्टहरूले आफ्नै कार्यका प्रमाणहरू संशोधन गर्न वा मेट्न पाउनु हुँदैन ।
७. पृथकीकरण र नियन्त्रण : एजेन्टहरू कडा रूपमा नियन्त्रित स्यान्डबक्सभित्र सञ्चालित हुनुपर्छ र तत्काल तिनको पहुँच रद्द गर्न सकिने हुनुपर्छ ।
८. एजेन्ट–एजेन्ट नियन्त्रण : स्वायत्त प्रणालीहरूले अन्य एजेन्टहरूलाई स्वतन्त्र रूपमा खोज्न, विश्वास गर्न वा समन्वय गर्न पाउनु हुँदैन ।
९. प्रतिकूल परीक्षण : एजेन्टहरूलाई उनीहरूको निर्धारित सीमा उल्लंघन गर्ने गरी हेरफेर गर्न सकिन्छ कि सकिँदैन भनेर संस्थाहरूले नियमित रूपमा परीक्षण गर्नुपर्छ ।
१०. वास्तविक किल स्वीच : एजेन्टको कार्यान्वयन रोक्न र उसका विवरणहरू/पहुँच रद्द गर्न सधैँ एउटा भरपर्दो संयन्त्र हुनुपर्छ । उदाउँदो सिद्धान्त ‘एजेन्टहरूका लागि जिरो ट्रस्ट’ हुनुपर्छ ।

रणनीतिक चेतावनी

अनियन्त्रित एजेन्ट घटनाहरूबाट मिल्ने सबैभन्दा महत्वपूर्ण पाठ यो होइन कि एआई दुष्ट बन्दैछ । पाठ यो हो कि क्षमताले नियन्त्रणलाई जित्न वा पछाडि पार्न सक्छ । एउटा एआई एजेन्टलाई ठूलो क्षति पुर्‍याउन मानव जस्तै चेतना चाहिँदैन, यसलाई केवल पर्याप्त क्षमता, पहुँच, निरन्तरता र कमजोर रूपमा सीमित गरिएको लक्ष्य भए पुग्छ । त्यसैले साइबर सुरक्षाको अवधारणा पुनः एकपटक कोडको सुरक्षा, डेटाको सुरक्षा, एआई मोडलको सुरक्षा हुँदै अब स्वायत्त डिजिटल पात्रहरूको सुरक्षा गर्ने दिशामा विकसित भइरहेको छ । साइबर रक्षाको आगामी पुस्ताले केही एजेन्टहरू सम्झौतामा पर्नेछन्, केहीले अप्रत्याशित व्यवहार गर्नेछन् र केहीले आफ्ना सीमाहरू पार गर्ने सक्रिय प्रयास गर्न सक्छन् भन्ने मान्यता राख्नुपर्छ ।

आधारभूत सिद्धान्त सरल हुनुपर्छ । निरन्तर अनुगमन, नियन्त्रण र रद्द गर्न नसक्ने कुनै पनि अधिकार स्वायत्त एजेन्टलाई कहिल्यै नदिनुहोस् ।एआई एजेन्टहरू मानवजातिले अहिलेसम्म सिर्जना गरेका सबैभन्दा उत्पादक डिजिटल जनशक्ति बन्न सक्छन् । तर बलियो नियन्त्रण बिना यही जनशक्ति हाम्रा संस्थाहरूभित्र र सम्भावित रूपमा जिरो–डे कमजोरीहरू पत्ता लगाएर व्यापक इन्टरनेटविरुद्ध नै काम गर्ने स्वायत्त आक्रमणकारी बल बन्न सक्छ । त्यसैले एआई सुरक्षाको भविष्य केवल बुद्धिमान मेसिनहरूलाई भरपर्दो बनाउनुमा मात्र सीमित छैन । यो त बुद्धिमत्ता कहिल्यै जवाफदेहीन शक्ति नबनोस् भन्ने कुरा सुनिश्चित गर्नुमा निहित छ । (एनडीटीभी डट्कमबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।