जुम्लामा ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरे

जुम्ला । जुम्लास्थित खाध व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका ८ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् ।

जन्मतर्फ ५५८ र मुत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए । मोटा चामल लिनेमा जन्मतर्फ ५०९, मुत्युतर्फ ४९ जना रहेका छन् । कार्यालयका अनुसार जिरो मसिनो चामल लिनेमा जन्मतर्फ ३११ र मुत्युतर्फ ३५ जना रहेको खाध व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीको भनाइ छ ।जन्म र मृत्यु हुँदा गत आवमा १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण भएको छ । चामल उपलब्ध गराउँदा ज्यालामा भने ४ लाख २८ हजार ५०० खर्च भएको खाध व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीले बताए । उक्त अनुदानको चामल लिनेलाई यतायात खर्च दिने गरेको छ ।

जसमध्ये जन्मतर्फ २२० जनालाइ १ हजार, ३८० जनालाई ५०० र मृत्युतर्फ १९ जनालाई १ हजार र ३५ जनालाई ५०० यतायात खर्च प्रदान गरिएको छ । यसै गरी हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिका स्थानीयले चामलसहित एक हजार यतायात खर्च पाउने गरेका छन् । तातोपानी, गुठीचौर, पाताराासीका र चन्दनाथ नगरपालिका स्थानीयलाई ५००यतायात खर्च दिने व्यवस्था रहेको खाध व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले जनाएको छ ।

सो सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ । वि.सं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क ३० किलो चामल दिने घोषणा गरेको थियो । हाल खाध कम्पनीमा १ हजार ९०० क्विन्टल खाधान्नको चामल मौज्दात रहेको जनाएको छ ।