काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा निकट रहेका नेताहरू धमाधम उनको साथ छाडेर महाधिवेशनमा सहभागी हुने तयारीमा जुटेका छन् ।
लामो समय देउवासँग राजनीतिक सहकार्य गरेका मीन विश्वकर्मादेखि देउवाका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूसम्मको राजनीतिक सक्रियताले कांग्रेसभित्रको समीकरणमा फेरबदल देखिएको छ । कांग्रेस नेता मीन विश्वकर्माले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेको एउटा सन्देशले उनको राजनीतिक ‘क्याम्प’ परिवर्तनलाई स्पष्ट संकेत गरेको छ । उनले लेखेका थिए, ‘विचार मिल्नेसँग कुरा मिल्यो ! कुरा मिल्नेसँग मन पनि मिल्यो ! संवाद सम्पन्न, यात्रा प्रारम्भ !’
लामो समयदेखि देउवा निकट रहेर काम गरेका विश्वकर्मालाई देउवाले मन्त्री, केन्द्रीय सदस्य हुँदै पार्टी प्रचार विभागको संयोजकको जिम्मेवारी दिएका थिए । उनको राजनीतिक यात्राको ठूलो हिस्सा देउवासँगै बितेको थियो । तर, सभापति गगनकुमार थापाले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा कायम राखेको स्पष्ट पारेपछि विश्वकर्मा उत्साहित देखिएका छन् । बुधबार बिहान उनले आफू अब महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन लागेको बताए ।
“महाधिवेशनमा भाग लिन धरान जाँदैछु,” उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने । देउवासँग लामो समय नजिक रहेर काम गरेका पूर्वपदाधिकारी पूर्णबहादुर खड्का भने सर्वोच्च अदालतको अन्तिम फैसलाको प्रतीक्षामा छन् । संस्थापन इतर पक्षले चुनदेवीमा कार्यालय खोल्दा त्यसबेलासम्म सँगै रहेका खड्का अहिले त्यहाँ सक्रिय छैनन् ।
खड्कानिकट एक नेताका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म खड्का आफैँ सक्रिय हुने अवस्थामा छैनन् । यद्यपि उनीसँग निकट रहेका अधिकांश केन्द्रीय सदस्य महाधिवेशनमा सहभागी हुन गइसकेका छन् । कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते हुँदैछ । विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता प्राप्त भइसकेको अवस्थामा १४औँ महाधिवेशनबाट निर्वाचित पुराना नेताहरूको सहभागिताले पार्टीभित्रको नयाँ समीकरण थप स्पष्ट हुने देखिएको छ । १४औँ महाधिवेशनमा निर्वाचित १३ पदाधिकारीमध्ये अहिले देउवासँग एक जना पनि छैनन् । उपसभापति धनराज गुरुङ तटस्थ अवस्थामा छन् । उनी न सानेपामा सक्रिय छन् न चुनदेवीतर्फ । गुरुङ पछिल्लो समय डा. शेखर कोइरालासँग नजिक छन् ।
त्यसबेलाका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिसकेका छन् । कोषाध्यक्ष उमेश श्रेष्ठ पनि विशेष महाधिवेशनदेखि नै सक्रिय थिए । १४औँ महाधिवेशनमा देउवा समूहबाट निर्वाचित सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदम्बे, किशोरसिंह राठौर र महेन्द्र यादवमध्ये अधिकांश अहिले देउवाको साथमा छैनन् । आङदम्बे कांग्रेस संसदीय दलको नेता बनेपछि देउवाको साथमा सक्रिय छैनन् । उपाध्याय र राठौर पनि महाधिवेशनमा सहभागी हुने निष्कर्षमा पुगेका छन् । यादव विशेष महाधिवेशनपछि केन्द्रीय सदस्य बनिसकेका छन् । सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि थापासँगै छन् । उनी विशेष महाधिवेशनमा सक्रिय थिए । जीवन परियार पनि महाधिवेशनमा सहभागी हुने तयारीमा छन् । बद्री पाण्डे भने डा. शेखर कोइरालानिकट रहेर कुनै समूहमा सहभागी नहुने अवस्थामा छन् ।
अर्का सहमहामन्त्री उमाकान्त चौधरी भने अझै अन्तिम निर्णयको चरणमा छन् । उनीनिकट एक नेताका अनुसार उनी पनि महाधिवेशनमा सहभागी हुने निर्णयतर्फ अघि बढिरहेका छन् । १४औँ महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो । त्यतिबेला निर्वाचित तथा मनोनीत सदस्यहरूमध्ये करिब ८३ प्रतिशत देउवा पक्षमा रहेको नेताहरू बताउँछन् । देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका शेखर कोइराला र महामन्त्री गगन थापासँग करिब १७ प्रतिशत मात्र सदस्य रहेको थियो । मीन विश्वकर्माले पनि त्यसबेला देउवासँग ८३ प्रतिशत सदस्य रहेको स्वीकार गरेका छन् ।
खुला, महिला, आदिवासी जनजाति, खसआर्य, दलित, मधेसी, थारु तथा प्रदेशतर्फबाट निर्वाचित सदस्यहरूमा पनि देउवा पक्षकै बहुमत थियो । तर अहिले अवस्था उल्टिएको देउवानिकट नेताहरू नै बताउँछन् । उनीहरूका अनुसार देउवासँग अहिले १४औँ महाधिवेशनबाट निर्वाचित करिब २५ देखि ३० जना केन्द्रीय सदस्य मात्र बाँकी छन् ।
देउवा पक्षबाट निर्वाचित नेता रामहरि खतिवडाले पनि महाधिवेशनमा सहभागी हुने निर्णय गरेका छन् । उनले मुलुकको आवश्यकता एकता भएकाले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आएको बताए । “हामी एक भएर लड्नुपर्ने अवस्था आएको छ,” उनले भने, “बाँकी रहेका साथीहरूलाई पनि महाधिवेशनमा भाग लिने वातावरण बनाउन लागिपरेका छौँ ।” अन्तिम समयसम्म देउवा पक्षमै रहेका भीम पराजुलीले पनि सामाजिक सञ्जालमार्फत गगन थापाको नेतृत्वमा अघि बढ्ने संकेत गरेका छन् । उनले कांग्रेसलाई लोकतन्त्र र जनचाहनाअनुसार अघि बढाउनुपर्ने भन्दै थापाको नेतृत्वमा समर्पित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
देउवाले महाधिवेशनपछि विभिन्न चरणमा गरी ठूलो संख्यामा केन्द्रीय सदस्य मनोनीत गरेका थिए । पहिलो चरणमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालगायतलाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । त्यसपछि थप सदस्य मनोनीत हुँदै कार्यसमिति १६६ सदस्यीय बनेको थियो । त्यसबेला देउवा पक्षको ‘होल्ड’ करिब ८३ प्रतिशत रहेको बताइन्थ्यो । अहिले भने तीमध्ये धेरै नेता देउवाको साथमा छैनन् । प्रकाशमान सिंह र विमलेन्द्र निधि त १४औँ महाधिवेशनमै देउवाको विपक्षमा उभिएका थिए ।
देउवानिकट एक नेताका अनुसार पछिल्लो समय ३७ जना नेताले महाधिवेशनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरूमा शेखर कोइरालानिकट सात जना पनि जोडिँदा ४४ जना १४औँ महाधिवेशनका केन्द्रीय सदस्यको सहभागिता हुने दाबी गरिएको छ । उनका अनुसार देउवा समूहबाट निर्वाचित ३१ जना केन्द्रीय सदस्य यसअघि नै विशेष महाधिवेशनमा सहभागी भइसकेका छन् । पूर्णबहादुर खड्काले भने आफूले विशेष महाधिवेशनलाई अवैध दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेकाले अन्तिम फैसला नआएसम्म आफैँ महाधिवेशनमा सहभागी हुन नसक्ने बताएका छन् । “मैले नै विशेष महाधिवेशन अवैध भनेर मुद्दा हालेको छु । त्यसको छिनोफानो भएको छैन । त्यसैले म महाधिवेशनमा सहभागी हुन सकिनँ । तर मसँग रहेका साथीहरूलाई भाग लिनू भनेको छु,” उनले भने । खड्काले आफू कांग्रेसको रुख र चारतारे झन्डाभन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । सर्वोच्चले मुद्दामा निस्सा दिएको तर रिट जारी नगरेको भन्दै उनले अन्तिम फैसलाको प्रतीक्षा गरिरहेको बताए । यता, देउवासँग लामो समय रहेका नेता मीन विश्वकर्माले थापाले निर्वाचन आयोग र अदालतबाट मान्यता पाइसकेकाले अब सबैलाई समेट्ने जिम्मेवारी उनको भएको बताएका छन् । उनले देउवालाई आगामी १५औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने धारणा राखेका छन् ।
देउवा पाँचपटक प्रधानमन्त्री र दुईपटक कांग्रेस सभापति भइसकेका नेता हुन् । २०५९ सालमा कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका उनले २०६४ सालमा पुनः कांग्रेससँग एकता गरेका थिए । २०४८ देखि २०७९ सम्मका निर्वाचनमा प्रत्यक्षतर्फ निरन्तर निर्वाचित हुँदै आएका देउवाले पछिल्लो निर्वाचनमा भने उम्मेदवारी दिएनन् । देउवानिकट नेता एनपी साउदले भने कांग्रेसको १५औँ महाधिवेशन दुईतिर हुने अवस्था बनेको बताएका छन् । “अधिवेशन दुईतिर हुने पक्का भयो,” उनले भने, “असोज ३ गतेसम्म जसले भाग लिनुहुन्छ, त्यसपछि मात्रै कति जना सहभागी भए भन्ने थाहा हुन्छ ।”
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































