ग्यास आपूर्ति सहज बनाउने नयाँ मन्त्रीको रणनीति

काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो समय खाना पकाउने एलपी ग्यासको अभाव भयो । ग्यासकै अभावबिच तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिनुपर्‍यो ।

ग्यास डिपोहरूमा रित्तो सिलिन्डर बोकेर घण्टौँसम्म लामो लाइनमा बस्नुपर्ने, डिपो–डिपो धाउँदा पनि रित्तो हात फर्किनुपर्ने उपभोक्ताको बाध्यताले सर्वसाधारणको दिनचर्या कष्टकर बनेको छ । यस्तो अवस्थामा नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले बजारमा देखिएको ग्यास अभाव केही दिनभित्रै हटाउने दाबी गर्दै आपूर्ति सहज बनाउने रणनीति बनाउनु सकारात्मक छ ।

काठमाडौँमा ग्यासको सास्ती हुनुमा मुख्यतया अमेरिका–इरान युद्धले विश्व बजारमै ग्यास अभाव हुनु र पूर्वाधारको अवरोध कारक बनेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि तराईका रिफिलिङ सेन्टरहरूबाट काठमाडौँसम्म सिलिन्डर ढुवानी गर्न कठिन भएको छ । राजमार्ग ठप्प हुँदा ट्रकमार्फत सिलिन्डर ल्याएर उपत्यकाको बढ्दो माग धान्न ग्यास उद्योगीहरूलाई सकस भइरहेको छ ।

सडक पूर्वाधारमा आएको व्यवधानले सिंगो आपूर्ति शृंखला प्रभावित हुन पुगेको यथार्थलाई मन्त्री साहले स्वीकार गर्दै द्रूत समाधानको बाटो रोजेका छन् । मन्त्री साहले अघि सारेको रणनीतिअनुसार आगामी २–३ दिनसम्म भारतबाट दैनिक १६० बुलेट ग्यास नेपाल ल्याउने व्यवस्था मिलाइएको छ । कृष्णभीरको सडक अवरोध र तराईका रिफिलिङ सेन्टरको सीमालाई ध्यानमा राख्दै सिधै भारतबाट ठूलो परिमाणमा बुलेट ग्यास आयात बढाएर बजारमा पुर्‍याउने कदम तत्कालका लागि प्रभावकारी देखिन्छ । लगातार ठूलो परिमाणमा ग्यास भित्रिँदा बजारमा सिर्जना भएको कृत्रिम अभाव, त्रास र उपभोक्ताको लामो लाइन स्वतः घट्ने अपेक्षा गर्न सकिन्छ ।

आपूर्ति सहज बनाउने रणनीति कागज र घोषणामा मात्र सीमित हुनु हुँदैन । आयात गरिएको ग्यास रिफिलिङ प्लान्टहरूबाट उपभोक्ताको भान्सासम्म पुग्ने वितरण प्रणाली पारदर्शी र प्रभावकारी हुनु आवश्यक छ । संकटको समयमा ग्यासको कालोबजारी हुने, डिपोहरूले लुकाउने वा पहुँचवालालाई मात्र वितरण गर्ने प्रवृत्ति विगतमा देखिँदै आएको छ । त्यसैले आपूर्ति बढाउनेसँगै वाणिज्य विभाग र स्थानीय प्रशासनमार्फत अनुगमन बढाउनु मन्त्रीको रणनीतिको अनिवार्य अंग बन्नुपर्छ ।

ग्यासका साथै बजारमा देखिएको चिनीको अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई पनि केही दिनमै समाधान गर्ने मन्त्री साहको प्रतिबद्धताले उपभोक्तामा आशा जगाएको छ । चाडबाड नजिकिँदै गर्दा वा राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको अभाव हुनु र मूल्यवृद्धि हुनु नेपालको पुरानै रोग हो । नयाँ मन्त्रीले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनुलाई मुख्य प्राथमिकतामा राखेको जनाएका छन्, जुन प्रशंसनीय छ ।

मन्त्री साहले भारतबाट दैनिक १६० बुलेट ग्यास ल्याएर २–३ दिनमै अभाव हटाउने भनी गरेको दाबी कति सफल हुन्छ ? अबको केही दिनमा बजारको अवस्थाले प्रमाणित गर्नेछ । अल्पकालीन रूपमा आयात बढाएर संकट टारे पनि दीर्घकालीन रूपमा भने कृष्णभीर जस्ता संवेदनशील सडक खण्डको द्रूत मर्मत, काठमाडौँ उपत्यकाभित्रै पर्याप्त ग्यास भण्डारणको व्यवस्था र वैकल्पिक ढुवानी मार्गको तयारी गर्नु सरकारको प्राथमिकता हुनुपर्छ ।

२०८३ असोज १ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।