वासिङ्टन । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ ।
‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब १ शताब्दीमा १ पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकले अनुमान गरेका छन् । नासाका अनुसार सन् २०२४ को वसन्तमा चन्द्रमासँग ठोक्किएको धूमकेतु वा क्षुद्र ग्रहका कारण क्रेटर बनेको हो । तीनदेखि छ तले भवनजत्रो वस्तु ठोक्किँदा बनेको अनुमान गरिएको यो क्रेटर नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ)का अनुसन्धान कर्ता रोबर्ट वाग्नरले नयाँ तस्बिर तथा स्क्यान अध्ययन गर्ने क्रममा पत्ता लगाएका हुन् ।
सन् २००९ देखि चन्द्रमाको अध्ययन गरिरहेको एलआरओले उक्त क्षेत्रलाई ‘अँध्यारो प्रभामण्डलले घेरिएको ठूलो उज्यालो क्षेत्र’ का रूपमा देखाएको थियो । साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययनले म्याकगेचिनलाई सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो नयाँ क्रेटर भनेको छ । वैज्ञानिकका अनुसार हालै बनेको क्रेटरको अध्ययनबाट चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सकिनेछ ।
यसले भविष्यका चालकदलसहितका चन्द्र अभियानको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिका र चीन दुवैले चन्द्रमामा मानव अभियान सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन् । पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नभएकाले चन्द्रमामा अन्तरिक्षबाट आउने धूमकेतु, क्षुद्रग्रह वा अन्य भग्नावशेष उच्च गतिमै सतहमा ठोक्किन्छन् । त्यसैले त्यहाँ यस्ता प्रभावबाट नयाँ क्रेटर बन्ने गर्छन् ।



































