भारत-भुटान ऊर्जा सहकार्य विस्तार गर्ने प्रतिबद्धता

नयाँदिल्ली । भारत र भुटानले ऊर्जा परियोजनाका लागि ४ हजार करोड भारतीय रुपियाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए । दुवै पक्षले भारत–भुटान ऊर्जा साझेदारीमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै १ हजार २० मेगावाटको पुनात्साङछु–२ जलविद्युत् आयोजना उदघाटन र १ हजार २०० मेगावाटको पुनात्साङछु–१ आयोजनाको बाँध निर्माण पुनः सुरु भएको विषयलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

भुटानका विभिन्न जलविधुत आयोजनामा भारतीय कम्पनीको सक्रिय सहभागिताको पनि स्वागत गरिएको छ । भ्रमणका क्रममा मोङ्गरमा ६५ शय्याको मातृ तथा बाल अस्पताल, सामद्रुप जोङ्खर–त्राशिगाङ राजमार्गको जगन्नाथन पुल र ५०० किलोवाटको लुनाना जलविधुत आयोजनालगायत विकास परियोजनाको उदघाटन गरिएको थियो । जयशङ्करले भुटानको विकास लक्ष्य र प्राथमिकतामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोराए । दुवै पक्षले गेलेफु माइन्डफुलनेस सिटी, व्यापार तथा पारवहन, सीमापार सम्पर्क, डिजिटल भुक्तानी र अन्तरिक्ष सहकार्यबारे पनि छलफल गरेका छन् । भारतले गेलेफुमा आवागमन सहज बनाउन असमको हातिसरमा अध्यागमन जाँच चौकी स्थापना गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

गेलेफु–कोक्राझार र समत्से–बनारहाट सीमापार रेलमार्गमा भएको प्रगतिका साथै भुटानी नागरिकलाई भारतमा युपीआईमार्फत डिजिटल भुक्तानी गर्न सकिने सुविधाको पनि स्वागत गरिएको छ । शिक्षातर्फ भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को छात्रवृत्ति अन्तर्गत भुटानी विद्यार्थीको सङख्या ३० बाट ६० तथा नालन्दा विश्वविद्यालय छात्रवृत्तिको सिट ३० बाट ५५ पुर्याउने निर्णय गरिएको छ । भ्रमणका क्रममा जयशङ्करले भुटानका विदेश मामिला तथा विदेश व्यापारमन्त्री डीएन धुङ्ग्याललाई भारत भ्रमणको निमन्त्रणा पनि दिए ।