काठमाडौंमा गोर्खा बक्सिङ च्याम्पीयनसिप सफलतापुर्ण सम्पन्न

काठमाडौं । काठमाडौंको नोभा क्लबमा आयोजित गोर्खा बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा नेपाली तथा भारतीय बक्सरबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको विशेष खेलमा प्यूठानका मिलन शार्कीले प्रभावशाली प्रदर्शन गर्दै भारतको हरियाणाका साहिल चौहानलाई पहिलो राउन्डको २२ सेकेन्डमै नकआउट गरे ।

शार्कीको उक्त प्रदर्शनपछि गोर्खा प्रमोशनले उनलाई रु. ५० हजार बोनस प्रदान गरेको आयोजकले जनाएको छ । मुख्य प्रतियोगिताअन्तर्गत प्यूठानकी पुनम पुन मगरले भारतको राजस्थानकी मेहकप्रीत सिद्धुलाई ६ राउन्डको प्रतिस्पर्धामा पराजित गरिन् ।

त्यस्तै, नेपालको गोरखाका अर्पिल राणा र भारतको शिलोङका शानबोरलाङ मारबानियाङबीचको प्रतिस्पर्धा बहुमत विभाजनको निर्णयमा बराबरीमा टुङ्गिएको थियो ।

सहायक मुख्य प्रतियोगिताअन्तर्गत भारतको हरियाणाका अंकित कुमारले सुदूरपश्चिमका भरत चन्दलाई ६ राउन्डको प्रतिस्पर्धामा सर्वसम्मत निर्णयका आधारमा पराजित गरे ।

अन्य प्रतिस्पर्धामा रामेछापका विवेक मगरले चितवनका आयुष अधिकारीलाई रेफ्रीको निर्णयमा पराजित गरे । हेटौंडाका सोहन राईले गुल्मीका रविन केसीलाई तथा पाँचथरका फुङलाङ काम्बाङले भारतको हरियाणाका लक्ष्य सुनारियालाई पराजित गरे ।

प्रतियोगितामा नेपाली तथा भारतीय बक्सरको सहभागिता रहेको थियो। विभिन्न तौल समूहका खेलमार्फत बक्सरहरूले आफ्नो क्षमता प्रदर्शन गरेका आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापनसँगै आयोजकले नेपाली बक्सिङ खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि थप अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ।