हराउँदै गएको सीप जोगाउन बाँस रोप्दै थारू समुदाय

दाङ । कुनै समय थारू बस्तीका घरआँगन बाँसबाट बनेका सामग्रीले भरिएका हुन्थे । अन्नपात राख्ने छिट्वा, छिट्नी, गैजा र छटरीदेखि बर्खायाममा प्रयोग हुने छट्री, माछा मार्ने डेल्या तथा बस्नका लागि मुडासम्म घरमै बनाइन्थे । ज्येष्ठ पुस्ताले बनाएको सामग्री प्रयोग गर्दै नयाँ पुस्ताले पनि त्यही सीप सिक्थ्यो ।

तर आधुनिक सामग्रीको बढ्दो प्रयोगसँगै थारू बस्तीको त्यो परम्परा विस्तारै हराउँदै गएको छ । प्लास्टिक, फलाम तथा बजारमा सहजै उपलब्ध हुने सामग्रीको प्रयोग बढेपछि बाँसका मौलिक सामग्रीको प्रयोग घटेको छ । सामग्रीसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको बाँसका हस्तकला बनाउने सीप पनि संकटमा पर्न थालेपछि दाङमा त्यसको संरक्षणका लागि नयाँ पहल सुरु गरिएको छ ।

थारू समुदायको पुर्ख्यौली सीप र संस्कृतिलाई जोगाउँदै वातावरण संरक्षण तथा आयआर्जनसँग जोड्ने उद्देश्यले घोराही उपमहानगरपालिका–८, सौरीमा बाँस रोपिएको हो ।

थारू कल्याणकारिणी सभा (थाकस) क्षेत्र नम्बर २ ले सौरीमा करिब ३० कठ्ठाभन्दा बढी क्षेत्रफलमा ३५० वटा बेँत बाँसका बिरुवा रोपेको छ । आरआरएन र डिजिएम नेपालको आर्थिक सहयोग तथा ज्ञानज्योति सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा बाँस रोपिएको क्षेत्र नम्बर २ का थाकस अध्यक्ष अनिल चौधरीले जानकारी दिए ।

बाँस हुर्किएपछि त्यसलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी परम्परागत सामग्री उत्पादन गर्ने योजना रहेको उनले बताए । बेतबाँसबाट मुडा, सोफासेट, पूजा टोकरी, ह्याङ्गर, कुर्सी तथा विभिन्न सजावटका सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

‘‘बाँस रोप्नुको उद्देश्य वातावरण हरियाली बनाउने मात्र होइन, हाम्रा पुर्खाले प्रयोग गर्दै आएको ज्ञान र सीपलाई जोगाउनु पनि हो,’’ चौधरीले भने, ‘‘बाँसबाट सामग्री बनाएर त्यसलाई आम्दानीको माध्यम बनाउने हाम्रो योजना छ ।’’

थारू समुदायका लागि बाँस दैनिक जीवनमा आवश्यक सामग्री निर्माण गर्ने माध्यम मात्र नभएर स्थानीय स्रोतसाधनको उपयोग गर्दै आत्मनिर्भर जीवन बिताउने परम्परागत ज्ञानको महत्वपूर्ण हिस्सा रहेको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताए ।

‘‘पहिले घरमै बाँसका सामग्री बनाइन्थे, अहिले बजारबाट सामान ल्याउने चलन बढेको छ,’’ उनले भने, ‘‘बाँसको संरक्षणसँगै सीप भएका ज्येष्ठ पुस्ताबाट नयाँ पुस्तालाई तालिम दिएर हस्तकला सीपमा जोड्ने काम भइरहेको छ ।’’ बाँस हुर्किएपछि स्थानीयस्तरमै सामग्री उत्पादन गरी बजारसम्म पुर्याउने योजना पनि सभाले अघि सारेको छ । परम्परागत सामग्रीलाई आधुनिक डिजाइन र बजारको मागअनुसार उत्पादन गर्न सके स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ ।

थारू कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरीका अनुसार बाँस खेतीलाई वातावरण संरक्षणसँगै आदिवासी समुदायको सीप र आर्थिक सशक्तीकरणसँग जोड्ने लक्ष्य राखिएको छ । ‘‘बाँस रोपेर पर्यावरण र वातावरण संरक्षणसँगै हस्तकला सीपलाई प्रवर्धन गर्ने हो,’’ उनले भने, ‘‘विशेषगरी आदिवासी समुदायको पुर्ख्यौली सीपको विकास गरी आयआर्जन र आर्थिक सशक्तीकरणमा जोड दिने लक्ष्य छ ।’’

स्थानीयस्तरमा बाँस उत्पादन, परम्परागत सीपको पुस्तान्तरण र आधुनिक बजारअनुकूल सामग्री निर्माणलाई एकसाथ अघि बढाउन सके हराउँदै गएको थारू हस्तकला पुनः व्यावसायिक गतिविधिका रूपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ । सौरीमा रोपिएका बाँसका बिरुवा त्यसै अभियानको सुरुआत बनेका छन् ।