हुम्ला । हुम्लाको माथिल्लो क्षेत्रमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि बजारमा पठाउन किसानले अझै केही समय कुर्नुपर्ने भएको छ ।
उच्च भू–भाग र चिसो मौसमका कारण सदरमुकाम सिमकोटसहित उत्तरी हुम्लामा उत्पादन भएको स्याउ असोज दोस्रो सातापछि मात्रै पाकेर टिप्न योग्य हुने कृषि विकास कार्यालयले जनाएको छ ।
समुद्री सतहबाट दुई हजार ९४५ मिटर उचाइमा रहेको सिमकोटसहित उत्तरी हुम्लाका अधिकांश क्षेत्रमा स्याउ पाक्ने समय अन्य जिल्लाको तुलनामा ढिलो हुने गरेको छ । यस वर्ष पनि मौसम तथा उचाइका कारण स्याउ पाक्न समय लाग्ने कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणी पन्तले बताए ।
उनका अनुसार सदरमुकाम सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका विभिन्न क्षेत्रमा स्याउ खेती हुँदै आएको छ । ती क्षेत्रमा अहिले बोटमा स्याउ लटरम्म फलेका छन् । बाहिरबाट हेर्दा स्याउ टिप्न तयारजस्तो देखिए पनि अझै पूर्ण रूपमा पाकिनसकेकाले किसानले केही समय पर्खनुपर्ने पन्तले बताए ।
“माथिल्लो क्षेत्रमा करिब तीन हजार मिटर उचाइमा स्याउ खेती हुने भएकाले पाक्न समय लाग्छ,” उनले भने, “असोज दोस्रो सातापछि मात्रै स्याउ टिपेर बजारमा पठाउन सकिने अवस्था हुन्छ ।” स्याउ पाक्नुअघि नै टिपेर बजारमा पठाउँदा त्यसको गुणस्तर र स्वादमा असर पर्न सक्ने भएकाले किसानलाई हतार नगर्न कृषि विकास कार्यालयले आग्रह गरेको छ । बोटमा उत्पादन राम्रो भएकाले यस वर्ष किसानले अपेक्षाकृत राम्रो आम्दानी गर्न सक्ने सम्भावना भए पनि स्याउ पूर्ण रूपमा पाकेपछि मात्र टिप्नुपर्ने कार्यालयको भनाइ छ ।
माथिल्लो हुम्लाका किसानका लागि स्याउ प्रमुख नगदेबालीका रूपमा विकास हुँदै गएको छ । स्याउ उत्पादन बढ्दै गएसँगै जिल्लाबाहिरका व्यापारीसमेत खरिदका लागि आउने गरेका छन् । त्यसैले स्याउ पाक्ने समय नजिकिएसँगै किसान र व्यापारीमा समेत चहलपहल बढ्ने गरेको छ ।
तर यस वर्ष भने समयअघि नै स्याउ टिपेर बाहिर पठाउने क्रमलाई नियन्त्रण गर्न निकासीमा समेत केही व्यवस्था गरिएको छ । किसान तथा व्यापारीले हुम्लाबाट स्याउ बाहिर लैजाँदा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको छ । कृषि प्राविधिकको सिफारिसबिना स्याउ निकासी गर्न खोजिएमा सीमा क्षेत्रमा रोक्ने निर्णय गरिएको छ । हुम्ला–बाजुरा सीमाना कवाडी तथा हुम्ला–मुगु सीमाना देउली प्रहरी चौकीले सिफारिसबिना निकासी गर्न लागिएको स्याउ रोक्ने निर्णय भएको कार्यालयले जनाएको छ ।
स्याउको गुणस्तर कायम राख्नुका साथै समयअघि टिपेर बजारमा पठाउने प्रवृत्ति नियन्त्रण गर्न निकासीमा सिफारिसको व्यवस्था गरिएको हो । गाउँपालिकाका कृषि प्राविधिकले स्याउको अवस्था हेरेर निकासीका लागि सिफारिस गर्नेछन् । कृषि विकास कार्यालयका अनुसार असोज दोस्रो सातापछि माथिल्लो हुम्लाको स्याउ क्रमशः बजारमा आउन थाल्नेछ । त्यसपछि स्थानीय बजारसँगै जिल्लाबाहिरका बजारमा समेत स्याउ पठाउन सकिनेछ । अहिले भने किसानहरू बोटमा फलिरहेका स्याउको हेरचाह गर्दै पाक्ने समयको प्रतीक्षामा छन् । उच्च हिमाली क्षेत्रमा उत्पादन हुने भएकाले हुम्लाको स्याउ स्वाद र गुणस्तरका हिसाबले उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । उत्पादन बढ्दै गएपछि स्थानीय किसानको आम्दानीको स्रोतसमेत विस्तार हुँदै गएको कृषि कार्यालयले जनाएको छ ।





































