प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत न्युयोर्कतर्फ गएका हुन् । न्युयोर्क प्रस्थानका क्रममा प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी) प्रयोग गरेनन् । उनी विमानस्थलको नियमित प्रक्रियाबाटै अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा उनले नेपालका प्राथमिकता र अन्तर्राष्ट्रिय चासोका विषय उठाउने तयारी गरेका छन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ । भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता पूरा गरेपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । महासभामा उनको सम्बोधन असोज ८ गते हुनेछ ।

यसपटकको महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका गएको हो । महासभा राष्ट्रसंघका सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूले अन्तर्राष्ट्रिय मुद्दा, क्षेत्रीय चासो तथा आफ्ना देशका प्राथमिकताबारे धारणा राख्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।