सम्भावित विपद् न्युनीकरणका लागि पूर्वतयारीको खाँचो

मनसुनी हावापानीको अन्त्यतिरको समय आउँदा पनि मनसुनीजन्य विपद्को जोखिम अझै समाप्त भइसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आईतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै विशेष बुलेटिन जारी गरेको छ ।

उत्तर अण्डमान सागर आसपास विकसित भएर बंगालको खाडीको मध्य भूभागमा पुगेको न्यूनचापीय प्रणाली थप शक्तिशाली भई ‘डिप डिप्रेसन’मा परिणत भएको र उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम लगायतका प्रदेशहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । यस्तो संवेदनशील अवस्थामा सम्भावित विपद् न्युनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्र र सर्वसाधारण नागरिक सबै तहमा पूर्वतयारीमा जुट्नु अनिवार्य बनेको छ ।

विगतका अनुभवहरूले पनि वर्षा आफैँमा समस्या नभई पूर्वतयारीको कमी, पूर्वसूचना प्रणालीको फितलो कार्यान्वयन र विपद् व्यवस्थापनमा हुने ढिलासुस्तीले गर्दा प्राकृतिक प्रकोपहरू ठूला मानवीय र भौतिक क्षतिमा परिणत हुने गरेको देखिन्छ । भारी वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, गेग्रान बहाव हुने र तराई तथा शहरी क्षेत्रहरूमा डुबानको समस्या आउने प्रबल सम्भावना छ । विशेषगरी रातिको समयमा हुने वर्षा र यात्राले ठूलो जोखिम निम्त्याउने गर्दछ ।

त्यसैले राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विभागले दिएको चेतावनीलाई गम्भीरतापूर्वक लिँदै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नु, अत्यन्त जरुरी कामबाहेक टाढाको यात्रा नगर्नु र विशेषगरी रातिको समयमा यात्रा स्थगित गर्नु नै बुद्धिमत्ता हुनेछ ।

विपद्को पूर्वतयारी चेतावनी जारी गर्ने कुरामा मात्र सीमित हुनु हुँदैन, यसको वास्तविक परीक्षण प्रभावित क्षेत्रमा कार्यान्वयनको स्तरबाट हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले संघीय मन्त्रालयहरू, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सम्बन्धित निकायहरूलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ । अब सरकारका तर्फबाट ३ वटै तहका संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिनुपर्छ । बाढी र पहिरोको उच्च जोखिममा रहेका नदी तटीय बस्ती, भीरपाखा आसपासका गाउँहरू र डुबानग्रस्त शहरी क्षेत्रहरूमा निगरानी बढाउनुका साथै पूर्वसूचना प्रणालीलाई चुस्त बनाइनुपर्छ, जसले संकटको समयमा समयमै मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकियोस् ।

भारी वर्षाका कारण मुख्य राजमार्ग र सडक सञ्जालहरू पहिरो वा गेग्रान बहावले अवरुद्ध हुने जोखिम उच्च हुन्छ । सडक सञ्जाल ठप्प हुँदा राहत र उद्धार कार्य मात्र प्रभावित हुँदैन, नजिकिँदै गरेको चाडपर्वको समयमा यात्रा गरिरहेका हजारौँ यात्रुहरू अलपत्र पर्ने स्थिति सिर्जना हुन्छ । त्यसैले सम्भावित जोखिमयुक्त सडकखण्डहरूमा डोजर, एक्साभेटर, लोडरजस्ता आवश्यक उपकरण र जनशक्तिलाई सतर्क राख्नुपर्छ । उद्धार र राहतका लागि आवश्यक खाद्य सामग्री, औषधि र विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राख्नु स्थानीय र प्रदेश सरकारको प्राथमिक दायित्व हो ।

प्राकृतिक विपद्लाई रोक्न नसकिए पनि सही पूर्वतयारी, सूचनाको प्रभावकारी सम्प्रेषण र संयमित सतर्कताका माध्यमबाट यसबाट हुने क्षतिलाई न्यूनतम विन्दुमा झार्न सकिन्छ । मौसम प्रणाली निरन्तर परिवर्तनशील हुने भएकाले विभाग र प्राधिकरणबाट जारी हुने पछिल्ला बुलेटिन र चेतावनीहरूलाई ध्यानपूर्वक पछ्याउनु सबै नागरिकको कर्तव्य हो । सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन र आमनागरिकबिचको बलियो समन्वय र उच्च सतर्कताले मात्र सम्भावित विपद्बाट हुने जनधनको क्षति जोगाउन सकिन्छ ।

२०८३ असोज ७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।