कुनै पनि रेस्टुरेन्टको टेबुलमा बसिरहेको परिवारलाई हेर्नुभयो भने तपाईंले सामान्यतया उज्यालो प्रकाशको आधारमा सबैभन्दा कान्छो बच्चा पहिचान गर्न सक्नुहुन्छ ।
पानीको बोतलमा अड्याइएको वा खानाका प्रत्येक गाँसको बिचमा अभिभावकले हातमा समातेर देखाइरहेको फोन । कसैले पनि यसको योजना बनाएका थिएनन्, यो त केवल सार्वजनिक ठाउँमा चञ्चल भइरहने ३ वर्षको बच्चालाई सम्हाल्नु अझ गाह्रो हुने भएकाले भएको हो ।
‘इन्डियन एकेडेमी अफ पेडियाट्रिक्स’ले अधिकांश घरपरिवारले पालना गर्नेभन्दा कडा नियम तय गरेको छ । २ वर्षमुनिका बालबालिकाका लागि हजुरबुवा–हजुरआमासँग कहिलेकाहीँ गरिने भिडियो कलबाहेक स्क्रिनको प्रयोग पूर्णरूपमा निषेध छ । २–५ वर्षबिचका बालबालिकाका लागि भने दिनमा १ घण्टाभन्दा बढी समय हुनु अत्यधिक मानिन्छ ।
यसलाई वास्तविकतासँग तुलना गरेर हेरौँ । भारतीय पूर्वप्राथमिक बालबालिकाहरूमाथि गरिएका अध्ययनहरूले औसत दैनिक स्क्रिन समय करिब २.७ घण्टा देखाउँछन्, जुन तोकिएको सीमाभन्दा कैयौँ गुणा बढी हो, त्यो पनि यस्तो उमेरमा जब बच्चाको दिमागले जीवनभरमै सबैभन्दा बढी आधारभूत विकासका काम गरिरहेको हुन्छ ।
यसभन्दा अझ बढी रहस्योद्घाटन गर्ने निष्कर्ष भनेको यसको पछाडिको प्रणाली हो । ५ वटा उत्तरी राज्यहरूका २–५ वर्षका ३ हजार ६०० भन्दा बढी अभिभावकहरूमाझ सन् २०२४ मा गरिएको एउटा सर्वेक्षणले अत्यधिक प्रयोगका बलिया कारकहरू प्रविधिसँग सम्बन्धित नरहेको देखाएको छ । खाना खुवाउने क्रममा हातमा यन्त्र दिइएका बालबालिकाहरूमा अत्यधिक प्रयोगको सम्भावना उल्लेख्य रूपमा बढी पाइयो । त्यसैगरी स्क्रिनले बोलीको विकासमा असर पार्छ भन्ने कुरामा शंका गर्ने अभिभावकका बालबालिकाहरू र कुनै सीमा नै तय नगरेका अभिभावकका बालबालिकाहरूमा पनि यो समस्या बढी पाइयो, उनीहरूले उदासीनताका कारण नभई सीमा तय गर्न आवश्यक छ भन्ने कुरामा नै अन्योल भएकाले सीमा नतोकेका हुन् ।
स्क्रिनले यो लडाइँ जितिरहेको छैन । यसले त केवल अन्य तरिकाले सोच्न कहिल्यै स्पष्ट कारण नदिइएका थकित वयस्कहरूको अनिच्छुक सहमतिका साथ सिर्जना भएको खाली ठाउँलाई भरिरहेको मात्र हो ।
विस्थापित भएको समय
यसलाई केवल स्क्रिनको समस्याका रूपमा चित्रण गर्नु अलि भ्रामक हुन सक्छ । स्क्रिन एउटा भाँडो मात्र हो । उपयोगी प्रश्न त यो हो कि यसले के कुरालाई विस्थापित गर्यो ?
४ वर्षको बच्चाका लागि यसको उत्तर प्रायः जसो ‘खेल’ नै हो । कुनै सङ्गठित, धेरै उपकरण चाहिने र वयस्कहरूको निगरानीमा हुने प्रकारको खेल होइन । त्यस्तो खेल जसमा अन्य बालबालिकाहरू समावेश हुन्छन्, कुनै निर्देशन हुँदैन, एउटा लामो अल्छीलाग्दो मध्यभाग हुन्छ र नियमहरूका बारेमा विवाद हुन्छ । यहीँ नै एउटा बच्चाले सम्झौता गर्न, प्रतीक्षा गर्न, हार्न, शून्यबाट केही निर्माण गर्न र कसैले त्यसलाई ढाल्दा त्यसको बचाउ गर्न सिक्छ । यो विकासबाट लिइएको विश्राम होइन, यो त विकासकै कार्यप्रणाली हो ।
समस्या के छ भने कक्षामा खेलको पक्षमा बोल्ने कोही वकिल हुँदैन । एउटा अभ्यास पुस्तिकाले प्रत्यक्ष परिणाम दिन्छ । एउटा स्क्रिनले प्रत्यक्ष शान्ति दिन्छ । खेलले भने होहल्ला, भद्रगोल, ताछिएका घुँडाहरू दिन्छ र अपराह्नभरि देखाउनका लागि केही पनि दिँदैन ।
यो कुरा उल्लेख गर्नु सान्दर्भिक हुनेछ कि यसै महिनाको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘राष्ट्रिय शिक्षक पुरस्कार’ विजेताहरूसँग भेटघाट गर्नुभयो र संवादको अधिकांश समय स्क्रिन टाइममा बिताउनुभयो ।
उहाँले भन्नुभयो कि यो एउटा कुलतको रूपमा कडा भइसकेको छ । यसको समाधान यन्त्र जफत गर्नु नभई विकल्प दिनु हो – खेलकुद, शारीरिक खेल र रचनात्मक काम । उहाँले शिक्षकहरूलाई अबेर रातिसम्म हुने यन्त्रको प्रयोगबारे अभिभावकहरूसँग कुरा गर्न आग्रह गर्नुभयो । प्रत्येक विद्यार्थीभित्रको बाल्यकाललाई जीवित राख्न भन्नुभयो, जुन उहाँका अनुसार शिक्षकहरूले स्वयं आफूभित्रको बाल्यकाललाई जीवित राखेमा मात्र सम्भव थियो । शिक्षक दिवसका दिन सरकार प्रमुखले खेलको पक्षमा बहस गर्नु कति असामान्य कुरा हो भनेर ध्यान दिनु योग्छ छ ।
एउटा निमन्त्रणा, न कि उपदेश
एकस्टेप फाउन्डेसनद्वारा २०२३ सेप्टेम्बरमा सुरु गरिएको ‘बचपन मनाओ’ अभियान खेलको यसै आवश्यकतालाई सम्बोधन गर्ने एउटा पहल हो । यो ७७ भन्दा बढी साझेदार संस्थाहरूबाट सुरु भएको थियो, त्यो संख्या अहिले १०० पार गरिसकेको छ । यसको विषय बच्चाको जीवनको पहिलो ८ वर्ष वा पहिलो ४०० हप्ता हो, ताकि यो समय सीमा सानो छ र पुनः फर्किएर आउँदैन भन्ने कुरा बुझाउन सकियोस् ।
‘बचपन मनाओ’लाई अलग बनाउने कुरा यसको प्रस्तुत गर्ने शैली होः असफल अभिभावकहरूलाई दिइएको चेतावनीको सट्टा प्रत्येक हेरचाह गर्ने वयस्कलाई दिइएको एउटा निमन्त्रणा । त्यो छनोट रणनीतिक रूपमा सही छ । माथि उल्लिखित अनुसन्धान सर्वेक्षणको प्रमाणले इच्छाशक्तिको कमी नभई विश्वासको कमीलाई औँल्याउँछ र अभिभावकहरूलाई लज्जित बनाउने अभियानहरूले अपराह्नको समय परिवर्तन गर्नुको साटो केवल ग्लानि उत्पन्न गराउँछन् ।
एनडीटीभीसँगको साझेदारीले ‘बचपन मनाओ’को पहुँचलाई विस्तार गर्यो । २०२५ जनवरीमा अहम्दाबादको अन्तर्राष्ट्रिय चङ्गा महोत्सवमा ४–८ वर्षबिचका बालबालिकाहरूले दिगो सामग्रीहरू कल्पना, कागज र धागोबाट चङ्गा बनाउन एक दिन बिताए, जुन लगभग सम्पूर्ण तर्कको सानो रूप थियो । बाल्यकाल मनाउन (बचपन मनाओ) मुम्बई र बङ्गलोरमा आयोजित समानान्तर भेलाहरूले परिवार, शिक्षक र आगनवाडी कार्यकर्ताहरूलाई आकर्षित गर्यो ।
कम स्क्रिन, बढी खेल
‘बचपन मनाओ’ अभियानको पहिलो वर्षको संकल्पले यसलाई ४ शब्दमा राख्योः कम स्क्रिन, बढी खेल । कुनै प्रतिबन्ध होइन, कुनै सीमा होइन, स्नायु प्रणालीको काँटछाँटबारे कुनै उपदेश होइन … यात्राको एउटा दिशा, जसले वयस्कहरूलाई स्क्रिन समयको साटो बाहिरी वातावरण र वास्तविक संसारसँग साट्न आग्रह गर्दछ ।
यसको नम्रता नै मुख्य कुरा हो । अधिकांश अभिभावकहरू स्क्रिनको प्रयोगको बचाउ गरिरहेका छैनन्, उनीहरू यसको ठाउँमा के राख्ने भन्नेमा अन्योलमा छन् । शून्यको साटो कम माग्ने संकल्प यस्तो हो, जसलाई उनीहरूले बच्चा रिसाएको र बेलुकीको खाना ढिलो भएको बुधबारको साँझमा पनि पालना गर्न सक्छन् । ९ महिनाको अवधिमा यो संकल्प ७५ हजार पार गर्यो ।
दोस्रो वर्षले यसको दायरालाई अझ फराकिलो बनाउँछ । ‘बचपन इज ग्रेट’को ब्यानरमुनि, यसले वयस्कहरूलाई बाल्यकाललाई फरक रूपमा हेर्न र बाल्यकालका ८ आश्चर्यहरूलाई अङ्गीकार गर्न आग्रह गर्दछ, जसमा खेल, रचनात्मकता, प्रकृति, कथाहरू र शान्त समय समावेश छन् । अन्तिम र सबैभन्दा महत्वपूर्ण शान्त समय ।
केवल स्क्रिन–विरोधी अभियानले शान्त समयलाई कहिल्यै समावेश गर्ने थिएन । दिक्क लाग्नु, नभरिएको समयः यी कुनै बढी उत्पादक कुराले भर्नका लागि पर्खिरहेका खाली ठाउँहरू होइनन् । यी त त्यस्ता ठाउँहरू हुन्, जहाँ बच्चाले आफूसँगै एक्लै बस्न सिक्छ, जुन सीप कुनै पनि यन्त्रले कसैलाई कहिल्यै सिकाएको छैन ।
यसका लागि के चाहिन्छ
संकल्प पत्रमा हस्ताक्षर गर्न सजिलो छ र बिर्सन पनि सजिलो छ । यसको मूल्य यसले फरक रूपान्तरण गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर गर्दछ । त्यसैले प्रश्नहरू साना र घरायसी छन् । के कुनै घरपरिवारले दिनको एउटा खाना टेबुलमा यन्त्र नराखीकन खान सक्छ, जुन अभ्यास अत्यधिक प्रयोगसँग सबैभन्दा बलियो रूपमा जोडिएको छ ? के कुनै वयस्कले कुनै उपाय नखोजिकन अल्छी लागिरहेको बच्चासँग २० मिनेट बस्न सक्छ ? के कुनै छिमेकले साँझ ६ बजेपछि बाहिर बालबालिकाहरूले हल्ला गर्दै खेलिरहेको आवाज जोगाउन योग्य आवाज हो भन्ने निर्णय गर्न सक्छ ?
यीमध्ये कसैका लागि पनि नीतिको आवश्यकता पर्दैन । यसका लागि धेरै संख्याका वयस्कहरूले धेरथोर एकै पटक स्क्रिनले ओगटेको समय अरू नै केही कुराको हो भन्ने निर्णय गर्नु आवश्यक छ । के हामी त्यो १ घण्टा फिर्ता पाउनका लागि त्याग गर्न तयार छौँ ? (एनडीटीभीबाट भावानुवाद)



































