विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई आफ्नो तयारी क्याम्पका लागि छनोट गरेको छ ।
छनोट हुनेमा अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कबिराज खत्री र नेपाल यू–१६ टोलीका खेलाडी सुयोग भट्टराई रहेका छन् । उनीहरूले विराटनगर किङ्सको तयारी क्याम्पमा सहभागी हुँदै टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।
विराटनगर किङ्सको तयारी क्याम्प आगामी सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमी, गोरखपुरमा सञ्चालन हुनेछ । क्याम्पमा पाँचै खेलाडीले टोलीका अन्य सदस्यसँग नियमित प्रशिक्षण तथा अभ्यासमा सहभागी हुनेछन् ।
प्रशिक्षणका क्रममा खेलाडीहरूको खेल प्रदर्शन, क्षमता, अनुशासन र सम्भावनालाई प्रशिक्षकहरूले नजिकबाट मूल्यांकन गर्ने विराटनगर किङ्सले जनाएको छ । यही मूल्यांकनका आधारमा पाँच खेलाडीमध्ये एक जनालाई विराटनगर किङ्सको ‘आइकोनिक प्लेयर’ का रूपमा छनोट गरिनेछ ।
विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ कार्यक्रमलाई कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभा पहिचान गर्ने माध्यमका रूपमा अघि बढाएको जनाएको छ । कार्यक्रममार्फत ग्रासरुट तहमा रहेका प्रतिभाशाली खेलाडीलाई व्यावसायिक क्रिकेटको वातावरणमा पुर्याउने लक्ष्य राखिएको टोलीको भनाइ छ ।
‘ड्रिम टु प्ले’ प्रतियोगिताबाट छनोट भएर तयारी क्याम्पसम्म पुग्ने अवसरले युवा खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरणमा आफूलाई प्रमाणित गर्ने मौका दिएको विराटनगर किङ्सले जनाएको छ ।
क्याम्पमा सहभागी खेलाडीमध्ये एक जनाले विराटनगर किङ्सको ‘आइकोनिक प्लेयर’का रूपमा स्थान बनाउने भएकाले पाँचै खेलाडीका लागि यो अवसर आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण चरणका रूपमा रहनेछ ।



































