सङ्खुवासभामा अविरल वर्षा, पहिरोको जोखिमसँगै सडक आवागमन प्रभावित

सङ्खुवासभा । लगातार भइरहेको वर्षाका कारण सङ्खुवासभाको जनजीवन प्रभावित भएको छ । वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ भने सडक आवागमनसमेत प्रभावित भएको छ ।

मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर पहिरोको जोखिममा परेपछि उनको पाँच जनाको परिवार विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

यस्तै, लगातारको वर्षाका कारण चैनपुर नगरपालिका–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुर सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोका कारण सडकमा आवागमन प्रभावित भएपछि यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ ।

सिलिचोङ गाउँपालिका–२ स्थित वाला माध्यमिक विद्यालयको भवनसमेत पहिरोको जोखिममा परेको छ । विद्यालय भवन आसपास पहिरोको जोखिम बढेपछि थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्लाका प्रमुख नदी तथा खोलामा जलसतह बढिरहेको जनाएको छ । अरुण, वरुण, हेवा र सभा खोलाको पानीको सतह निरन्तर बढिरहेकाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

लगातारको वर्षाका कारण जिल्लाका अन्य स्थानमा समेत पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित जोखिमको निगरानी गरिरहेको जनाएको छ । प्रशासनले वर्षाको समयमा अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।