पेनाल्टीमा भोटेलाई हराउँदै मेन्टेन एफसीले जित्यो हिमालय फुटसल गोल्ड कप

काठमाडौं । तेस्रो संस्करणको ‘हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ।

राजधानीमा सम्पन्न प्रतियोगिताको फाइनलमा भोटे एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै मेन्टेनले उपाधि हात पारेको हो ।

निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। रोमाञ्चक पेनाल्टीमा मेन्टेन एफसीले बाजी मार्दै उपाधिसहित रनिङ सिल्ड, ट्रफी, मेडल र नगद तीन लाख रुपैयाँ प्राप्त गर्‍यो ।

उपविजेता बनेको भोटे एफसीले ट्रफी तथा मेडलसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा यार्सा एफसी धरानले फेयर प्ले अवार्ड हात पार्दै नगद २० हजार रुपैयाँ पुरस्कार पायो ।

व्यक्तिगत विधातर्फ मेन्टेन एफसीका प्रशिक्षक प्रदीप सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए। सोही टोलीका आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए ।

यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा भोटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक बने। भोटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड पाए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ४४ टोलीले सहभागिता जनाएका थिए। नकआउट प्रणालीमा सञ्चालन गरिएको खुला प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिरका ६ टोलीको समेत सहभागिता रहेको आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहमा विजेता तथा उत्कृष्ट खेलाडीलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी अनिता बस्नेत र हिराकुमारी भुजेललगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।