काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कालीगण्डकी करिडोरका विभिन्न खण्ड अवरुद्ध हुँदा नेपाल–चीनबीचको स्थलमार्ग हुँदै हुने व्यापार प्रभावित भएको छ ।
रसुवागढी–केरुङ नाका लामो समयदेखि बन्द रहेको अवस्थामा वैकल्पिक रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका जोड्ने सडकसमेत बाढीपहिरोका कारण अवरुद्ध भएपछि सीमापार व्यापार थप प्रभावित भएको हो । वर्षासँगै आएको बाढी, पहिरो र डुबानले कालीगण्डकी करिडोरअन्तर्गतका सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएको छ । कतिपय स्थानमा सडकमा पहिरो खसेको छ भने कतिपय ठाउँमा नदी तथा खोलाको बहाव बढेर सडक डुबानमा परेका छन् । पुलका पहुँच मार्ग बग्दा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।
भदौ १० गते आएको बाढीका कारण रसुवागढी–केरुङ नाकाको सडक पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । बाढीले नेपाल र चीन दुवैतर्फका भन्सार कार्यालयसमेत बगाएपछि उक्त नाका नियमित सञ्चालनमा आउन सकेको छैन । रसुवागढी नाका बन्द भएपछि नेपाल–चीनबीचको स्थल व्यापारका लागि मुस्ताङको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको थियो । तर पछिल्लो समय परेको अविरल वर्षाले कोरला नाका जोड्ने कालीगण्डकी करिडोरमा समेत अवरोध सिर्जना भएपछि व्यापारिक आवागमन पुनः प्रभावित भएको हो ।
तातोपानी नाका पनि चिनियाँ पक्षबाट अनिश्चितकालका लागि बन्द रहेकाले नेपाल–चीन स्थल व्यापारका लागि विकल्प सीमित बनेको व्यवसायीहरूले बताएका छन्। रसुवागढी र तातोपानी दुवै नाकामा अवरोध भइरहेका बेला कोरला नाका सञ्चालनका लागि महत्त्वपूर्ण मानिएको कालीगण्डकी करिडोरमै क्षति पुगेपछि चीनसँगको व्यापारिक आवागमनमा थप समस्या देखिएको हो ।सडक विभागका अनुसार कालीगण्डकी करिडोरको विभिन्न खण्डमा बाढी, पहिरो र डुबानका कारण यातायात अवरुद्ध भएको छ। करिडोरअन्तर्गत केराबारी, फर्से र ६ सय क्षेत्रमा पहिरो गएको छ। लामाखेत, फर्से र मिलनचोक क्षेत्र डुबानमा परेका छन्। वर्षाका कारण सडकको अवस्था ठाउँ–ठाउँमा बिग्रिएपछि मालवाहक तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । बेनी–गलेश्वर खण्डमा पनि बाढीपहिरोले सडक अवरुद्ध पारेको छ । गलेश्वर, रघुगंगा गाउँपालिका–२ को रघुगंगा पुलनजिक तथा रघुगंगा बैसरीका विभिन्न स्थानमा पहिरो गएको छ । बैसरीको १, २, ३ नम्बर क्षेत्रदेखि सिरानसम्म पहिरो खसेको छ । त्यसपछि महावीर, भिरकाटे, नौनीबगर, जलजले, रुप्से, काभ्रेभिर र घाँसा क्षेत्रमा समेत पहिरो गएको छ ।
मुस्ताङतर्फ जोमसोम, कागबेनी तथा कागबेनीदेखि छुसाङसम्मका विभिन्न स्थानमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको थियो । तातोपानीको भुरुङ खोलानजिकै बस्ती डुबानमा परेको छ। टुकुचे र याकर खोलाको बहाव बढेको छ । समर खोला, झोङ खोला, दामोदरकुण्ड, लोघेकर र लोमान्थाङ क्षेत्रमा पनि पहिरो गएको छ । बाढीपहिरोका कारण सडकसँगै पुल र कल्भर्टमा समेत क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर तथा वडा नम्बर २ भुरुङ–तातोपानी र नौलीबगर जोड्ने पुलको एप्रोच रोड बगेको छ । यस्तै, मार्फामा रहेको कल्भर्टसमेत बाढीले बगाएको छ। पुलको पहुँच मार्ग नै बगेपछि सवारीसाधन सञ्चालनका लागि तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको छ ।
कालीगण्डकी करिडोर आयोजनाका योजना प्रमुख तेजश्वी शर्माका अनुसार मुस्ताङ खण्डमा अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ । जोमसोम, कागबेनी तथा कागबेनीदेखि छुसाङसम्मको पहिरो सफा गर्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए। बाँकी स्थानमा पनि पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ । शर्माका अनुसार मुस्ताङ खण्डमा सोमबार साँझसम्म सडक क्लियर गरेर यातायात सञ्चालन गर्ने योजना छ। म्याग्दी खण्डमा भने पुलको एप्रोच रोड नै बगेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्नेछ । अन्य अवरुद्ध खण्डमा सोमबार साँझदेखि मंगलबार बिहानसम्म सडक खुलाउने लक्ष्य राखिएको उनले बताए । ‘मुस्ताङ खण्डमा सोमबार साँझसम्म क्लियर गर्ने योजना छ । म्याग्दी खण्डमा पुलको एप्रोच बगाएकाले समय लाग्छ। अन्य खण्डमा भोलि बेलुकादेखि पर्सि बिहानसम्म क्लियर हुन्छ,’ शर्माले भने ।
उनका अनुसार पुलको एप्रोच बगेको स्थानमा नदीको बहाव कम भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थायी संरचना निर्माण गर्न समय लाग्ने भए पनि व्यापारिक तथा सर्वसाधारणको आवागमनलाई सहज बनाउन अस्थायी विकल्प खोजिने आयोजनाको भनाइ छ । कालीगण्डकी करिडोर अवरुद्ध भएपछि नेपाल–चीन स्थलगत व्यापारका लागि तत्काल अर्को प्रभावकारी विकल्प नरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए । उनका अनुसार रसुवागढी नाका सञ्चालनमा नरहेको र तातोपानी नाका पनि बन्द रहेका कारण कोरला नाका अहिले नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण वैकल्पिक मार्ग बनेको थियो । तर कोरला नाका जोड्ने सडकमा नै समस्या आएपछि व्यापारी तथा व्यवसायी थप समस्यामा परेको कार्कीले बताए। उनका अनुसार भौगोलिक अवस्थाका कारण कोरला नाका वर्षभरि समान रूपमा सञ्चालन गर्न सहज छैन ।
‘भौगोलिक रूपमा पनि कोरला नाका व्यापारिक दृष्टिकोणले उपयुक्त हैन। गर्मीयाममा तुलनात्मक रूपमा व्यापारिक गतिविधि सञ्चालन गर्न सकिए पनि जाडोयाममा कठिन हुन्छ। अहिले पानी पर्दा कोरलामा गाडीहरू हिउँमा आधा फसेका छन्,’ कार्कीले भने । उनले रसुवागढी–केरुङ नाका अवरुद्ध रहेको अवस्थामा नेपाल–चीन व्यापारलाई निरन्तरता दिन तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए । उनका अनुसार प्रमुख व्यापारिक नाकाहरूमा एकैपटक अवरोध हुँदा आयात–निर्यातमा प्रत्यक्ष असर पर्ने भएकाले वैकल्पिक नाका र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्न आवश्यक छ । रसुवागढी–केरुङ नाका अवरुद्ध भएपछि पछिल्लो समय कोरला नाकाबाट व्यापारिक गतिविधि बढेको थियो । चीनसँगको व्यापारका लागि मुस्ताङ हुँदै हुने आवागमनमा वृद्धि भइरहेका बेला कालीगण्डकी करिडोरमै बाढीपहिरो आएपछि त्यसको प्रत्यक्ष असर व्यापारमा परेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म मुस्ताङको कोरला नाकाबाट ८ अर्ब ३३ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको व्यापार भएको छ। उक्त अवधिमा ८ अर्ब ३३ करोड २१ लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ३४ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ।
यसले कोरला नाका पछिल्लो समय नेपाल–चीन व्यापारका लागि बढ्दो महत्त्वको मार्ग बनेको देखाउँछ । तर सडक पूर्वाधार कमजोर हुनु र वर्षायाममा बाढीपहिरोको जोखिम उच्च रहनुले नाकाको नियमित व्यापारिक सम्भावनामा चुनौती थपिएको व्यवसायीहरूको भनाइ छ । साउन महिनामा मात्रै मुस्ताङ भन्सारबाट ५८ करोड ८७ लाख ८६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । रसुवागढी नाका बन्द भएपछि कोरला हुँदै व्यापारिक गतिविधि बढिरहेका बेला सडक अवरुद्ध हुँदा व्यापारीले ढुवानी तथा सामान आपूर्तिमा समस्या भोग्नुपरेको छ । कालीगण्डकी करिडोर नेपाल–चीन सीमासम्मको व्यापारिक आवागमनका लागि मात्र नभई मध्यपहाडी क्षेत्रलाई उत्तर–दक्षिण जोड्ने महत्त्वपूर्ण सडक पूर्वाधारसमेत हो । यस करिडोरमा पर्ने म्याग्दी र मुस्ताङका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण बारम्बार सडक अवरुद्ध हुँदा स्थानीय आवागमनदेखि सीमापार व्यापारसम्म प्रभावित हुने गरेको छ । अहिले सडक विभाग र कालीगण्डकी करिडोर आयोजनाले अवरुद्ध सडक खुलाउने कामलाई प्राथमिकता दिएको छ । तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने र पुल तथा एप्रोच रोडमा अस्थायी विकल्प तयार गर्ने तयारी छ । सडक सञ्चालनमा आएपछि कोरला नाकाबाट हुने व्यापारिक आवागमन केही सहज हुने अपेक्षा गरिएको छ ।
तर रसुवागढी–केरुङ र तातोपानी नाकाको अवस्था सामान्य नभएसम्म नेपाल–चीन व्यापारमा देखिएको जोखिम पूर्ण रूपमा हट्ने अवस्था नरहेको व्यवसायीहरूको भनाइ छ । एउटै वैकल्पिक मार्गमा अत्यधिक निर्भर हुनुपर्दा प्राकृतिक विपत्तिले सडक अवरुद्ध गर्नेबित्तिकै व्यापारिक आपूर्ति शृंखला प्रभावित हुने अवस्था देखिएको छ । त्यसैले नाका सञ्चालनसँगै सीमा जोड्ने सडक र पुलको दीर्घकालीन पूर्वाधारलाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































