आगलागीको घाउ निको नहुँदै फेरि बल्झियो दोभान बजार

ताप्लेजुङ । ताप्लेजुङको प्रमुख व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा छ वर्ष नपुग्दै दोस्रोपटक ठूलो आगलागी हुँदा स्थानीयवासी फेरि विस्थापित भएका छन् ।

यसअघि २०७७ सालमा भएको भीषण आगलागीबाट ठूलो क्षति व्यहोरेका स्थानीयले व्यापार–व्यवसायलाई पुरानै लयमा फर्काउँदै गर्दा बिहीबारको आगलागीले उनीहरूलाई पुनः संकटमा पारेको हो ।

बिहीबार भएको आगलागीमा आठ परिवारका १० घर र १७ वटा पसल जलेका छन् । प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त र छरछिमेकीको आश्रयमा छन् । आगलागीबाट विस्थापित केही परिवार भने जलेका सामान र भग्नावशेष हटाउन तथा बस्न मिल्ने संरचना सफा गर्न व्यस्त छन्। सम्भव भएका संरचनाको मर्मत तथा पुनर्निर्माणको तयारीसमेत सुरु गरिएको पीडितहरूले बताएका छन् ।

छोराहरूसँग बस्दै आएका ८६ वर्षीय स्यामलाल खरेलका लागि पछिल्लो आगलागीले पुरानो पीडा फेरि बल्झाएको छ । “पटकपटकको आगलागीले ठूलो पीडा दियो। व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो,” उनले भने, “अब बसौँ कसरी बस्ने, जाऔँ कता जाने ?”

अर्का पीडित चन्द्र पौडेल पनि छोटो अवधिमै दुईपटक आगलागीको चपेटामा परेको बताउँछन् । पहिलो आगलागीपछि विस्तारै व्यवसाय सम्हाल्दै गर्दा फेरि आगलागीले सबै गुमाउनुपरेको उनको भनाइ छ । “छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो । यसो तङ्ग्रिँदै गर्दा फेरि आगलागीले सखाप पार्‍यो,” उनले भने, “अब सरकारले दिने सामान्य राहतले मात्र समस्या समाधान हुँदैन । बिनाब्याज ऋणको व्यवस्था गरिदिए पुनःस्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्न सक्छौँ ।”

राहतभन्दा पुनःस्थापनाको माग

आगलागीपछि जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटीलगायत सरकारी तथा गैरसरकारी निकायले पीडितलाई राहत रकम र विभिन्न सामग्री उपलब्ध गराएका छन् । तर पीडितहरूले तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र व्यवसाय पुनःसञ्चालनका लागि विशेष सहयोग आवश्यक रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताए । नदी तथा खोलाको किनारमा बजार रहेकाले बैंकहरूले लगानी जोखिमपूर्ण ठान्ने गरेको उनको भनाइ छ ।

“दोभान बजारवासीलाई बैंकबाट ऋण पाउन पनि सहज छैन,” काफ्लेले भने, “नदी तथा खोला किनारमा बसेको बजार भएकाले लगानी डुब्ने जोखिम देखाएर बैंकहरूले ऋण दिन आनाकानी गर्ने गरेका छन् ।” यसै कारण आगलागीबाट क्षति व्यहोरेका व्यवसायीलाई पुनःव्यवसाय सञ्चालन गर्न सरकारी सहुलियत तथा बिनाब्याज ऋण आवश्यक रहेको स्थानीयको माग छ ।

छ वर्षअघि ४९ घर जलेका थिए

दोभान बजारमा यसअघि २०७७ साल फागुनमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा ४९ घर जलेका थिए भने करिब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। त्यसबेला सर्वस्व गुमाएका कतिपय व्यवसायी र परिवारले पछिल्ला वर्षमा व्यवसाय पुनःस्थापित गर्दै लगेका थिए । तर छ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै पारिवारिक र सामाजिक रूपमा समेत प्रभावित भएका छन् । एउटै बजारमा पटकपटक आगलागी भएपछि स्थानीयले दीर्घकालीन रूपमा आगलागीको जोखिम न्यूनीकरण गर्ने योजना आवश्यक रहेको बताएका छन् ।

करिब ८० घर तथा पसल रहेको बजार

सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० घर तथा पसल रहेको उद्योग वाणिज्य सङ्घ दोभानले जनाएको छ । बिहीबार दिउँसो लागेको आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल परिचालन गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीपछि पीडितहरू भग्नावशेष हटाउने र घर तथा पसलका बाँकी संरचना सुरक्षित गर्ने काममा जुटेका छन्। शनिबार दिउँसो मौसममा केही सुधार आएपछि सफाइ तथा व्यवस्थापनको काम अघि बढाइएको पौडेलले बताए ।

दीर्घकालीन सुरक्षा योजनाको माग

स्थानीयका अनुसार दोभान बजारमा पटकपटक आगलागी भइरहेकाले अब राहत वितरणमा मात्र सीमित नभई जोखिम न्यूनीकरणको दीर्घकालीन योजना आवश्यक छ । पछिल्लो समय विद्युत् उपकरण तथा विद्युतीय जडानका कारण आगलागीका घटना हुने गरेको भन्दै घर तथा पसलमा विद्युत् प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने स्थानीय गुरु पौडेलले बताए। विद्युत् प्रणालीको नियमित परीक्षण, आगलागी नियन्त्रणका उपकरणको पर्याप्त व्यवस्था र विपद्का बेला तत्काल परिचालन गर्न सकिने स्रोतसाधनको उपलब्धतामा पनि ध्यान दिनुपर्ने स्थानीयको माग छ । पटकपटक आगलागीबाट क्षति व्यहोर्दै आएको दोभान बजारका लागि पछिल्लो घटना फेरि एउटा ठूलो आर्थिक धक्का बनेको छ। पीडितहरूका लागि तत्काल राहतसँगै घर, पसल र व्यवसाय पुनःस्थापना गर्ने ठोस योजना अघि बढाउनुपर्ने स्थानीयको जोड छ ।