चितवन । हजारौँ मानिस सहभागी हुने राजनीतिक दलका महाधिवेशन, महासमिति बैठक तथा विभिन्न संघसंस्थाका ठूला कार्यक्रममा भोजन व्यवस्थापन गर्नु सहज काम होइन ।
सहभागीको संख्या अनुमान गर्नेदेखि खाद्य सामग्री, जनशक्ति, भान्सा, भाँडाकुँडा र समय व्यवस्थापनसम्मका चुनौती पार गर्दै समयमै सबैलाई खाना खुवाउनु ठूलो जिम्मेवारी हुन्छ ।
यही चुनौतीपूर्ण कामलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका छन् चितवनका जनप्रकाश चापागाईं। पछिल्लो समय दुई ठूला राजनीतिक दलका चार राष्ट्रियस्तरका कार्यक्रममा भोजन व्यवस्थापनको जिम्मेवारी सम्हालेपछि उनी ठूलो संख्यामा भोजन व्यवस्थापन गर्ने व्यवसायीका रूपमा परिचित भएका छन् ।
चापागाईंले नेपाली कांग्रेसका दुईवटा महाधिवेशन, एक महासमिति बैठक तथा यसै वर्ष चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताका लागि भोजन व्यवस्थापन गरेका छन् ।
विदेशमा सिकेको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले व्यवसाय सुरु गरेका चापागाईं अहिले काठमाडौँ, बुटवल र भरतपुरमा होटल तथा पार्टी प्यालेस सञ्चालनमा संलग्न छन् । काठमाडौँमा अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड र गोधुली फुडल्याण्डलगायतका व्यवसायमा उनी आबद्ध छन् ।
चितवनको शिवनगरमा वि.सं २०२४ मा जन्मिएका चापागाईंले बालकुमारी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेपछि काठमाडौँ पुगेका थिए। काठमाडौँमा चार वर्ष सरकारी सेवामा काम गरेपछि उनी विसं २०५३ मा बेलायत पुगे । बेलायतमा करिब नौ वर्ष रहँदा उनी होटल तथा क्याटरिङ व्यवसायमा संलग्न भए। त्यहाँ काम गर्दा ठूलो संख्यामा ग्राहकलाई सेवा दिने प्रणाली, भोजन व्यवस्थापन, भान्सा सञ्चालन तथा क्याटरिङ व्यवसायका विभिन्न पक्षबारे व्यावहारिक अनुभव हासिल गरेको उनी बताउँछन् ।
विसं २०६२ तिर नेपाल फर्किएपछि उनले आफूले विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्ने सोच बनाए। सुरुमा अस्पताल तथा घरजग्गामा लगानी गरेका उनले विदेशबाट फर्किएका पाँच जना साथीसँग मिलेर पार्टी प्यालेस सञ्चालन सुरु गरे ।
“काठमाडौँमा पहिलो दियालो फुडल्याण्ड र त्यसपछि अनुपम फुडल्याण्ड सञ्चालनमा ल्यायौँ,” चापागाईंले भने । यी व्यवसायले राम्रो गति लिएपछि उनले बुटवलमा दुईवटा तथा भरतपुरमा एउटा दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएका छन्। काठमाडौँको बालाजुमा अर्को दियालो फुडल्याण्ड र सामाखुसीमा गोधुली फुडल्याण्ड पनि सञ्चालनमा रहेको उनले बताए ।
स्थानीयलाई समेत साझेदार बनाएर विभिन्न ठाउँमा व्यवसाय विस्तार गरेका चापागाईंले पछिल्लो समय आफ्नो अनुभवलाई ठूलो संख्यामा भोजन व्यवस्थापन गर्ने काममा केन्द्रित गरेका छन् । एउटै कार्यक्रममा एक छाकमा पाँच हजार जनासम्मलाई खाना खुवाइसकेका चापागाईं १० हजार जनासम्मको भोजन व्यवस्थापन गर्न सकिने बताउँछन्। उनका अनुसार ठूलो संख्यामा मानिसलाई खाना खुवाउन अत्याधुनिक वा असाधारण पूर्वाधारभन्दा व्यवस्थापन क्षमता महत्वपूर्ण हुन्छ ।
“भान्सा व्यवस्थापन विस्तार गर्ने, पर्याप्त जनशक्ति र खाद्य सामग्री जुटाउने तथा आवश्यक भाँडाकुँडाको व्यवस्था गर्न सकियो भने ठूलो संख्यामा भोजन व्यवस्थापन गर्न सकिन्छ,” उनले भने । अनुपम फुडल्याण्डमा मात्रै दैनिक तीन हजार पाँच सय जनासम्मका लागि भोजन व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। आवश्यकता पर्दा आफ्ना अन्य पार्टी प्यालेसमा रहेका सामग्री तथा जनशक्ति परिचालन गरेर ठूलो कार्यक्रमको भोजन व्यवस्थापन गर्न सकिने उनले बताए ।
ठूला कार्यक्रममा सबैभन्दा चुनौतीपूर्ण पक्ष भने सहभागीको संख्या अनुमान गर्नु रहेको चापागाईंको अनुभव छ । आयोजकले अनुमान गरेको भन्दा धेरै मानिस सहभागी हुँदा खाना व्यवस्थापनमा तत्काल दबाब पर्ने गरेको उनले बताए । “मानिस बढेपछि समस्या हुन्छ । निश्चित मानिस आउँछन् भनेर तयारी गरिएको हुन्छ, तर त्यसमा थप मानिस आएपछि समस्या हुन्छ,” उनले भने, “त्यस्तो अवस्थामा छिटो समाधान खोज्नुपर्छ। त्यसका लागि हामीले पहिले नै ब्याकअपको तयारी गरेका हुन्छौँ ।”
बेलायतमा हासिल गरेको अनुभवलाई नेपालमा व्यवसाय विस्तारसँग जोड्दै आएका चापागाईं अहिले ठूलो संख्यामा मानिसलाई व्यवस्थित रूपमा भोजन गराउने क्याटरिङ व्यवसायलाई आफ्नो मुख्य पहिचान बनाउँदै छन् । विदेशमा सिकेको सीप, व्यवस्थापन अनुभव र स्वदेशमै केही गर्ने इच्छाले उनको व्यवसायलाई विस्तारको बाटोमा अघि बढाएको छ ।





































