बीपी राजमार्ग पुनर्निर्माणसँगै बाढीपहिरोको चुनौती

लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड बन्द हुँदै आएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको टोली सडक सञ्चालनका लागि सक्रिय जनाउँदै आएको छ ।

अहिलेको अवरोधले बीपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ । २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

देशको पूर्वी तथा मध्यक्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बीपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो । यसले राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ । त्यसैले राजमार्गमा हुने अवरोधको प्रत्यक्ष असर यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार व्यवसायमा पर्ने गरेको छ ।

विक्रम संवत् २०८१ सालको बाढीपछि सडक बगेका स्थानमा बनाइएका अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिए पनि यात्रा सहज हुन सकेको छैन । वर्षायाममा हिलो र घाम लाग्दा धुलो हुने डाइभर्सनमा सवारी चलाउन कठिन हुने गरेको चालकहरू बताउँछन् । बीपी रामार्गमा नियमित सवारीसाधन चलाउँदै आएका चालक विनोद दाहालका अनुसार डाइभर्सनको अवस्थाका कारण दैनिक सास्ती भोग्नुपरेको छ ।
‘सडक बगेको ठाउँमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा हिलो र धुलोको सास्ती त छँदैछ, बाटोको बेहाल अवस्थाका कारण साना गाडीले जताततै भूइँ छुन्छन् । गाडी त बिग्रिन्छ नै, यात्रुको ज्यानको जोखिम मोलेर यात्रा गराउनुपरेको छ,’ उनले भने ।

राजमार्गसँग प्रत्यक्ष जोडिएका स्थानीय बासिन्दाको समस्या पनि उस्तै छ । रोशी गाउँपालिका–११ कालढुंगाका स्थानीय बुद्ध लामाका अनुसार बाढीले बस्ती र सडक दुवैमा ठूलो क्षति पुर्‍याएको थियो । ‘हाम्रो घरआँगन भएर जाने यो सडक नै हाम्रो जीवनको मुख्य आर्थिक आधार थियो । तर बाढीले बस्ती र सडक दुवै तहसनहस बनायो । अहिले अस्थायी डाइभर्सनबाट जसरी तसरी यातायात चले पनि धुलो, हिलो र फेरि पानी पर्दा आउने बाढीको त्रास कायमै छ,’ उनले भने । उनले यस क्षेत्रको स्थायी समाधानका लागि छिटो र बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

स्थानीय सरकारको तर्फबाट पनि पुनर्निर्माणलाई तात्कालिक मर्मतमा मात्र सीमित नराखी दीर्घकालीन र सुरक्षित बनाउनुपर्ने माग उठाइएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपद्बाट पाठ सिकेर आगामी दिनमा जोखिम कम हुने गरी संरचना बनाउनुपर्ने बताए । ‘बीपी राजमार्ग पुनर्निर्माणमा राज्यले तत्काल स्रोत सुनिश्चित गर्न आवश्यक छ । राजमार्ग निर्माण गर्दा नागरिकसँगै स्थानीय सरकारको समेत राय लिएर प्राकृतिक विपद् थेग्ने गरी बलियो संरचना बनाउनैपर्छ । २ वर्षमा सडक पुनर्निर्माण गरिसक्ने दाबी गरेको सरकारले हाम्रा सुझावहरूलाई राम्ररी मनन गरी प्राविधिक अध्ययनका साथ काम अघि बढाओस् भन्ने स्थानीयको अपेक्षा छ,’ उनले भने ।

उनले कतिपय अति जोखिमयुक्त स्थानमा सडकको ट्रयाक नै परिवर्तन गरेर सुरक्षित भूभागबाट लैजानुपर्ने विकल्पसमेत अघि सारेका छन् । नागरिकको सास्ती र स्थानीय तहको चासोबिच सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख ई. सुमन योगेशका अनुसार बर्खेखोलादेखि भकुन्डेबेँसीसम्मको २५.११ किलोमिटर सडक खण्डमा विभिन्न ४ प्याकेजमा निर्माण भइरहेको छ ।

प्याकेज–१ अन्तर्गत बर्खेखोला–पिप्ले ३.२२ किलोमिटर सडक खण्ड जाइका अनुदान सहयोगमा निर्माण भइरहेको छ । यसका लागि जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग सम्झौता भएको छ । कन्सल्टेन्टका रूपमा निप्पोन कोइको लिमिटेड तथा याहियो इन्जिनीयरिङ कर्पोरेसन जेभी रहेको छ । सडक खण्ड २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्याकेज–२ अन्तर्गत पिप्ले–डालाबेसी २.३० किलोमिटर सडक खण्ड निर्माणका लागि उमा एन्ड कम्पनी/भण्डारी अमर ज्योति जेभीसँग ठेक्का सम्झौता भएको छ । लागत अनुमान १ अर्ब २१ करोड रहेकोमा ६८ करोड ८० लाख ४० हजारमा सम्झौता भएको सडक खण्डमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

प्याकेज–३ अन्तर्गत डालाबेसी–चारसयबेसी ८.५० किलोमिटर सडक खण्डको निर्माण खानी/ए वान/कमल जित जेभी काठमाडौँले गरिरहेको छ । लागत अनुमान २ अर्ब ४५ करोड रहेकोमा १ अर्ब ४२ करोडमा सम्झौता भएको सडक खण्डमा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै प्याकेज–४ अन्तर्गत चारसयबेसी–भकुन्डेबेसी ११.०९ किलोमिटर सडक खण्डको निर्माण लामा/नव कान्तिपुर जेभी काठमाडौँले गरिरहेको छ । लागत अनुमान २ अर्ब ५२ करोड रहेकोमा १ अर्ब ३३ करोडमा सम्झौता भएको सडक खण्डमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको डिभिजन प्रमुख योगेशले जानकारी दिए ।

सडकलाई बाढी तथा पहिरोबाट सुरक्षित बनाउन विभिन्न प्राविधिक संरचनाको निर्माणलाई समेत प्राथमिकता दिइएको छ । डिभिजन प्रमुख योगेशका अनुसार उच्च जोखिम रहेका क्षेत्रमा आरसीसी क्यान्टिलिभर वाल निर्माण भइरहेको छ । कूल ६ हजार ३०० मिटर लम्बाइको संरचनामध्ये हालसम्म ३ हजार ७६० मिटर सम्पन्न भएको छ । माइक्रोपाइलतर्फ १ हजार १४५ मिटरको काम शतप्रतिशत सम्पन्न भएको छ । प्लम कंक्रिटतर्फ ५ हजार ७४० मिटरमध्ये २ हजार १८९ मिटर अर्थात् ३८ प्रतिशत र स्टोन मसनरीतर्फ ५ हजार ९०० मिटरमध्ये ४ हजार १०५ मिटर अर्थात् ७० प्रतिशत काम सम्पन्न भएको छ ।

वर्षायाममा यातायात अवरुद्ध हुन नदिन जोखिमयुक्त स्थानमा न्यूनतम ४.५ मिटर उचाइसम्म आरसीसी क्यान्टिलिभर वाल निर्माण गरी ग्राभेल स्तरको सडक तयार गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्भावित आकस्मिक अवरोध तथा पहिरो तत्काल पन्छाउन चौकीडाँडा, कटुन्जेबेसी, चारसयबेसी, गिम्तिबेसी–नार्के, चिउरीबास–बोक्सिकुना, कालढुङ्गा, डालाबेसी र सुक्खा पहिरो लगायतका स्थानमा १३ एक्स्काभेटर, ६ लोडर र ११ टिपर तयारी अवस्थामा राखिएको छ । स्थायी पुनर्निर्माण अघि बढिरहँदा अस्थायी डाइभर्सनमा भने बाढीको जोखिम कायमै छ । २०८२ असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीले अघिल्लो वर्ष निर्माण गरिएका डाइभर्सनमा पुनः क्षति पुर्‍याएको थियो । चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएका डाइभर्सनमा सडक डिभिजन कार्यालय भक्तपुरले करिब १० करोड खर्च गरेको थियो तर रोशी खोलाको बाढीले ती डाइभर्सनका विभिन्न भाग बगाएपछि राजमार्ग पुनः प्रभावित भएको थियो ।

यस वर्ष असोज ९ गतेदेखि परेको लगातारको वर्षाले पनि बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक तथा डाइभर्सनमा कटान गरेको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेसी, वडा नम्बर ८ गिम्दीबेसी र वडा नम्बर ११ माम्तीमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ ।
चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेपछि काठमाडौँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको छ । अहिले खुर्कोट–भकुण्डेबेँसी खण्ड बन्द हुनु पनि यही वर्षात्, पहिरो तथा नदी कटानबाट सिर्जित अवरोधकै परिणाम हो ।

बीपी राजमार्गको पुनर्निर्माणमा तत्काल सडक सञ्चालनमा राख्नु र दीर्घकालीन रूपमा सुरक्षित बनाउनु दुवै चुनौती छन् । बाढीले भत्काएको सडक पुरानै अवस्थामा फर्काउने मात्र नभई भविष्यमा हुने विपद्को जोखिमसमेत घटाउने गरी संरचना निर्माण गर्नुपर्ने अवस्था छ । २०८१ सालको बाढीले सडकमा ठूलो क्षति पुर्‍यायो, २०८२ सालको बाढीले अस्थायी डाइभर्सनको सीमितता देखायो र २०८३ सालको वर्षाले पुनः डाइभर्सन कटान तथा पहिरोको समस्या दोहोर्‍याएको छ तर यहीँबिच स्थायी पुनर्निर्माणका विभिन्न प्याकेजमा काम अघि बढिरहेको छ ।

एकातर्फ पुनर्निर्माणका संरचना थपिँदैछन् भने अर्कोतर्फ वर्षा, बाढी र पहिरोले अस्थायी संरचनाको कमजोरी देखाइरहेको छ । यात्रु हिलो र धुलोको सास्ती खेपिरहेका छन्, चालक जोखिमबिच सवारी चलाइरहेका छन् र स्थानीय सुरक्षित सडकको प्रतीक्षामा छन् । अबको आवश्यकता निर्माणाधीन संरचना समयमै सम्पन्न गर्नुका साथै जोखिमयुक्त स्थानमा दीर्घकालीन समाधान खोज्नु हो । नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाए मात्र बीपी राजमार्गको पुनर्निर्माणले अपेक्षित सार्थकता पाउनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।